• ८ वैशाख २०८२, सोमबार

तटबन्ध निर्माण अन्तिम चरणमा

blog

नारायणी नदी किनारमा तटबन्ध निर्माण गरिँदै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, फागुन २२ गते । नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम अन्तिम चरणमा पुगेको छ । चितवन र नवलपरासी क्षेत्रको नदी किनारमा लगाइएको विभिन्न प्याकेजका ठेक्काको काम सकिएको छ । 

चितवनतर्फ पाँच खण्डमा निर्माण गरिएको तटबन्ध ठेक्कामा तीन वटा सम्पन्न भइसकेको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो  । पाँच प्याकेजको ठेक्कामध्ये सिसुवार–बालुवाखण्ड र शिवघाट–रामघाटखण्डको तटबन्ध मात्र बाँकी रहेको छ । सिसुवार–बालुवा क्षेत्रको ठेक्का भने अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । साढे पाँच किलोमिटर लम्बाइको यो तटबन्धका लागि ३७ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । जगमा ठुला ढुङ्गा राखेर तटबन्ध गर्ने योजनासहित कम दररेटमा ठेक्का सम्झौता गरिएको थियो । कम लागतमा निर्माण सम्झौता भएकोमा अहिले लागत वृद्धि हुँदै जाँदा निर्माण कम्पनीलाई काम गर्न समस्या भएपछि ढिलो गरी काम भएको कार्यालयले जानकारी दिएको छ । तटबन्धका लागि आवश्यक पर्ने सामग्री टाढादेखि ल्याउनुपर्ने, ढुवानी खर्च धेरै आउँदा निर्माण कम्पनीले फुर्सदमा काम गर्दा यसको प्रगति थोरै आएको सूचना अधिकारी लम्सालले बताउनुभयो । छिटो काम सक्नका लागि दबाब दिइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिनुभयो ।

रामघाटदेखि काभ्रेघाटसम्म पाँच किलोमिटर क्षेत्रका लागि एक अर्ब १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यहाँ ८२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण कम्पनीलाई अहिलेसम्म ५३ करोड रुपियाँ भुक्तानी भइसकेको छ । रामघाटदेखि काभ्रेघाट तटबन्ध चालु आर्थिक वर्षभित्रमा सम्पन्न हुने नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले जानकारी दिएको छ । चितवनतर्फको बालुवादेखि गोलाघाट–नारायणी र राप्ती नदीको सङ्गमस्थल क्षेत्रमा साढे दुई किलोमिटर तटबन्ध निर्माण कार्य सकिएको छ । यसका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटर लम्बाइको यो तटबन्धका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो खण्डको पनि निर्माण सकिएको छ । नारायणी नदीको पुलबाट उत्तरतर्फ ‘सिबिच मोडल’ को ६४० मिटर लम्बाइको तटबन्ध भने दुई वर्षअघि नै तयार भइसकेको छ । 

नवलपरासीतर्फको गैँडाकोट क्षेत्रमा निर्माण भइरहेको पाँच किलोमिटर तटबन्धको कार्य प्रगति ५४ प्रतिशत सकिएको छ । एक अर्ब नौ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा ५८ करोड रुपियाँ भुक्तानी भइसकेको सूचना अधिकारी इन्जिनियर लम्सालले जानकारी दिनुभयो । त्यस्तै गरी मध्यविन्दु–कावासोती–अमलटारी क्षेत्रमा चार किलोमिटर निर्माण भइरहेको तटबन्धको १२ करोड रुपियाँको ठेक्का सम्झौता भएको थियो । यसको प्रगति ७४ प्रतिशत देखिएको छ ।  दुवैतर्फ तीन अर्ब १७ करोड रुपियाँमा सम्झौता भएको कुल ठेक्कामा एक अर्ब ७६ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । बाँकी रकम निकासाका लागि पहल भइराखेको सूचना अधिकारी लम्सालले जानकारी दिनुभयो । 

काम सम्पन्न हुँदा पनि निर्माण कम्पनीले रकम नपाउँदा अन्य स्थानमा काम गर्नका लागि दबाब दिन कठिन हुने कार्यालयले जानकारी दिएको छ । रकम उपलब्ध गराउन ताकिता गर्दै आएको कार्यालयका सूचना अधिकारी लम्सालले बताउनुभयो । अहिले निर्माण भइराखेको बाँकी छुटेका विभिन्न क्षेत्रमा ३० करोड रुपियाँको स्रोत सुनिश्चित भइसकेको छ । थप तटबन्धका लागि केही महिनाभित्रै ठेक्का सम्झौता गर्न सूचना प्रकाशित गर्ने कार्यालयले जानकारी दिएको छ ।  

नारायणी तटबन्धपछि बाढी तथा कटानको जोखिम टरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । यो तटबन्धको काम महानगरपालिकाको पहलकदमीबाट सम्भव भएको उहाँको भनाइ छ । बाँकी रहेको स्थानमा पनि तटबन्ध गरेपछि पूर्ण रूपमा सुरक्षित हुने दाहालले बताउनुभयो ।