• २१ फागुन २०८१, बुधबार

‘बायोपिक चलचित्र बनाउनु चुनौतीपूर्ण’

blog

कास्की समाचारदाता

कास्की, फागुन २१ गते ।  अन्जिला तुम्बाप्पो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको क्याप्टेन हुनुहुन्छ । हाल उहाँ फुटबल खेल्नका लागि विदेशमा हुनुहुन्छ । यतिखेर उहाँको जीवनकथामा आधारित चलचित्र ‘अन्जिला’ प्रदर्शनको तयारीमा छ । पाँचथर जिल्लामा जन्मिनुभएकी अन्जिला कपडाको डल्लो बनाएर फुटबल खेल्न सुरुवात गरेकोदेखि फुटबल टिमको कप्तान हुँदासम्मका जीवनका सङ्घर्षलाई चलचित्रको ट्रेलरमा देखाइएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले अन्जिलाले जीवनमा भोगेका घटनालाई पर्दामा ल्याउन लागिएको बताउनुभयो । “चलचित्रमा करिब ९० प्रतिशत अन्जिलाको जीवनकथा छ । बाँकी अन्य चलचित्रमा हुनुपर्ने कुरा छन् । छिमेकी मुलुकमा ‘बायोपिक’ चलचित्रको राम्रो बजार भए पनि नेपालमा व्यावसायिक हुन नसकेको चाम्सको गुनासो छ । 

नेपालमा ‘बायोपिक’ चलचित्र कम बन्ने गरेको उहाँले सुनाउनुभयो । “बायोपिकका लागि लगानी गर्न खोजिँदैन । बायोपिक चलचित्र बनाउनु चुनौतिपूर्ण छ । यो चलचित्र चल्यो भने अन्य बायोपिक चलचित्र बन्नेछन्,” उहाँले भन्नुभयो । चाम्सले यसअघि ‘ब्यान्ड रक्स र वोवी’ नामक दुई बायोपिक चलचित्र निर्देशन गरिसक्नुभएको छ । अन्जिलामा अभिनय गर्नुभएका माओत्से गुरुङले चलचित्र विशेष रहेको सुनाउनुभयो । उहाँले अन्जिलालाई खेलाडीका रूपमा चिनिए पनि चलचित्रबाट उहाँको जीवनको सङ्घर्ष बुझ्न सकिने सुनाउनुभयो । अन्जिला फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।