• २१ असार २०८१, शुक्रबार

एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद : सांसद ज्ञवाली

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १९ गते । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सरकारलाई एमसीसी पास गरेकोमा धन्यवाद दिनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुनुहुँदै सांसद ज्ञवालीले एमसीसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको हो ।

‘‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरुका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले ?  सत्ता जान्छ भनेर ठान्नुभयो कि के ठान्नुभयो ? कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यावाद भन्छु मैले ।’’

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएको सांसद ज्ञवालीले वर्तमान सरकारले राजनीतिक र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताउनुभयो ।

उहाँले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राख्नुभयो ।

सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताउनुभयो ।

सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भन्नुभयो, “बजेट ठूलो आकारको छ, यो चुनावी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट हुन्छ ।”