लीलाधर वली
घोराही, फागुन २६ गते । दाङको घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे दहमा विपदको समयमा हुनसक्ने मानवीय तथा धनजनको क्षतिलाई रोक्ने उद्देश्यले सोमबार विपत् व्यवस्थापन तथा खोज उद्वार सम्बन्धी नमूना अभ्यास गरिएको हो ।
बर्षातको समयमा कृत्रिम जलाशयसँगै नदी, खोला, पोखरीमा डुवानमा पर्दा कसरी जोगिन सकिन्छ भनेर सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले नमूना अभ्यास गरेर देखाएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर ज्वालामाई गण भालुवाङका प्रहरी निरीक्षक प्रशान्तसागर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्व अभ्यासका क्रममा बाढी, डुवानमा परेको समयमा स्थानीय स्रोतका रूपमा रहेका प्लास्टिकका बोतल र बोरा, गाडीको टिउ, म्याट लगायतका सामग्रीको प्रयोग गरेर कसरी बच्न सकिन्छ भनेर जलाशयमा नमूना अभ्यास गरिएको थियो ।
त्यसै क्रममा सशस्त्र प्रहरीको टोलीले स्थानीय स्रोत साधनका रूपमा रहेका प्लास्टिकका बोतल र बोरा, गाडीको टिउ, म्याटको प्रयोग गरेर पौड्ने, जलाशयमा पौड्दा डुवेको र मृतकलाई कसरी उद्धार गर्नेसँगै उद्धारपछि गरिने प्राथमिक उपचारलगायतका बारेमा पूर्व अभ्यास गरेर नागरिकलाई सचेत बनाउने काम गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।
विपद् व्यवस्थापन तथा खोज उद्वार सम्बन्धी नमूना अभ्यास कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले विपद् जुनसुकै समयमा पर्न सक्ने भएकाले त्यसको तयारी सबैले गर्न आवश्यक रहेको बताउनुभयो । विपदबाट हुने क्षतिलाई न्यूनीकरणका लागि घोराही उपमहानगरपालिकाले विपतकाे समयमा आवश्यक पर्ने प्राविधिक सामग्रीसँगै उद्धारका लागि दक्ष जनशक्ति जुटाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
घोराही उपमहानगरपालिकाको आयोजना, रणसिंह दल गण घोराही, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर ज्वालामाई गण भालुवाङ र नेपाल रेडक्रस सोसाइटी घोराही शाखाको सहकार्यमा भएको थियो ।