हुम्ला समाचारदाता
हुम्ला, फागुन २७ गते । यहाँको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा स्थानीयले निर्माण गरेका हरेक काममा महिला सहभागिता ५० प्रतिशतभन्दा बढी हुने गरेको छ । लिमीका महिला पछि परेको भन्ने आवाज उठेपछि गाउँलेको सामूहिक निर्णयबाट महिला सहभागिता ५० प्रतिशतभन्दा बढी पु¥याउने योजना अनुसार कार्यान्वयनमा ल्याइएको हो ।
लिमीको हल्जीगाउँकी स्थानीय महिला पेमाडोल्मा तामाङले पछिल्लो समय हरेक क्षेत्रमा काम गर्ने क्रममा महिला सहभागिता बढ्दै गएको बताउनुभयो । यसअघि लिमीमा महिला सार्वजनिक काम र निर्णय तहमा सहभागी नहुने कुरा सार्वजनिक भएपछि लिमीका पुरुष सामूहिक रूपमा बसेर महिलाको अर्थपूर्ण सहभागिता बढाउने निर्णय गरेका थिए । उहाँले गाउँलेको निर्णय कार्यान्वयनमा आउँदा हाल कुनै पनि काम सञ्चालन गर्नुअघि बस्ने बैठकमा महिला सहभागिता हुने र त्यो बैठकबाट आफ्ना कुरा महिलामैत्री बनाउने कार्य भइरहेको बताउनुभयो ।
गाउँमा महिला र पुरुष सामूहिक रूपमा बैठक बसिसकेपछि पुनः गाउँभरका महिला एक ठाउँमा जम्मा पारेर सामूहिक छलफलमा भएको कुरा राख्ने गरिएको छ । यसअघि सार्वजनिक काममा महिलाले पुरुषको तुलनामा काम गर्न नसक्ने भन्दै सहभागिता नगराउने गरिएकोमा हाल त्यो सामाजिक चलन हटेर सबै किसिमका काममा महिला सहभागिता रहने गरेको उहाँले बताउनुभयो । यस्ता काममा महिला सहभागिता ५० प्रतिशतभन्दा बढी रहने गरेको छ ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीको स्थानीय खोलाटोलाको नियम महिलामैत्री बनाएर कार्यान्वयनमा आएको बताउनुभयो । नेपालको संविधानले महिलाको आरक्षणको व्यवस्था ३३ प्रतिशत राखिए पनि लिमीवासीको आफ्नो नियम अनुसार ५० प्रतिशतभन्दा बढी राखेको दाबी गर्नुभयो । लिमीमा जननिर्वाचित वडाका अध्यक्ष र सदस्य सरकारी कामका लागि भए पनि गाउँका अन्य काम गर्न गाउँले मिलेर आफ्नै समिति पनि गठन गर्ने गरिन्छ । वडाध्यक्ष तामाङले २०७९ सालको स्थानीय तहको निर्वाचनबाट आफूहरू निर्वाचित हुने बेलामै गाउँको काम गर्न सात सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो ।
गाउँमा हुने सबै प्रकारका काम त्यही समितिको समन्वयमा हुने गरेको उहाँको भनाइ छ । यो समितिको पदावधि पनि पाँचबर्से हुने, आफूसँगै विघटन हुने र नयाँ चयन हुने उहाँले बताउनुभयो । दलित महिला सदस्य नभएका कारण लिमीको वडामा एक मात्र महिला सदस्य छन् । गाउँको आफ्नै समितिमा सात सदस्यीय समितिमा चार सदस्य छन् ।
स्थानीयस्तरमा सबै काम समितिकै निर्णयबाट हुन्छ । उक्त समितिमा महिलाका कुरा पनि स्पष्ट रूपमा राख्ने गरिएको समितिका अर्की सदस्य तन्जिन फुटी तामाङले बताउनुभयो । पुरुषमा पनि महिलाप्रति गरिने हरेक कुरामा परिवर्तन आएको अनुभव हुन थालेको उहाँले बताउनुभयो । चुलोचौको र खेतीकिसानीमा मात्र सीमित महिला अहिले भने गाउँ, गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोटसम्म पनि सहजै पुग्ने गरेका उहाँको भनाइ छ ।