बुटवल समाचारदाता
बुटवल, फागुन २२ गते । दुई सय ३० वर्ष पुरानो इतिहास बोकेको बुटवल–१६ को नरेश्वरधाम बोलबम मन्दिरको संरक्षणसँगै बर्सौंदेखि लाग्दै आएको मेला संरक्षणमा स्थानीय जुटेका छन् । हरेक वर्षको महाशिवरात्रिमा लाग्दै आएको ऐतिहासिक नरेश्वरधाम मेलाको संरक्षणको कामसमेत मन्दिर व्यवस्थापन समितिले अघि बढाएको छ । नरेश्वरधाम बोलबम मन्दिरको स्थापना १८५१ सालमा भएको र मन्दिरको भवन बनाएर विधिवत् स्थापना भने २००१ सालमा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नरेश्वर बोलबमधाम मेला पुरानो मेलाको पहिचान बनाउन सफल भएको छ । ऐतिहासिक मन्दिरमा हरेक वर्ष शिवरात्रिमा र साउन महिनामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले यो मन्दिर क्षेत्रलाई पर्यटन स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले गुरुयोजना बनाउने काम सुरु गरेको बताउनुभयो ।
नरेश्वर बोलबम महादेवधाम मन्दिर व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष महाशिवरात्रिका अवसरमा एक सातासम्म मेलासमेत लाग्दै आएको छ । मन्दिर समितिका सचिव तुलबहादुर चौधरीले यसको इतिहास सताब्दिऔँ पुरानो रहेको बताउनुभयो । महाशिवरात्रिका अवसरमा नरेश्वर बोलबम धाममा जलार्पण गर्ने परम्परा रहँदै आएको छ । जलार्पण गरेपछि मनोकामना पूरा हुने विश्वास गरिन्छ । स्थानीय सर्जु चौधरीका अनुसार शिवरात्रिका दिनदेखि सात दिनसम्म हुने मेलामा रुपन्देही मात्र नभएर छिमेकी जिल्लाबाट समेत हजारौँ दर्शक आउँथे तर अहिले भने मेला धेरै खुम्चिएको छ ।
मेला साँघुरिँदै गए पनि मेलाको मुख्य आकर्षणका रूपमा रहेको नरैनापुरको मेलाको मिठाई भने अहिले पनि प्रख्यात छ । अहिले पनि धेरै दर्शक मेलामा मिठाई खान र घुम्न जाने गरेका छन् । नरेश्वरधाम मेला लोप हुँदै गएपछि स्थानीयले बोलबमधाम समितिमार्फत मेला संरक्षण गर्न थालेका हुन् । बुटवल उपमहानगरपालिकाका–१५ का पूर्ववडाध्यक्ष रामप्रसाद रेग्मीले इतिहास बोकेको नरैनापुर मेलाको संरक्षणका लागि उपमहानगरपालिकाले यसअघिदेखि नै प्रयास गरिरहेको बताउनुभयो । पछिल्लो समय सहरीकरणको असर यो मेलामा पनि देखिन थालेको छ । मेला हुने स्थानमा घर बन्दै गएपछि मेला साँघुरिँदै गएको छ ।
समितिका सचिव चौधरीले २३० वर्षको इतिहास बोकेको यो मन्दिरको संरक्षणसँगै मेलाको साख अझै बढाएर आगामी दिनमा मेलामा दर्शकको आगमन बढाउन प्रयास गर्ने बताउनुभयो ।