• २१ फागुन २०८१, बुधबार

‘महिला चलचित्र महोत्सव’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २१ गते । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ । चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गर्नुभयो । उहाँले महोत्सव आयोजना भएकोमा शुभकामना दिँदै यसले चलचित्रमा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“अहिले चलचित्रमा महिला सशक्तीकरण बुलन्द रूपमा अगाडि आइरहेको छ । चलचित्रको मुख्य चरित्र महिला पनि हुन थालेका छन्,” उहाँले भन्नुभयो “काममा बराबरी, कुरामा बराबरी भए पनि पारिश्रमिक बराबरी छ  ? प्रश्न यहाँ उठ्छ ।” चलचित्रमा महिलालाई भूमिकादेखि पारिश्रमिकसम्म समान व्यवहार हुनुपर्ने उहाँको धारणा थियो । 

“काठमाडौँ महानगरपालिकाले क्रियटिभ सिटीका लागि फिल्म विधा छान्यो,” उहाँले भन्नुभयो, “हामीसँग भएको मूर्त अमूर्त सम्पदालाई राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरण गर्ने हो भने त्यसको बलियो औजार चलचित्र हो ।” चलचित्रबाट गीत, साहित्य, रहनसहन र सम्पदा सबै देखाउन सक्ने उहाँको भनाइ थियो । बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताउनुभयो । उहाँले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनलगायत चलचित्रकर्मीको सहभागिता थियो । महोत्सवको पहिलो दिन चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो ।