मकवानपुर समाचारदाता
हेटौँडा, फागुन २२ गते । बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयले आगामी शैक्षिक शत्रबाट पठनपाठन सुरु गर्ने गरी तयारी थालेको छ । सोही क्रममा विश्वविद्यालयले तयार पारेको वेबसाइटको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार सुरु गरिएको छ ।
भदौ महिनाबाट पठनपाठन सुरु गर्ने गरी तयारीलाई तीव्रता दिइएको कार्यक्रममा जानकारी दिइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वविद्यालयले तीन वटा सङ्कायमा अध्यापन हुने जानकारी गराउनुभयो । विश्वविद्यालयका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले अध्यापनका लागि वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गरेर कार्यक्रम निर्धारण गर्ने जानकारी दिनुभयो ।
विश्वविद्यालयमा सबै किसिमको व्यावसायिक र प्राविधिक विषय मात्र पठनपाठन हुने छ । रोजगारमूलक र स्वरोजगार बन्ने विषय अध्यापन गराइने योजना रहेको उहाँले बताउनुभयो । विश्वविद्यालयले अन्तिम सेमेस्टरमा सबै विद्यार्थी प्रशिक्षणमा रहने गरी योजना बनाएको छ । आन्तरिक तयारी पूरा भएपछि भदौदेखि पठनपाठन सुरु हुने छ ।
हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) चल्ने छ । बोर्ड अफ ट्रस्टीले नीति नियम र योजना बनाउने छ । कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले कार्यान्वयन गरी प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय सञ्चालन हुने छ । विश्वविद्यालयमा विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र शिक्षा तथा सामाजिक विज्ञान सङ्काय रहेको छ ।
आङ्गिक क्याम्पस हुन चाहने सामुदायिक क्याम्पसलाई स्वीकृति दिइने यसका लागि चाँडै नै सूचना प्रकाशित गरिने छ । मुख्यमन्त्री लामाले बागमती विश्वविद्यालय प्रदेशको गौरवको योजना भएको बताउनुभयो । सरकारले सिपमूलक र रोजगारमूलक शिक्षामा जोड दिएको जानकारी दिनुभयो । विश्वविद्यालयले हालै डिनका लागि आवेदन माग गरेको छ ।