अविनाश चौधरी
धनगढी, चैत ३ गते । कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय आदित्य रानालाई दुई ग्राम ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । गौरीफन्टाबाट मोटरसाइकलमा आउँदै गर्दा शङ्का लागेर प्रहरीले उनलाई चेकजाँच गरेको थियो ।
यसैगरी, खैरो हेरोइनको कारोबार हुनेगरेको गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–७ हरिनगरका २५ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
प्रहरीले चौधरीको घरमा कोटको खल्तीबाट १५ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगरकै २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवलका ३५ वर्षीय रमेश कार्कीलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।