बागलुङ समाचारदाता
बागलुङ, फागुन २१ गते । बागलुङ जिल्लाकै पुरानोमध्येको एक सामुदायिक विद्यालय विद्यामन्दिरमा खेल मैदान र शौचालयको अभाव हुन थालेको छ । झन्डै एक हजार चार सय विद्यार्थीले पठनपाठन गरिरहेको विद्यालयमा खेल मैदान र शौचालयको अभावले विद्यार्थी समस्यामा पर्न थालेका छन् ।
यो विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहट, पूर्व नवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारा जिल्लाका विद्यार्थी पढ्ने गरेका छन् ।
विसं १९९७ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पमा पठनपाठन गराउनै नसकिने गरी ठाउँ ठाउँमा चर्किएको थियो । जसोतसो दाताहरूको सहयोगमा विद्यालयको अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ । २०७३ सालमा लगाइएको महायज्ञबाट सङ्कलित छ करोड २८ लाख रुपियाँबाट २८ कोठे पक्की भवन बनाइएको हो । ब्रिटिस वेलफेयरले एक करोड ३९ लाख रुपियाँ खर्चेर आठकोठे भवनसमेत निर्माण गरिदिएको छ । यस्तै स्थानीय समाजसेवी श्रीजय श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कृष्णशङ्कर श्रेष्ठ, गणेशशङ्कर श्रेष्ठ र प्रवीणशङ्कर श्रेष्ठले २८ लाख रुपियाँ खर्चेर तीनकोठे भवन निर्माण गरिदिनुभएको छ ।
भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्य खेल मैदान र शौचालयको भने अभाव छ । झन्डै एक हजार चार सय विद्यार्थी र ९० जना शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय १३ वटा मात्रै छन् । यति धेरै विद्यार्थीले प्रयोग गर्ने शौचालय थोरै हुँदा सास्ती खेप्नु परेको विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले दुःखेसो पोख्नुभयो ।
खाजा खाने समयमा एकै पटक धेरै विद्यार्थीले शौचालय प्रयोग गर्न लामो समय लाइनमा बस्नु पर्दा पढाइ नै प्रभावित हुने गरेको छ । जग्गा अभावका कारण विद्यालय भवनको छतमा शौचालय बनाउन सकिने प्राविधिकहरूले सुझाएको तर आर्थिक अभाव हुँदा तत्काल शौचालय बनाउन नसकिएको रेग्मीले बताउनुभयो ।
रेग्मीले भन्नुभयो, “खेल मैदान अपर्याप्त र साँघुरो छ, विद्यार्थी सङ्ख्या धेरै छ, बालकक्षादेखि १२सम्मका विद्यार्थी त्यही मैदानमा भर पर्दा बालबालिकालाई चोटपटक लाग्ने गरेका धेरै घटना छन् । शौचालयपछि विद्यालयले झेल्दै आएको अर्काे समस्या भनेको खानेपानीको हो । गर्मीयाम लागेसंगै विद्यार्थीलाई खानेपानीको कसरी जोहो गर्ने भन्ने विषयले विद्यालय प्रशासनलाई सधैँ सताउने गरेको छ ।