काठमाडौँ, फागुन २६ गते । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।
सोमबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो । आयोगले सार्वजनिक निकायहरूमा सूचनाको हकको कार्यान्वयन अवस्थाको परीक्षणलाई थप प्रभावकारी तथा व्यवस्थित गर्नका लागि सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले अगामी २०८२ साल वैशाख २२ गते मनाइने राष्ट्रिय सूचना आयोग स्थापना दिवसका लागि विभिन्न तयारी समितिहरु गठन भई काम भइरहेको बताउनुभयो । उहाँले आयोगले पछिल्लो तीन महिनाको अवधिमा राजनीतिक दलका नेता एवम् सूचन अधिकारीहरु र उच्च अदालत पाटनका न्यायाधीशहरुसँगको संवाद काठमाडौँमा सम्पन्न गरेको जानकारी दिनुभयो ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घमार्फत हेटौँडामा राष्ट्रियस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताउनुभयो । सूचना अभियन्ता र सूचना पाउन नसकेका व्यक्तिबाट आएका पुनरावेदनहरूको सुनुवाइअन्तर्गत तीन महिनामा २० वटा इजलास बसी चार सय ८३ सुनुवाइ भएको जानकारी दिनुभयो । सार्वजनिक निकायहरूमा सूचना प्रवाह गर्ने प्रवृत्तिमा आम रूपमा समस्या रहेको बताउनुभयो । सूचना अभियन्ताहरू बढी बैंकिङ, कर कार्यालयहरूमा बढी केन्द्रित रहेको उहाँको भनाइ छ ।
उहाँले पछिल्लो समय पुनरावेदन दर्ताको प्रक्रियाबारे उठेका जिज्ञासा समेतलाई सम्बोधन गर्दै पुनरावेदन प्रक्रियालाई सरल बनाउन पुनरावेदन कार्यविधिमा संशोधन प्रक्रिया थालिएको बताउनुभयो ।