• २६ फागुन २०८१, सोमबार

सवा छ अर्बको लसुनको खोजी

blog

काठमाडौँ, फागुन २६ गते । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ ।  यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ । 

पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन । 

नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् । 

नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा) को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ । 

अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २७० रुपियाँ छ । आम उपभोक्ताले एक किलो लसुनको पाँच सय रुपियाँसम्म तिर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । वर्षअघिसम्म १५० रुपियाँसम्म मूल्य पुग्ने गरेको थियो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक राजन पौडेलले नेपालमा लसुन आयातमा कुनै बन्देज नभएको र प्रतिबन्धित सामग्रीमा नपर्ने भएकाले नेपालमा सहज आयात र नेपालबाट भारतमा पनि सहजै जान सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले आयातनिर्यातको पाटोमा भन्सार विभागसँग जिम्मेवारी रहने र आफूहरूले पनि सो विषयमा खोजी गरिरहेको उल्लेख गर्नुभयो । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आयातको मात्रा बढेसँगै अनुसन्धान शाखाले त्यसको अध्ययन थालेको उल्लेख गर्नुभयो । 

नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालमा उत्पादन भएको लसुनप्याजको भण्डारण गर्ने पूर्वाधार छैन । आव २०७९/८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले नेपालमा मासिक एक अर्बको लसुन खपत गर्ने उपभोक्ता नै नभएको र त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हेरिरहेको जानकारी दिनुभयो । ठुलो परिमाणमा लसुन आयात हुँदा पनि लसुनको मूल्य नघट्नुले अचम्ममा पारेको उहाँले स्पष्ट पार्नुभयो । नेपालीले वार्षिक ३९ मेट्रिक टन लसुनको खपत गर्ने गरेकोमा पहिलो छ महिनामै त्यसको तीन गुणा धेरै लसुन आयात भइसकेको छ ।