• २१ फागुन २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा ‘चिकित्सक नेतृत्व’ को विमोचन

blog

गोरखापत्र समाचारदाता

काटमाडौँ, फागुन  २१ गते । नेपाल चिकित्सक सङ्घको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ को विमोचन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मङ्गलबार पुस्तकको विमोचन गर्नुभयो । पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताउनुभयो । पुस्तकमा सङ्घका ३२ जना अध्यक्षको जीवनी, सङ्घमा उहाँहरूले गरेका योगदान, सङ्घर्षलगायतका विषय समावेश छन् ।

दुई सयभन्दा बढी पृष्ठको पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको हो । सम्पादक ढकालले पुस्तकबाट सङ्घको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको  बताउनुभयो । उहाँले यसले नेपालको चिकित्सा क्षेत्रको विकास क्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने भन्दै पुस्तक प्रकाशनको निर्णय लिएको बताउनुभयो । नयाँ पुस्ताका चिकित्सकलाई पनि अग्रजले गरेका काम र योगदानका विषयमा जानकारी हुने छ, ढकालले भन्नुभयो, “अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने छ ।”

२००७ साल फागुन २० गते स्थापना भएको सङ्घलाई नेपालको पहिलो पेसागत सङ्घ मानिन्छ । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गर्ने निर्णय गरेका थिए । सङ्घको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुनुहुन्थ्यो ।