• २२ फागुन २०८१, बिहिबार

समाचारमा सत्यतथ्य उजागर हुनुपर्ने

blog

हेटौँडा समाचारदाता 

हेटौँडा, फागुन २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पत्रकारलाई यथार्थपरक समाचारमा जोड दिन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले मङ्गलबार हेटौँडामा आयोजना गरेको अन्तर्विmया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वास्तविक कुरा उजागर गर्न अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो, “खोज, अनुसन्धान र तथ्यमा आधारित भएर यथार्थपरक समाचार बाहिर ल्याउनु पर्छ । प्रविधिको विकाससँगै अबको पत्रकारिता फरक ढङ्गले अगाडि बढाउन आवश्यक छ । समयानुकूल पत्रकारिता क्षेत्र सकारात्मक दिशामा लाग्नु आवश्यक छ ।”

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बेरुजु नआउने गरी कार्यविधि स्वीकृत गरेर पत्रकारको प्रदेशस्तरको छाता सङ्गठनलाई कार्यक्रम दिने तयारी भइरहेकाले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस युनियन बागमती प्रदेश अध्यक्ष युवराज पुरी, प्रेस चौतारी बागमती प्रदेश अध्यक्ष तिलकराम रिमाल, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी र फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले प्रदेश सरकार र पत्रकारबिच समन्वय हुन नसक्दा समस्या परेको उल्लेख गर्नुभयो । अन्तव्रिर्mया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईंले पत्रकारको समस्याबारे जानकारी गराउनुभएको थियो । नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश समितिको फागुन १९ र २० गते हेटौँडामा भएको दोस्रो पूर्ण बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ । बैठकले आगामी तीन वर्षको कार्ययोजना पारित गर्दै प्रदेशभित्रका आमसञ्चार माध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल गरेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारूमगरले जानकारी दिनुभयो । 

प्रदेश समितिले पत्रकारको भौतिक एवं पेसागत सुरक्षाको प्रत्याभूति गर्न र बागमती प्रदेशभर सञ्चालित स्वरोजगारमूलक तथा व्यावसायिक मिडियाको प्रवर्धन गर्ने कानुन ल्याउन बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेको सामाजिक सञ्जाल विधेयक र पारित भएको मिडिया काउन्सिल विधेयकका प्रेस तथा स्वतन्त्रताविरुद्धका प्रावधान हटाउन केन्द्रीय समितिलाई दबाबको कार्यव्रmम ल्याउन प्रदेश समितिले आग्रह गरेको छ । आवश्यक कानुन निर्माण गरी श्रमजीवी पत्रकारलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन महासङ्घको हेटौँडा घोषणापत्रमा उल्लेख छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापनसम्बन्धी ऐनको दफा ५४ बमोजिम दुर्घटना, दीर्घरोग तथा ज्येष्ठ पत्रकारलाई सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।