• २९ फागुन २०८१, बिहिबार

‘थकालीलाई अरूले बदनाम गरे’

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २९ गते । नेपालका अधिकांश क्षेत्रमा थकाली भान्साघरको नाममा सञ्चालित व्यवसायले मुख्य थकालीको अपनत्वलाई नै बदनाम गर्ने काम गरेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । 

मुस्ताङको जोमसोममा सुरू भएको थकाली समुदायको मुख्य चाड तोरन्लको उदघाटनको क्रममा उहाँले देशैभर थकाली भान्साघरका नाममा सञ्चालित रेस्टुरेन्ट कतिपयले थकालीको नाममा बदनाम गर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “थकालीले खानाको परिकार स्वादिलो बनाउने भएकाले त्यो नामलाई प्रयोग गरेर फाइदा लिने ध्येयले थकाली भान्साघर भनेर सुरु गरको धेरै भए पनि थकालीले नचलाएको पाइने गरेको छ ।” 

अन्य जातिले पनि थकालीको नामले व्यवसाय सञ्चालन गरिदिँदा थकालीको आफ्नो पहिचानमाथि नै असर पर्र्न सक्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने शेरचनको भनाइ छ । थकाली अनुसन्धान केन्द्रको अगुवाइमा थकाली भान्साघरलाई थकाली समुदाय अल्पसङ्ख्यक हुँदै गर्दा पनि आफ्नो भाषा कुल जनसङ्ख्याको करिब ४० प्रतिशतले मात्र बोल्ने प्रदेशसभा सदस्य शेरचनको भनाइ छ । 

उहाँले भेषभुषा भाषा संस्कृति संरक्षण गर्न तीनै तहका सरकारले प्रयास गरिदिनु पर्ने तर्क गर्नुभयो । हामीले आफ्नो घरमा पनि भाषा संस्कृतिलाई पुस्तान्तरण गर्नुपर्ने र यस्तो गर्न नसकेमा भाषा संस्कृति नै लोप भएर जाने उहाँले बताउनुभयो । 

थकालीहरूको नेपालमा रहेका क्षेत्रहरू तथा अष्ट्रेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाक अनुसार थकालीहरूको जनसङ्ख्या १३ हजार हाराहारी रहेको थकाली सेवा समिति जोमासोमले जानकारी दिएको छ । थकाली समुदाय नेपालको अल्पसङ्ख्यक जातिमा पर्छ ।

भुमि समस्या समाधान आयोगका विज्ञ सदस्य सर्मिला गुरुङले आगामी पुस्तालाई अहिलेको पुस्ताले आफ्नो संस्कृति जोगाएर बुझाउन सकेको खण्डमा त्यो सबैभन्दा ठुलो उपहार हुने बताउनुभयो । 

जोमसोममा भएको थकाली समुदायको महान सांस्कृतिक चाड तोरन्लको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, थकाली सेवा समितिका मिमकुमारी शेरचनलगायतले बोल्नु भएको थियो । तीन दिनसम्म चल्ने तोरन्लमा तारा खेल मुख्य आकर्षणको रूपमा रहेको छ ।