• २ चैत २०८१, शनिबार

आँखामा मधुपर्क हृदयमा बन्दीपुर

blog

विगतको व्यापारिक केन्द्र बन्दीपुरले व्यापारिक, व्यावसायिक तथा शैक्षिक केन्द्रको हैसियत पुनः प्राप्त गर्दै छ । गुरुङ्चेको थुम्कोबाट देखिने घाममा सम्भावनाका यिनै किरण पोखिन्छन्, देखिन्छन् बन्दीपुरको आँगनमा ।

गुरुङ्चेको थुम्कोमा पुग्दा पूर्वतिर झलमल्ल खुलेको आकाशमा घामका किरण देखिन्छ । घाम भन्नु उज्यालो, घाम भन्नु चेतना र विकास । बन्दीपुरमा यस्ता घाम सताब्दिऔँदेखि लागिरहेकै हुन् तर घामको बुझाइ पनि समयसापेक्ष हुने रहेछ । 

गोरखापत्र संस्थान र श्रीपद्म पुस्तकालय बन्दीपुरद्वारा तनहुँस्थित बन्दीपुरमा आयोजित तीनदिवसीय ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ राष्ट्रिय सिर्जना सम्मेलन, २०८१ का अवसरमा बन्दीपुर पुग्दा देखिएको घाममा बन्दीपुरको पुनप्र्राण र पुनर्जागरणका किरण देखिन्थे । बन्दीपुर आफैँमा चेतनाको केन्द्र, नेपाली राजनीतिको साक्षी स्तम्भ । विगतको व्यापारिक केन्द्र बन्दीपुरले व्यापारिक, व्यावसायिक तथा शैक्षिक केन्द्रको हैसियत पुनः प्राप्त गर्दै छ । गुरुङ्चेको थुम्कोबाट देखिने घाममा सम्भावनाका यिनै किरण पोखिन्छन्, देखिन्छन् बन्दीपुरको आँगनमा ।

मधुपर्क, साहित्यको साधन, ऊ सर्जकको मनमा पस्न चाहन्छ । सिर्जनाको माटोमा बस्न चाहन्छ । यिनै चाहनाबिच बन्दीपुरका विकासप्रेमी डा. नमस्तेलाल भूमि श्रेष्ठ र सुदर्शन प्रधानलाई मधुपर्क र गोरखापत्र संस्थानसँग जोडिदिनुभयो अर्को बन्दीपुरपुत्र भानपुकाश जोशीले । 

“मधुपर्कले बन्दीपुरलाई के गर्न सक्छ ?” विकासपे्रमी डा. श्रेष्ठ र प्रधान दुवै लेखक तथा सर्जक पनि, कुरैकुरामा एक दिन उहाँहरूले प्रश्न राख्नुभयो ।

“बन्दीपुरले मधुपर्कलाई के गर्न सक्छ ?” यिनै प्रश्नको उत्तर फर्काउने क्रममा हामीले सायद एकअर्कालाई उत्तर दियौँ– माटो र मनलाई जोडौँ । “कार्यक्रमको नाम के राख्ने ?” डा. सापले सोध्नुभयो । “आँखामा मधुपर्क, हृदयमा बन्दीपुर,” मैले भनेँ । आहा ! डा. सापले समर्थन गर्नुभयो । “कति राम्रो,” नेपाली होमस्टेका अभियन्ता सुदर्शन प्रधानले समर्थन गर्नुभयो । यिनै छलफल र अठोटलाई साक्षी राखेर २०८१ फागुन १२ देखि १४ सम्म हामीले आँखा र हृदयलाई जोड्ने विशेष अवसर खोज्यौँ । यही सिलसिलामा हामी तनहुँको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुर पुग्यौँ पहिलो मधुपर्क साहित्यिक यात्रामा । जसले बन्दीपुरलाई हृदयमा अङ्कित गरेको छ । मधुपर्कले पनि आँखा र अक्षरमा बन्दीपुर खोप्ने छ, छाप्ने छ । 

