• २९ फागुन २०८१, बिहिबार

स्ववियु निर्वाचन

कतै सर्वसम्मत, कतै आगजनी, कतै तालाबन्दी

blog

विराटनगर समाचारदाता

विराटनगर, फागुन २९ गते । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मिति नजिकिएसँगै कोशी प्रदेशका कतिपय क्याम्पसमा शान्तिपूर्व सर्वसम्मत रूपमा नेतृत्व बाँडफाँट भएका छन् । कतिपय क्याम्पसमा विद्यार्थी युनियनबिच झैझगडा बढ्दा विद्यार्थी नेता कार्यकर्ता घाइते हुने अवस्था सिर्जना भएको छ । सबै जसो क्याम्पसमा राजनीतिक दलका भ्रातृ सङ्गठनका रूपमा विद्यार्थीका सङ्घ सङ्गठन स्थापित भएका छन् । 

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए । निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो । 

नेपाल विद्यार्थी सङ्घका तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र निर्वाचन समितिले गलत पक्षलाई आधिकारिकता प्रदान गरेको भन्दै अर्को पक्षधर कार्यकर्ताले स्ववियु निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसङ्घका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि आधिकारिकताको विवाद भएको हो । 

महेन्द्र मोरङ क्याम्पसमा नेता डा. शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजङ्ग विष्टको प्यानल दर्ता भएको थियो तर कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । नेविसङ्घ मोरङमा दुई सभापति छन् । केन्द्रले परिपत्र गरी छुट्टै जिल्ला सभापति तोकिदिएको र मनोनयनका क्रममा पनि दुई फरक पत्र दिइएकाले निर्वाचन समितिले प्रज्वल विष्ट समूहलाई नेविसङ्घको आधिकारिकता दिएको थियो । विष्ट संस्थापन (देउवा) पक्षका उम्मेदवार हुन् । 

स्ववियु निर्वाचनका लागि दल दर्ता गर्नु केही दिनअघि नेविसङ्घका दुई समूहबिच विवाद भई आपसमै कुटाकुट गरेका थिए । उक्त घटनापछि जिल्लामा नेविसङ्घ विभाजित छ । असन्तुष्ट विद्यार्थीले मध्यरातमा निर्वाचन समितिले स्वतन्त्र उल्लेख गरी डा. शेखर कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको हैसियत कायम गरिदिएपछि विवाद बढेको हो । मोरङ क्याम्पस विवादको विषयमा नेविसङ्घ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रले तोकिदिएको प्रतिनिधिको रोहबरमा मनोनयन दर्ता नगर्ने समूहलाई स्वतन्त्र करार गरिएको बताउनुभयो । 

यसै गरी आधिकारिकताको विवाद झिक्दै विराटनगरकै स्नातकोत्तर क्याम्पसमा पनि नेकपा (एमाले) निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । यी दुवै कलेजमा प्रमुख दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । स्नातकोत्तर क्याम्पसमा अनेरास्ववियुको दुई समूहले उम्मेदवारी दिएको छ भने महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसङ्घका तर्फबाट दुई प्यानल दर्ता भएको छ । 

धनकुटाका छ क्याम्पसमा सर्वसम्मत 

यसैबिच हिले समाचारदाताका अनुसार  धनकुटाका छ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनले सर्वसम्मत रूपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रीबासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पस र गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा र भाषा क्याम्पसमा अनेरास्ववियु ( क्रान्तिकारी) को नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन गर्ने सहमति भएको हो । धनकुटा बहुमुखी क्याम्पस, जाल्पादेवी क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा मात्रै एक पदमा एक व्यक्तिको उम्मेदवार परेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

जितपुर क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु ( क्रान्तिकारी) ले भिन्दाभिन्दै प्यानल नै उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत लोकनाथ नेपालले जानकारी दिनुभयो । उहाँले २९ गतेसम्म नामावली फिर्ता लिने समय रहेकाले उम्मेदवारी फिर्ता नभए निर्वाचन हुने जानकारी दिनुभयो । 

यस्तै, गोकुण्डेश्वर क्याम्पसमा तीन वटै विद्यार्थी सङ्गठन मिलेर उम्मेदवारी दर्ता गरेको भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि सर्वपक्षीय छलफल बोलाइएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिनुभयो । उम्मेदवारी मनोनयनको समय सकिँदासम्म एक पदमा एक व्यक्तिको उम्मेदवारी परेकोले सर्वसम्मत भए पनि सहमतिको सहज वातावरण बनाउन छलफलमा बोलाइएको भुजेलले बताउनुभयो ।

धनकुटा बहुमुखी क्याम्पस, जाल्पादेवी क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रिया पूरा गरेर सर्वसम्मत रूपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको धनकुटा बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत कृष्णगोविन्द अधिकारीले जानकारी दिनुभयो ।

युवा सङ्घका नेतामाथि हतियार प्रहार

दमक समाचारदाताका अनुसार झापामा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै राष्ट्रिय युवा सङ्घ झापाले यस्तो कार्यमा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्न र घाइतेको भरपर्दो उपचार व्यवस्था गर्न माग गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सदस्य एवं झापा इन्चार्ज खगेन्द्रराज आङदाड्वे, सङ्घका नेता विश्वदीप राजवंशी र बिर्तामोड–४ का अजय खवासमाथि धारिलो हतियार प्रयोग गरेर हत्या प्रयास भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

झापा बिर्तामोडका खगेन्द्र खालिङ राई लगायतको समूहले व्यक्तिगत रिसइबी साँधेर खुकुरी, तरबार प्रहार गरी आक्रमण भएको सङ्घका झापा जिल्ला अध्यक्ष फुर्वा लामाले बताउनुभयो । उहाँका अनुसार घाइतेको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । हतियार प्रहार गरी तीन जनालाई घाइते बनाएको घटनामा संलग्न भनिएका खगेन्द्र खालिङ राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।