• २६ वैशाख २०८२, शुक्रबार

मष्तिष्क पक्षघातको उपचारका लागि आर्थिक सहयोगको अपिल

blog

ज्ञानेन्द्र लुहार

काठमाडौँ, फागुन २३ गते। ६ वर्षीय ज्ञानेन्द्र लुहारको मष्तिष्क पक्षघातको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्।    

 बैतडी पाटन नगरपालिकाका २५ वर्षीय हरिश विकले छोरालाई मस्तिष्क पक्षाघातको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको हो। 

रगत जाँचको लागि नमूना विदेश पठाउनुका साथै फिजियोथेरापी गर्न थप रकम आवश्यक परेकोले उहाँको परिवाले आर्थिक सहयोगका लागि अपिल गरेको हो। पैसाको अभावले गर्दा थप उपचार अलपत्र पर्ने अवस्था आएको ज्ञानेन्द्रका बुवा हरिशको भनाइ छ। 

उपचारकै क्रममा आफूसँग भएको रकम खर्च भइसकेको र बच्चाको थप उपचारमा चुनौती थपिएको विकले गोरखापत्र अनलाइनलाई सुनाउनुभयो।  

जन्मिएदेखिनै ज्ञानेन्द्र अन्य बच्चाजस्तो बोल्ने, हिँड्डुल गर्न नसक्ने भएकाले उहाँले धामी झाक्री र जडीबुटीको भर पर्दा उपचारमा ढिलाइ भएको उहाँले बतउनुभयो। 

उहाँ भन्नुहुन्छ,“मेरो बच्चामा सानैदेखि बोल्न र हिँड्डुल गर्न समस्या थियो। गाउँघरमा सबैले देवी देवता लागेको र गाउँमानै धामी लगाएर उपचार गर्ने सुझाव दिए। तर, जे गरे पनि निको भएन।” 

स्थानीय अस्पतालमा रोग पत्ता नलागेपछि थप उपचारको लागि सात महिना अगाडिमात्र छोरालाई लिएर काठमाडौँ आएको उहाँले बताउनुभयो। 

विकले छोरालाई कान्ति लगायत काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदा मष्तिष्क पक्षाघात भएको पुष्टि भएको हो। अहिले उहाँको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।  

 यसैगरी, उहाँकी नौ महिने छोरीलाई पनि दुई हप्तादेखि छोरालाई जस्तै लक्षण देखिन थालेको छ। चिकित्सकले छोरीलाई पनि सोही रोग लागेको हुन सक्ने अनुमान गरेका छन्। 

गाउँमानै एउटा निजी विद्यालयमा शिक्षण पेशा गर्दै आउनुभएका विक छोरोको उपचार गर्न काठमाडौं आएदेखि कामविहिन बन्नुभएको छ। 

 उहाँ भन्नुहुन्छ,“गाउँमानै निजी विद्यालयमा शिक्षण पेशा गर्दै आएको थिएँ। छोराको उपचार गर्न काठमाडौँ आएदेखि काम छुट्यो। बच्चाको उपचारको लागि भागदौड गर्दा काम गर्ने मेसो मिलेको छैन। छोराको जस्तै समस्या छोरीलाई पनि भएको चिकित्सकले आशंका  गरेका छन्।”

विगत केही महिनादेखि फिजियोथेरापी र नसा सम्बन्धी औषधी दिएपछि छोराको स्वास्थ्यमा पहिलेको भन्दा सुधार आएकोले छोरो निको हुन्छ भन्ने आशा पलाएको उहाँले बताउनुभयो। तर, आर्थिक अभावका कारण  छोरोको उपचार बिचमै रोकिन्छ कि भन्ने चिन्ताले सताएको विक सुनाउनुहुन्छ।