निर्देशक केपी पाठक चलचित्र निर्माणबाहेक वृत्तचित्र निर्माण, फेस्टिभल आयोजनालगायत विभिन्न गतिविधिमा सक्रिय हुनुहुन्छ । चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वसदस्यसमेत रहनुभएका उहाँ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को अध्यक्ष पनि हुनुहुन्छ । आगामी चैत ७ देखि ११ गतेसम्म निफ आयोजना हुँदै छ । नेपाली चलचित्र क्षेत्रको उतारचढाव र निफको तयारीबारेमा केन्द्रित रहेर पाठकसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
- अहिले नेपाली चलचित्रको अवस्था कस्तो देख्नुहुन्छ ? सफल र असफल क्रम चलिरहेको छ ?
नेपली चलचित्रको विशेषता नै यही हो । पूर्णबहादुरको सारङ्गी एउटा सुनामी थियो, जुन सोच्नै नसोचेको तरिकाले चल्यो । अब यसपछि यस्तो चलचित्र बिरलै हेर्न पाइन्छ । चलचित्र राम्रो चलेपछि त्यही पुरानै ढर्राका कथावस्तुलाई समातेर हिँड्ने निर्माता कहिले सफल हुँदैनन् । पूर्णबहादुरको कथा परिवेशले गर्दा चलेको हो । यहाँ एक वर्षमा चारदेखि पाँच वटा चलचित्र सफल हुन्छन् र अन्यले मध्यम लगानी उठाउन सक्छन् । ९५ प्रतिशत चलचित्रले लगानी पनि उठाउँदैन भनेर पहिलेदेखि भन्दै आएको हो । यो वर्ष वैशाखदेखि अहिलेसम्मा चारदेखि पाँच वटा चलचित्रले लगानी उठाएको देखिन्छ । अब यो वर्षको कोटा पुग्नै लागिसक्यो । म सधैँ भन्ने गर्छु चलचित्रको समयावधि घटाऊँ, डेढ घण्टाको चलचित्र बनाऊँ । खर्च घटाऊँ, ठुला कलाकारलाई करोडौँ दिएर बतासे खर्च गर्नु जरुरी छैन । अहिलेको समय हेर्ने हो भने कुनै पनि कलाकारले २० लाखभन्दा धेरै पारिश्रमिक लिनु अनुकूल होला जस्तो लाग्दैन । अहिले असङ्ख्य चलचित्र बनाउने होड चलेको छ, जुन नेपाली चलचित्र बजारले धान्दैन । नेपाली बजारलाई चाहिने भनेको ५२ हप्ताको १०४ वटा चलचित्र हो । दर्शकको मनोविज्ञान अनुसारको चलचित्र बनाउने अनि लगानी चाहिँ घटाउने यो कस्तो चलन हो ।
- चलचित्र बनाएर विदेशी चलचित्र महोत्सवमा लिएर जाने होडबाजी चलेको छ, के भन्नुहुन्छ ?
सर्वप्रथम अन्तर्राष्ट्रियस्तरको चलचित्र बनाउनु पर्छ । चलचित्रको कथावाचन पनि त्यसरी नै गर्नु पर्छ । अहिले बनिरहेका चलचित्र जनरा अनुसारका बनिरहेका छैनन् । हरेक चलचित्रमा खिचडी मिसिएको हुन्छ । सबै स्वाद त्यसैमा दिने गरिएको छ । हामीलाई ड्रामा, फाइट, गीत, रोमान्स, कमेडी सबै चाहिएको छ । अहिले त्यही तरिकाले चलचित्र बनिरहेका छन् । त्यस्ता किसिमका चलचित्र अन्तर्राष्ट्रिय बजारमा खासै जम्दैनन् । निर्देशकले आफ्ना चलचित्रमा दर्शकको ध्यान कत्तिको तान्न सक्छ भन्ने कुरा मुख्य हो ।
अर्को कुरा युट्युबमा नेपाली चलचित्र हेर्न बन्द नभएसम्म बजार बढ्दैन । यहाँ दर्शकको महनोविज्ञान पनि युट्युबमा आएपछि हेर्छु भन्ने छ । हाम्रा निर्माता पनि युट्युबले २०–२५ लाख दिन्छ भनेर त्यसैको लोभ गरिरहेका हुन्छन् । राम्रो चलचित्र बनाएर महोत्सवमा लिएर जाने हो भने त्यसले देशको पनि हित गर्छ र नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय बजारमा अगाडि बढाउने काम गर्छ ।
- निफ नजिकिँदै छ, कस्तो तयारी गर्नुभएको छ ?
म नेपाली चलचित्र बजारलाई फैलाउँदै अन्तर्राष्ट्रिय बजारमा जोडिनु पर्छ भनेर लागिपरेको छु । साथै यस क्षेत्रमा विभिन्न चलचित्र लेखक, चलचित्रकर्मीलाई कार्यशालामा सहभागी गराउँदै आएको छु । कार्यशालामा विदेशी प्रशिक्षक ल्याइयो । त्यसले पनि केही सम्बन्ध बनाउन मद्दत गरेको थियो । अन्तर्राष्ट्रिय बजारसँग जोडिने माध्यम के हुन सक्ला भन्ने सोच्दा निफ गरौँ भन्ने प्रस्ताव आयो । नेपालको सिग्नेचर दिने चलचित्र फेस्टिभल पनि छैन । जेजस्तो फिल्म फेस्टिभल भइरहेका थिए, तिनले स्वतन्त्र चलचित्रकर्मीलाई मात्र जोड्ने काम गरिरहेको थियो तर मेरो सोच मेन स्ट्रिमलाई पनि सँगसँगै लिएर हिँड्नु पर्छ भन्ने थियो । २०१८ मा पोखराबाट सुरु भएको निफ आठौँ संस्करणमा आइपुगेको छ । हामीले राम्रो तयारी गरेका छौँ ।
- आठौँ संस्करणसम्म आइपुग्दासम्म निफमा के परिवर्तन भयो ?
पहिलो संस्करणमा हामीले केही चिनेजानेका साथीमार्फत चलचित्र मागेर देखाएका थियौँ । अहिले यहाँसम्म आइपुग्दा हामी अन्तर्राष्ट्रिय बजारको उपयोग गरेर विश्वभरबाट चलचित्र मगाउन सक्ने भएका छौँ । अहिले विदेशी चलचित्रकर्मी पैसा नै तिरेर निफमा सहभागी हुन आतुर छन् । ७० भन्दा धेरै देशबाट छ सयभन्दा धेरै चलचित्र आउन सक्ने वातावरण बनेको छ । इन्टरनेसनल फिल्म सोसाइटी फेडेरेसनले पनि हामीलाई सदस्य बन्न प्रस्ताव ग¥यो । हामी २०२१ देखि त्यसको सदस्य छौँ ।