चितवनलाई हराभरा बनाउने बन्दीपुर हो । डुम्रे भन्नुस् वा दमौली वा बेँसीसहर अथवा विश्वका विभिन्न कुनाकाप्चा, बन्दीपुरको लहरा र जरा कहाँ पुगेको छैन ? समय हो, सधैँ एकनास किन रहोस् ? बिहान घाम उदयको पर्दा खोल्ने गुरुङ्चे साँझमा सूर्यास्तको पर्दा खसाल्छ । हराभरा बन्दीपुर कुनै दिन शुष्क रह्यो तर सम्भावनाको दियो बालेर । आज त्यही दियो बन्दीपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको कौमार्यस्थल बनाउन ज्योति छर्दै छ । बन्दीपुरसँग वीरता र सहादतको इतिहास छ, जस्तो कि– धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्गबहादुर गोदार, सन्तबहादुर रानाले प्राणको आहुति दिई सट्टामा सातसाले प्रजातन्त्र दिनुभयो देशलाई । दान वीराङ्गना मैयादेवी श्रेष्ठको गाथा गौरव हो बन्दीपुर । कवि द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, मोहन कायस्थ, भीष्मकुमार श्रेष्ठ, कान्छालाल श्रेष्ठ, डा. अम्बिकामोहन जोशी, डा. जितेन्द्रराम जोशी, प्रेमविनोद नन्दन, रेशमलाल श्रेष्ठ, मदनमोहन जोशी, चन्द्रलाल श्रेष्ठ, शुभ पिया, दिलीप पियाका सिर्जनाले सिँचेको माटो हो बन्दीपुर । रामकुमार जीवनमित्र, डा. रामकुमार पिया, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, डा. मधुरा श्रेष्ठ, डा. मदन पिया, ज्ञानेन्द्रलाल प्रधान जस्ता राष्ट्रिय प्रतिभा हुर्काउने भूमिको बन्दीपुर । माइती काठमाडौँ भए पनि कथाकार जलेश्वरी श्रेष्ठले बन्दीपुरलाई ‘घर’ बनाउनुभएको छ । बन्दीपुरलाई पुनर्जीवन दिनुहुने सफल होटेल व्यावसायी हरिकुमार श्रेष्ठ र सन्तकुमार श्रेष्ठ जस्ता कर्मठले हिँडेको बाटो र पाटो हो बन्दीपुर । बन्दीपुर भ्रमण वर्ष (सन् २०२५) सफल बनाउन मरिमेट्नु भएका बैँस गुरुङको सक्रियता पाएको स्थान हो बन्दीपुर । बन्दीपुरका सबै सुपात्र तथा प्रतिभाको नाम, काम यहाँ उल्लेख गर्न सम्भव छैन । नागरिकस्तरबाट बन्दीपुरमा धेरै काम भएको छ । धेरै काम हुन बाँकी छ साथै राष्ट्रले बन्दीपुरलाई के दिने भन्ने प्रश्न पनि छ तर खाँटी अर्थमा के दिने र के पाउनेभन्दा पनि राष्ट्रिय समृद्धिको सहयात्रामा टुँडिखेल, थानीमाई, रामकोट, खड्गदेवी, विन्ध्यवासिनी, महालक्ष्मी, रानीवन, सुनखरीबाट देखिने आकाश जस्तै विशाल र विराट् हुँदै छ बन्दीपुर । यसका निम्ति सबैको हातेमालो आवश्यक छ । बन्दीपुर देख्न र लेख्न मधुपर्क त्यहाँ पुगेको हो । 


समाज हुन्नथ्यो भने साहित्य जन्मन्थ्यो । साहित्यको एउटा सानो विम्ब हो मधुपर्क । समाज र सर्जकलाई जोडेर साहित्यलाई थप माटोमयी, मुटुमयी बनाउन सकिन्छ भन्ने मान्यता राख्ने मधुपर्क एउटा सिर्जनशील समाज खोज्दै बन्दीपुर पुगेको हो । सिर्जनशील यस अर्थमा बन्दीपुर अहिले पुनर्जीवनको प्रसवमा छ । ऊ विगतको गौरवीय लयमा फर्कंदै छ । उसले फेरि उचाइ लिँदै छ । पाँचतारे १८ तले होटेल, केबुलकार, विभिन्न भौतिक संरचना निर्माण, सम्पदाको संरक्षण र संवर्धनमा बन्दीपुर जुटेको छ, उठेको छ । बन्दीपुर देशका साहित्यकार, कलाकार तथा सर्जकलाई आफ्नो विगत र आगत सुनाउन चाहन्छ । ऊ उदार छ र त बन्दीपुरपुत्र वरिष्ठ प्रसारवादी कवि (डिफ्युजनिस्ट पोयट) द्वारिका श्रेष्ठलाई उहाँ खेलेको, लडेबढेको आँगनमा अभिनन्दन गर्छ । बाजागाजा, पुष्प वृष्टिसहित नगर परिक्रमा गराई गरिएको अभिनन्दन कवि श्रेष्ठको मात्र अभिनन्दन होइन । उहाँले नेतृत्व गरेको नेपाली साहित्यिक युगको सम्मान हो । देशका आमकवि तथा तिनका कविता, कलम र कापीको नागरिक अभिनन्दन हो त्यो । यिनै कामका लागि यो सिर्जना उत्सव गरिएको हो । कवि द्वारिका श्रेष्ठको सम्मान गरेर अरू हजारौँ कविलाई कविता लेखनको उच्च शृङ्खलामा मधुपर्क जोड्न चाहन्छ । माटो र मनलाई जोड्न चाहन्छ । जहाँ रहेबसेका भए पनि बन्दीपुरका सन्तान तथा शुभेच्छुकबिच पुल बन्न चाहन्छ मधुपर्क । मधुपर्क राज्यलाई सर्जक र सिर्जनातिर फर्कन आग्रह गर्दछ । अनि त बन्दीपुर सिर्जना उत्सव ‘राज्यले साहित्यकारहरूको सम्मानमा गहिरो अभिरुचि राख्नुपर्ने’ घोषणापत्र २०८१ जारी गर्दछ । 

उत्सवमा हुम्लाको देउडा दौडियो । झापाको स्वर झन्कियो । संयोजन अर्थात् जोड्नु त मधुपर्कको कर्म नै भएकाले झापा र हुम्लालाई मात्र जोडेन उत्सवले, विभिन्न प्रदेश र वरिपरिका जिल्लालाई ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ को सूत्रले सामीप्य ग¥यो । उत्सवमार्फत सन्देश प्रवाह भयो– मधुपर्क देश जोड्न चाहन्छ । माटो र मन जोड्न चाहन्छ । यस्तो लाग्छ– माटोमा मिसिएको मनबाट देशभक्तिको सुरिलो स्वर प्रकट हुन्छ, यो नै साहित्य हो । माटोमा मनका रङ मिसिएपछि समाजको मस्तिष्क क्यानभासमा चित्र उतारिन्छ । सायद चित्र नै साहित्य हुन् । साहित्यमा समाजको सुसेली सुनिन्छ । सायद सुसेली भन्नु अभिव्यक्ति र साहित्य हो, हामी अभिव्यक्तिको अभिलाषामा आँखाभरि मधुपर्क र हृदयमा बन्दीपुर बोकेर, खोपेर बन्दीपुर उक्लेका थियौँ । बन्दीपुर ओर्लेका थियौँ । उक्लनु र ओर्लनुको नियात्रामा बन्दीपुरलाई स्पर्श गरेका थियौँ । अलिकति स्वर र सुस्केरामा मातृभक्तिको सुस्वर प्रकट भए उत्सवमा । यिनै स्वर, सुस्केरा हाम्रा उपलब्धि बने । बन्दीपुरलाई गीतमा गाइयो । हृदयमा छाइयो । यस पटक मधुपर्कले बन्दीपुरलाई भौतक रूपमा स्पर्श गर्ने सुखद अवसर पायो । जस्तो कि उसले आँखाभरि बन्दीपुर सजाउने छ ।   

