• ३ चैत २०८१, आइतबार

डढेलो नियन्त्रण गर्न दस्ता निर्माण

blog

सन्धिखर्क समाचारदाता

सन्धिखर्क, चैत ३ गते । अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले वन डढेलो नियन्त्रण गर्न ‘वन डढेलो नियन्त्रण दस्ता’ निर्माण गरेको छ । डढेलोको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी दस्ता खटाइएको छ । नगरपालिकालाई शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गरिने योजना अनुसार दस्ता निर्माण गरी अभियान सञ्चालन गरिएको हो ।  

अर्घाखाँचीमा ७० वटा सामुदायिक वनले चारदेखि १० जनासम्मको समूह विभाजन गरी दस्ता निर्माण गरेका छन् । भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले भन्नभुयो, “विगतमा डढेलो नियन्त्रण गर्न नसक्दा धेरै क्षति बेहोर्न परेको थियो । यस वर्ष शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गर्न दस्ता निर्माण गरेर अभियान सुरु गरिएको छ ।”  

सुक्खा मौसमसँगै हावाहुरी चल्दा अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको भन्दै डिभिजन वन कार्यालयको सहयोगमा अभियान सञ्चालन भएको हो । वनको डढेलोबाट हुने वतावरणीय तथा धनजनको क्षति रोक्न दस्ता निर्माण गरी अभियान गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अभियान अन्तर्गत २५ वटा प्रहरी युनिटबाट बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्नि रेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थापन गर्ने काम भएका छन् । सामुदायिक वन उपभोक्ता समूह, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसँग अन्तर्क्रिया गर्दै प्रहरीसहितको दस्ता परिचालन भएको प्रमुख थापाले बताउनुभयो । नागरिकलाई सचेत हुन सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तर्क्रिया तथा जनचेतानामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । 

डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले भन्नुभयो, “अर्घाखाँची वन डढेलोको उच्च जोखिममा भएकाले सबै व्यक्ति सचेत हुन आवश्यक छ । सबैलाई सतर्क रहन र सावधानी  अपनाउन आग्रह गरेका छौँ ।”  

जिल्लाको ६० प्रतिशत भू–भाग वनजङ्गल छ । मानवीय त्रुटि र सामान्य सावधानी नअपनाउँदा जङ्गलमा डढेलो लागेर वातावरण र ठुलो धनजनको क्षति हुने गरेको छ । वन कार्यालयको तथ्याङ्क अनुसार मानवीय कारणले ८० प्रतिशत, प्राकृतिक कारणले १० प्रतिशत तथा १० प्रतिशत नागरिकलाई थाहा नभएका कारण डढेलो लाग्ने गरेको छ । 

अर्घाखाँचीका ४४६ वटा सामुदायिक वनबाट आगलागी नियन्त्रण गर्ने कार्ययोजना र जोखिममा रहेका १६ क्षेत्रमा विशेष दस्ता परिचालन गरिएको श्रेष्ठले बताउनुभयो । डिभिजन वन कार्यालयका सहायक अधिकृत एवं वन डढेलो नियन्त्रण समितिका संयोजक केशर खड्काले तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरी दस्ता निर्माण गरिएको बताउनुभयो । 

गत वर्ष आगलागीबाट ४२ घर पूर्ण रूपमा जलेका थिए । ५८ गोठ जल्नुका साथै ५३ चौपायाको मृत्यु भएको थियो । दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा ५८३ क्युफिट काठ पनि नष्ट भएको थियो ।