गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोटका रोशन तामाङ, सिन्धुपाल्चोककी पूजा परियार र एक नाबालक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार काठमाडौँको गोकर्णेश्वर–७ स्थित बागमती खोलामा बोराभित्र बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले अन्दाजी ३५ वर्षीय महिलाको शव फेला पारेको थियो । मृतक महिलाको पहिचान हुन नसकेकाले सनाखत हुन सकेको छैन । मृतकको हत्याको आशङ्कामा पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थप गरी प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको बोहोराले जानकारी दिनुभयो ।
गत शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वरको बागमती नदीमा पूजा गर्ने क्रममा स्थानीयले बोरा र तन्नाले बेरिएको अवस्थामा नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनामा संलग्न भएको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार मृतक र पक्राउ पर्ने सबै जना दैनिक ज्यालादारीमा विभिन्न होटेलमा काम गर्ने गरेको र फागुन २० गते आरोपित पूजा परियारको कोठामा सुतेका थिए । बिहान उठ्दा पहिचान नखुलेकी महिला कोठामा मृत फेला परेको र पक्राउ पर्ने डरले तन्ना र बोराले बेरेर शव बागमतीमा फ्याँकेका थिए । प्रहरीले घटनास्थलको सिसिटिभी फुटेजलगायत सबुत प्रमाण सङ्कलन गरी अनुसन्धान गरिरहेको जनाएको छ ।