• २२ फागुन २०८१, बिहिबार

राणाकालीन ऐतिहासिक साँगचोकगढी अलपत्र

blog

अलपत्र अवस्थामा रहेको साँगचोकगढी । तस्बिर: गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन २२ गते । नेपाल एकीकरणका बखत गोर्खाली सेनाले निर्माण गरेको साँगचोकगढी अलपत्र छ । चौतारा साँगचोकगढी नगरपालिका–१२ मा अवस्थित उक्त गढी पुन निर्माण र संरक्षण अभावमा बषौंदेखि अलपत्र अवस्थामा रहदैं आएको छ ।

उक्त गढी तत्कालीन राजा पृथ्वीनारायण शाहका पहिलो सेना प्रमुख शिवरामसिंह बस्नेतसहित १३ जना सेनाले भक्तपुर र कीर्तिपुर मल्ल राजाका सेनापति काशीराम थापासँग युद्धमा वीरगति प्राप्त गरेको इतिहास छ । सैनिक संग्राहलय छाउनीको अभिलेख अनुसार गोरखाका राजा शाहले बाइसे चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्ने क्रममा आफ्नो सेनालाई सिन्धुपाल्चोक पठाएको र नयाँ नेपाल निर्माण गर्ने क्रममा १८०३ सालमा साँगचोकगढीको निर्माण गरेको इतिहास छ ।

शाहको सेनाले कान्तिपुरका मल्ल राजाहरुले अड्डा जमाई रहेको साँगचोकगढी आक्रमण गरेर विजय प्राप्त गरेको इतिहास छ । त्यसताका गढीकै छेउमा युद्ध सामाग्री राख्न निर्माण गरिएको कोत पनि छ । उक्त कोत भएकै स्थानमा स्थानीयले अहिले बच्छलादेवी मन्दिर गरेर बडा दसैँको फूलपातीमा पूजाआजा गर्दे आई रहेका छन् । कालान्तरमा आएर संरक्षण अभावमा साँगचोकगढी जीर्ण र कन्तबिजोग अवस्थामा पुगेको स्थानीय धुव्रराज गिरी बताउनु हुन्छ । 

गढीसम्म पुग्न माने डाँडा सडक र बच्छदादेवी मन्दिर निर्माण गरिएको छ । गढी नजिकसम्म पदमार्गको सिँढी निर्माण भएको छ । गढीमा वीरगति प्राप्त गर्ने तत्कालीन सेना प्रमुख शिवराम सिंह बस्नेतको सालिकसहितको स्मारक पार्क, शान्ति पार्क, गढी क्षेत्र र पिकनिक स्पोर्ट निर्माणको काम अधुरो छ । सो समयमा इँटाबाट लगाइएका गारो, पुराना इँटा उत्खननका क्रममा भेटिएको जाँतो, सिलौटो, लोहोरो लगायतका सामाग्री बच्छलादेवी मन्दिरमा संरक्षण गरेर राखिएको छ । राज्यको पुनर्संरचनापछि यसै गढीको नामबाट चौतारा साँगचोकगढी नगरपालिका राखिएको छ । यस गढीबाट तिब्बतको माथिल्लो क्षेत्र, नेपाल–तिब्बतको युद्ध स्थल दुगुनागढी, नुवाकोट, भक्तपुर, काठमाडौँ र काभ्रेपलान्चोक लगायतका स्थानहरू देखिन्छ । 

गढीको अवलोकनका लागि आन्तरिक, बाह्य पर्यटक आउने गर्छन् । अलपत्र गढी हेरेर पर्यटकहरू निराश भएर फर्किने गर्छन् । उक्त गढीलाई ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र बनाउन लाग्नु पर्ने स्थानीयहरूको माग छ । एक दशक अघि स्थानीयहरूको प्रयासमा १६ करोड लागतमा गढीको निर्माण गर्न डिपिआर गरिएको थियो । तर पटक–पटक गरेर पाँच करोड बढीको काम भएको छ । उक्त कामको पनि हिसाबकिताब सार्वजनिक भएको छैन ।