उत्सव हार्दिक थियो । औपचारिक थियो, अनौपचारिक थियो । यीभन्दा पनि उचाइमा स्नेही थियो कार्यक्रम । औपचारिक कार्यक्रममा उपस्थित सर्जकले बन्दीपुरको इतिहास, अवस्था र सम्भावनाका स्वर सुने, अनौपचारिक उपस्थितिमा बन्दीपुर लेखे, देखे, पढे । उनीहरूले साहित्य र यस्ता स्थलगत सिर्जना उत्सवको महत्व आआफ्ना पालिकालाई बोध गराउने प्रतिबद्धता व्यक्त गरे । देशका विभिन्न पालिकाले सर्जकका स्वर सुनून्, सार बुझून्, मधुपर्क हार्दिक शुभकामना व्यक्त गर्दछ र भन्छ, “मधुपर्क साहित्य अनुत्पादक क्षेत्र होइन, मानव क्षमता उत्पादन गर्ने कारखाना हो साहित्य ।” 

गोरखापत्रको व्यवस्थापन नेतृत्व र आयोजक श्रीपद्म पुस्तकालयबिच मधुपर्कको संयोजनकारी भूमिकाले ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर सिर्जना उत्सव २०८१’ सम्पन्न भएको थियो । यसका लागि दुवैतिरका नेतृत्वदायी भूमिकामा रहनुभएका पात्रहरूले सर्जकलाई थप उत्साह दिनुभएको अनुभव गरियो । उत्सवको माग र गोरखापत्र संस्थान नेतृत्वको सहमति अनुसार मधुपर्कले आगामी दिन बन्दीपुरका विषयलाई गहन महत्त्व दिएर विशेष अङ्क प्रकाशन गर्ने छ । जसमा सर्जकले बन्दीपुरलाई हृदयको पर्दामा सजाउने छन् । 

स्रष्टा र स्थानलाई जोड्न उत्सव सफल छ । बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्रबहादुर थापाले सिर्जना उत्सवको निरन्तरता दिने विचारले समेत यसको पुष्टि गर्दछ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले सिर्जनात्मक उत्सवले ऐतिहासिक तथा सांस्कृतिक, पर्यटकीय स्थानको महत्व उजागर गर्न सकिने विश्वासले समेत उत्सव सफलताको सङ्केत गर्दछ । 

केही न केही गर्दै छ बन्दीपुर । निद्रामा छैन ऊ । ऊ १८ तले तारे होटेल उठाउँदै छ । ऊ तारे यातायात चलाउँदै छ, बन्दीपुर केबुलकारका नाममा । बन्दीपुर भ्रमण वर्ष (सन् २०२५) को पूर्वसन्ध्यामा आयोजित ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ को लामो यात्रामार्ग कोरियोस् । यसका लागि आगामी दिन बन्दीपुर गाउँपालिकाको उदारमना थप उदार हुने नै छ । कुन्ती स्मृति प्रतिष्ठानले आगामी दिनका लागि पनि यस्ता रचनात्मक उत्सवमा साथ सहयोग दिने नै छ । क्षेत्रीय होटेल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, रेवाना नेपाल, प्राकृतिक पर्यावरण संरक्षण मञ्चलगायतको सहयोगमा बन्दीपुर साहित्यिक यात्रालाई निरन्तरता दिन सकिन्छ । यात्रा नै लक्ष्यको प्रस्थान भएकाले अहिलेलाई ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ अभियानलाई यात्रा बनाऔँ, लक्ष्य बनाऔँ ।  

Author
त्रिभुवनचन्द्र वाग्ले

उहाँ मधुपर्क मासिकको नि. सम्पादक हुनुहुन्छ ।