तनहुँ, फागुन २२ गते । व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ । नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि बुधवार कार्यपालिकाको बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा व्यास नगरपालिकाको जग्गा खरिद प्रक्रियामा नगरपालिकाका यी कर्मचारीहरूको अडियो सार्वजनिक भएकोले छानबिनको लागि निलम्बन गरिएको उल्लेख गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा अमर्यादित भाषा प्रयोग गर्ने चार जना कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृतबाट ७ दिने स्पष्टीकरण सोधिएको विषय बैठकमा अनुमोदन गरी ती कर्मचारीहरूलाई छानबिन प्रक्रिया नटुङ्गिँदासम्म निलम्बन गरिएको जनाइएको छ ।
छानबिनको लागि प्रमुख प्रशासकीय अधिकृतबाट स्पष्टीकरण सोधिएका कर्मचारीहरूलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । व्यास नगरपालिकाको सूचना अधिकारीको जिम्मेवारी शिक्षा शाखा प्रमुख केदार आचार्यलाई दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अडिओको सम्बन्धमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा समाजवादी लगायतको पार्टीसँग छलफल भएको बताइएको छ । यस सम्बन्धमा चैत्र २ बजे स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सरसफाइ केन्द्रको जग्गा व्यवस्थापन सम्बन्धमा संयुक्त बैठक बस्ने निर्णय गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
वरिष्ठ आन्तरिक लेखा परीक्षण (आलेप) अधिकृत जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पूरा हुने गोप्य अडियो रेकर्ड फेला परेपछि सरसफाइ जग्गा व्यवस्थापन समितिले फागुन १७ गते पत्रकार सम्मेलन गरी अडियो सार्वजनिक गरिएको थियो । व्यास नगरपालिका–१३ मा नगरपालिकाले केन्द्र सञ्चालनको लागि जग्गा खरिद गर्ने कार्य अघि बढाएको थियो ।