• १३ वैशाख २०८१, बिहिबार

बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र

blog

सिद्धार्थनगर, जेठ १९ गते । हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।

दुई दशकदेखि यस्तै समस्या भोग्नु परेको बुटवल सुक्खानगरकी पुनम रजालीले सुनाउनुभयो । बुटवल गोलपार्ककी राधा भट्टराईले झन्डै ३० वर्षदेखि केही काम नहुँदा आफूहरूले यस जुनीमा निर्बाध र स्वच्छ पानी आउने आशा मारेको बताउनुभयो ।

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ४० लाख लिटर मात्रै छ ।

बुटवलको खानेपानी समस्या समाधान गर्ने नारासहित यसै क्षेत्रबाट निर्वाचित सांसद र मन्त्री तथा नगरप्रमुखले पनि केही नगरेको गुनासो स्थानीयवासीको छ । त्यसै कारण झुम्सा खानेपानी आयोजना २६ वर्षदेखि अलपत्र परेको आरोप स्थानीयवासीको छ ।

दैनिक ९२ लाख लिटर अभाव

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ४० लाख लिटर मात्रै छ । यसरी दैनिक करिब ९२ लाख लिटर खानेपानी अपुग छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ ।

अहिले १६ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनि पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ । यसका कारण बुटवलमा पानीको अभाव बर्सेनि बढ्दो छ ।

सिस्नेको पानीले पुगेन

बुटवलको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले २६ वर्षअघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट दैनिक सात लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२/५३ मा आयोजना सुरु भएको थियो । सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै एक दशकपछि मुहान फेरियो । सिस्नेको सट्टा हालको तिनाउ गाउँपालिका–३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरे घाटबाट दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४/६५ मा झुम्सा खानेपानी आयोजनामा परिवर्तन गरियो ।

तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनि पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ ।

त्यसयता आयोजनाको काम ४.१६ प्रतिशत मात्रै सकिएको छ । यसमा प्राविधिक कमजोरीका साथै प्राकृतिक प्रकोप पनि कारक रह्यो । मुहानमा बनाइएको बाँध छ वर्षअघि बाढीले बगाइदियो । बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा घोरबन्दीघाट नजिकैको बाँध छ वर्षअघि बाढीले भत्काइदिएको हो । खानेपानी संस्थानका कर्मचारीका अनुसार इन्जिनियरिङ सर्वेबिना नै बाढी र पहिरोको जोखिम रहेको स्थलमै बाँध निर्माण गरिएको थियो ।

त्यसयता लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेर कामै नलाग्ने भए । करिब १५ करोड रुपियाँभन्दा बढीको संरचना त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारीहरू बताउँछन् । बाँध निर्माणमा लापरबाहीसँगै पाइप खरिदमा समेत २५ करोड रुपियाँ भ्रष्टाचार भएको भन्दै २०७५ वैशाखमा अख्तियारमा उजुरीसमेत परेको थियो । २० इन्च र १० इन्चका पाइप शिवनगर जङ्गलमा अलपत्र छन् ।

बाँध निर्माण

पछिल्लो पटक २०७७ जेठमा बाँध निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका उपप्रमुख मन्दिप श्रेष्ठले ११ करोड रुपियाँको लागतमा बाँध निर्माण भएको बताउनुभयो । बाँधदेखि बुटवलको रामफेदीसम्म पाइपलाइनका लागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो । १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ ।

जसअन्तर्गत छ किलोमटिर पाइप बिच्छ्याइको छ। बाँकी पाँच किलोमिटर पाइपलाइनको काम रोकिएको छ। झुम्सा-दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिच्छ्याउन अनुमति नपाउँदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्टले बताउनुभयो।

उहाँका अनुसार बिच्छ्याइएका पाइप २० र १० इन्चका छन्। पाइप वारपार गर्नुपर्ने स्थानमा बनाउनु पर्ने तीन वटा ‘ट्रस ब्रिज’मध्ये अहिलेसम्म एउटाको मात्रै काम सुरु भएको छ। यसरी यसपाली पनि तोकिएको समयमा आयोजना सम्पन्न नहुने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ।

बुटवलमा जग्गा अभाव

झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्याङ्कीमा खन्याइने छ। तिनाउवारिको बुटवलमा ३ वटा तिनाउपारिको बुटवलमा ३ वटा गरेर ६ वटा ओभरहेड ट्याङ्की बनाइने छ। बुटवलमा जग्गा पाउन नसकेकाले प्रशोधन केन्द्र झुम्सा क्षेत्रमै निर्माण गरिने आयोजनाले जनाएको छ।

ओभरहेड ट्याङ्की, शुद्धिकरण प्लान्ट, पानी वितरण प्लान्ट, रिर्जबवायर, पानी वितरण पाइपलाइन जस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइने छ। यी सबै काम निर्वाध रुपमा अगाडि बढे पनि आयोजना सम्पन्न हुन कम्तीमा ५/६ वर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन्।

आयोजना सम्पन्न गर्न कुल छ अर्ब ३५ करोड रुपियाँ बजेट लाग्ने भनिए पनि हालसम्म २५/२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताउनुभयो।

बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख पुनाराम पोखरेलले पच्चीस वर्षदेखि नगरबासीले कुरेको आयोजनालाई मेलम्ची जस्तै बनाउने चलखेल यस क्षेत्रबाटै जितेका नेतृत्वबाट भएको आरोप लगाउनुभयो।

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भने आफूहरु भर्खरै निर्वाचित भएको बताउँदै खानेपानी समस्या समाधान र झुम्साखोला परियोजना सम्पन्न गर्न अनुकूल समयमा आयोजना स्थलको अनुगमन गर्ने र त्यसपछि प्रकृयागत तवरले काम गर्ने बताउनुभयो।  

Author

कपिल ज्ञवाली