• २८ फागुन २०८१, बुधबार

पुल नबन्दा सास्ती

blog

पुल नहुँदा हेलिएरै खोला तर्दै स्थानीय । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, फागुन २७ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–६, पिपरा र हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीलाई जोड्ने सपाहा (नख्खा) खोलामा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । पूर्वपश्चिम हुलाकी राजमार्गपछि सबैभन्दा व्यस्त रहने भित्री सडक अन्तर्गत पिपरामा रहेको सपाहाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन नै ठप्प हुने गरेको छ भने हिउँदमा खोलाको पानीमा हेलिएर आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ । 

हरिपुर्वा नगरपालिकाका स्थानीयले सदरमुकाम मलङ्गवातर्फ आउँदा तथा ब्रह्मपुरी र चन्द्रनगरका स्थानीय हरिपुर्वातर्फ जानु पर्दा यही खोलाकै बाटो प्रयोग गर्ने गरेका छन् । स्थानीय हाटबजारमा लगेर तरकारी बिक्री गर्ने चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका लालबाबु महतोले खोलामा पुल नहुँदा मोटरसाइकलमा राखेर बजारसम्म तरकारी पु¥याउन असाध्य समस्या हुने गरेको बताउनुभयो । मोटरसाइकलमा काउली बोकेर बिक्री गर्न हिँड्दै गर्दा सोही खोलामा भेट भएका महतोले गत असोजमा तरकारी बोकेर आउँदा आफ्नो मोटरसाइकल बाढीमा फस्दा मुस्किलले ज्यान जोगाएको सुनाउनुभयो । 

खोलामा अहिले पनि पानी बगिरहने भएकाले मोटरसाइकलमा तरकारी राखेर जबरजस्ती वारपार गर्दै आइरहेको महतोले बताउनुभएको छ । खोलामा पुल नहुँदा वर्षायाममा आउजाउ नै बन्द हुने गरेको स्थानीयले बताएका छन् । ब्रह्मपुरी गाउँपालिका–६, पिपराका स्थानीय रामकैलाश रायले खोलामा पुल नहुँदा असार, साउनमा असाध्य समस्या पर्ने गरेको जानकारी दिनुभयो । ठुलो पानी परेको समयमा हप्तौँसम्म आउजाउ बन्द हुने गरेको उहाँले बताउनुभयो । यो सडक भएर महोत्तरीका विभिन्न गाउँका स्थानीयसमेत आउजाउ गर्ने गरेका छन् । सपाहाखोलामा गाउँपालिकाले बर्सेनि ह्युमपाइप र कलभर्ट हाल्ने गरे पनि बाढी आउँदा बगाउने गरेको स्थानीयले बताएका छन् । 

ब्रह्मपुरी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा साढे छ लाख रुपियाँमा निर्माण गरेको कलभर्ट गत वर्षायामको बाढीले बगाएको छ । बाढीले बगाएको कलभर्ट खोलाको बिचमा अलपत्र रहेको छ । बर्सेनि बाढी आएर ह्युमपाइप र कलभर्ट बगाएर हैरान पारेपछि गाउँपालिकाले अब भने पक्की पुल निर्माणको प्रक्रीया अघि बढाएको छ । ब्रह्मपुरी गाउँपालिका–६ का वडाध्यक्ष हिरेन्द्रकुमार यादवले सपाहाखोलामा पुल निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारमा पहल भइरहेको बताउनुभयो । वडाध्यक्ष यादवका अनुसार खोलामा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिनुभयो ।