सुर्खेत समाचारदाता
सुर्खेत, फागुन २९ गते । कर्णालीको दुर्गम क्षेत्रका अभिभावकले आफ्ना बालबालिकाले राम्रो शिक्षा पाऊन् भन्ने लोभले छोराछोरीलाई बालगृहमा पठाउने गरेका छन् । यसले अधिकांश बालबालिका जोखिममा पर्ने गरेको पाइएको छ । कानुनी प्रक्रिया पूरा नगरी काठमाडौँलगायतका स्थानमा राम्रो शिक्षाको लोभले पठाउन खोज्दा बालबालिकाले शारीरिक तथा मानसिक यातना भोगेर जोखिममा पर्ने गरेको पाइएको हो ।
बुधबार काठमाडौँको हिमाली नवीन संस्थाले सुर्खेतमा आयोजना गरेको बालबालिकाको परिवार र समुदायमा आधारित वैकल्पिक हेरचाहसम्बन्धी कार्यक्रममा राम्रो शिक्षाको लोभमा बालगृहमा पठाइएका बालबालिका उच्च जोखिममा रहेको जनाइएको छ । संस्थाले हालसम्म ४२ वटा बालगृहबाट ९६७ जना बालबालिकालाई उद्धार गरेको जनाएको छ । संस्थाका उपनिर्देशक रिजा महर्जनले उद्धार गरिएकामध्ये ७० प्रतिशत अर्थात् ६७६ जना कर्णाली प्रदेशका रहेको जानकारी दिनुभयो । त्यसमा पनि अधिकांश हुम्ला डोल्पाका रहेका छन् ।
२०७१ सालमा देशभर ५९४ वटा बालगृह रहेकोमा त्यहाँ १६ हजार बालबालिका आश्रित थिए भने अहिले २०८१ सालमा ३९६ वटा बालगृहमा १० हजार बालबालिका आश्रित छन् । उहाँले अभिभावकले राम्रो पढाइको लोभमा परेर आफ्ना बालबालिकालाई सुगमका बालगृहमा आँखा चिम्म गरेर दिने गरेको बताउनुभयो । जसका कारण बालगृहमा उनीहरूको अवस्था जोखिममा रहेको छ । यसरी बालबालिका हिंसा, बेचबिखन, ओसारपसार जस्ता जोखिममा परेको उपनिर्देशक महर्जनले बताउनुभयो । बालगृहमा बसेका बालबालिकाको मनोदशा कमजोर हुने गरेकाले उनीहरूलाई अवस्था हेरेर परिवारसँग एकीकरण गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।
यस्तै संस्थागत हेरचाह अनुभवी हुम्लाका वीरेन्द्र शाहीले आफू काठमाडौँको बालगृहमा १२ वर्ष बसेको अनुभव सुनाउँदै यो अवधिमा आफूले जोखिम भोग्नु परेको बताउनुभयो । राम्रोसँग पढाउने लेखाउने लोभमा अभिभावकले आफूलाई काठमाडौँको बालगृहमा जिम्मा लगाएको तर त्यहाँ शारीरिक र मानसिक पीडा भोग्नु परेको हुँदा बालगृहमा बस्ने बालबालिका सधैँ जोखिममा रहेको जनाउनुभयो । उहाँले बालगृहमा बसेका बालबालिका बाहिर आएपछि उनीहरूको पक्षमा सिपमूलक कार्यक्रमका योजना बनाउनुपर्ने उहाँको सुझाव छ ।
राष्ट्रिय बाल अधिकार परिषद् कर्णालीका समन्वय अधिकारी डम्बर रोकायले काठमाडौँमा रहेका बालगृहमा रहेका बालबालिकामध्ये धेरै कर्णालीका रहेको तर यकिन तथ्याङ्क नभएको बताउनुभयो । उहाँले हालसम्म कर्णालीमा १२ वटा बालगृह रहेको र त्यहाँ ४४४ जना बालबालिका आश्रित रहेको जानकारी दिनुभयो । हिमाली नवीन संस्थाका टिम लिडर सुरेन्द्र लामाले बालबालिकालाई बालगृहमा राख्नुभन्दा पारिवारिक पुनःएकीकरणलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो । उहाँले ५१३ जना बालबालिकामा गरिएको अध्ययन अनुसार ७१ प्रतिशत जैविक परिवारमा, २४ प्रतिशत नातेदार परिवारमा, १० प्रतिशत संरक्षकको जिम्मा लगाउनुपर्ने र चार प्रतिशत मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा रहने गरेको पाइएको बताउनुभयो । बालगृहमा बसेपछि उमेर पुगेका र बाहिरिएका युवकयुवतीको पक्षमा अब ध्यान दिइनुपर्ने सुझाव उहाँको छ ।