• २९ फागुन २०८१, बिहिबार

शिक्षकको तलब जोहो गर्न होली, जथाभाबी रङ लगाए कारबाही

blog

शिक्षकको तलब जुटाउन होली खेल्दै बैतडीका स्थानीय । तस्बिर : केशवराज भट्ट

धनगढी समाचारदाता

धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरी मर्यादित तरिकाले होलीपर्व मनाउन जिल्लावासीलाई अपिल गरेको छ । तराईमा चैत १ गते होली मनाइने भए पनि त्यसको रमझम सुरु भइसकेको छ । 

होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले अपिल गरेको छ । त्यस्तो गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ । कोही कसैको इच्छाविपरीत हानिकारक वस्तु दल्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ । 

नयाँ पुस्ताले गाए पुरानो होली गीत  

बैतडी समाचारदाताका अनुसार 

‘कति राम्रो होरी फागुनमा खेल्दै आयौँ आँगनमा !’ 

यहाँका नयाँ पुस्ताले लोप हुन लागेको पुरानो होरीका गीत गाएर होली खेलेका छन् । मिजुरा, ढोलक, मादल र खैँजडी बजाएर स्थानीयले होली खेलेका हुन् । बैतडी सदरमुकाममा रोयल हिल युथ क्लब, जगन्नाथ बहुमुखी क्याम्पस, पाटन नगरपालिकामा सिद्धेश्वर मावि हुक्केडाँडा, सरस्वती मावि सल्लेवासा, सिगास गाउँपालिकाको पञ्चोदय माविलगायत दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, मेलौली नगरपालिकालगायत जिल्लाभरिका विभिन्न स्थानमा होली खेलिएको छ ।

विद्यालयमा कोष जम्मा गर्न होली आयोजना गरिएको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । त्यसै गरी दशरथचन्द नगरपालिका–४ स्थित रोयल हिल युथ क्लबका युवा परम्परागत होरीका गीत गाएर होली खेलिरहेका मोहित भण्डारीले बताउनुभयो । नयाँ र पुराना पुस्तालाई जोड्ने गरी सदरमुकाममा होली आयोजना गरिएको सामाजिक अगुवा विजय रानाले बताउनुभयो । 

बैतडी र भारतको कुमाउ गढवालतिर गाइने होरीमा एकरूपता रहेको सामाजिक अगुवा सानु भण्डारीले बताउनुभयो ।

संस्कृतिका जानकार ज्योतिषी पण्डित गणेशदत्त पन्तका अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकश्यपु नामक राक्षसले भगवान् विष्णुका भक्त तथा आफ्नै छोरा प्रह्लादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए । होलिकाले आगोले जलाउन नसक्ने वरदान पाएकी थिइन् । 

दाजुको आदेश अनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । 

होलिका दहनकै खुसियाली मनाउन हरेक वर्ष फागुपूर्णिमाको उपलक्ष्यमा एकआपसमा रङ र अबिर दलेर होलीपर्व मनाउने परम्परा चलेको पन्तले बताउनुभयो । 

तलब जुटाउन होली

बासुलिङ समाचारदाताका अनुसार निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली खेलेर तलबका लागि खर्च जोहो गरिरहेका छन् । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सात दिन होली खेल्ने चलन छ । होली र देउसीभैलो खेलेर हरेक वर्ष तीन/चार लाख रुपियाँ सङ्कलन गर्न सकेकाले निजी स्रोतका शिक्षकको तलब बेहोरिरहेको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो । 

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएका छन् । यो विद्यालयले आफ्नै स्रोतमा छात्रावास पनि सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो । पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपियाँ सङ्कलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो ।

बैतडीको सिद्धेश्वर मावि मेल्चौरा, जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा, जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी, पाटन बहुमुखी क्याम्पस पाटनलगायतका विभिन्न शैक्षिक संस्थाान धुमधामसाथ होली खेलिएको पाटन नगरपालिका–८ का हरिदत्त भट्टले बताउनुभयो ।