• २२ फागुन २०८१, बिहिबार

जनकपुर चक्रपथको शिलान्यास

blog

जनकपुर चक्रपथको शिलान्यास गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ । तस्बिर : धर्बेन्द्र झा

धनुषा समाचारदाता  

धनुषा, फागुन २२  गते  । मधेश प्रदेशको राजधानी जनकपुरधामको चारैतिर भएर निर्माण हुने ३२ किलोमिटरको जनकपुर चक्रपथको बुधबार शिलान्यास गरिएको छ । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले चक्रपथको शिलान्यास गर्नुभएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका सडक डिभिजन कार्यालय जनकपुरधामले उक्त सडक निर्माण गर्न लागेको हो । २०८१ साल फागुन ११ गते केबी पूर्णचण्डी जेभी ललितपुरसँग छ करोड ३० लाख १७ हजार ६७७ रुपियाँमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दरोगा साहले कार्यक्रममा जानकारी दिनुभयो । 

उक्त सडक निर्माणका लागि धेरै रकम आवश्यक भएको भन्दै उहाँले चालु आर्थिक वर्षमा धनुषाको लोहना रामपुर खण्डमा साढे दुई किलोमिटर कालोपत्रे र कपिलेश्वर खण्डमा डेढ किलोमिटर ग्राभेलसहितको नयाँ सडक निर्माण गर्ने पहिलो चरणको काम रहेको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव महासेठले राम्रो सडकमा हिँड्ने जनताको अधिकार सुनिश्चितका लागि वर्तमान सरकारले गर्न लागेको सडक निर्माणको काममा सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले आफू पहिलो पटक भौतिक पूर्वाधारमन्त्री बन्दा यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको र दोस्रो पटक मन्त्री बन्दा चक्रपथ सडक निर्माणका लागि चालु आवमा ११ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो । उहाँले यसलाई बहुवर्षीय योजनामा लगेर अगामी आवमा थप बजेट विनियोजन गराउने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) की नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले जनकपुर चक्रपथ निर्माणले यस क्षेत्रका जनता खुसी भएको भन्दै हरेक राजनीतिक दलले यस कार्यमा सहयोग गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले जनकपुर चव्रmपथ निर्माण भएपछि जनकपुरधामको ग्रामीण क्षेत्रका जनतालाई समेत बजार आउजाउ गर्न सहज हुने बताउनुभयो ।