काठमाडौँ, फागुन २१ गते । ललितपुर महालक्ष्मी नगरपालिका–५, टीकाथलीमा मङ्गलबार पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्केको छ । पानीको समस्या भएपछि टीकाथली खानेपानी तथा उपभोक्ता समितिको पहलमा शान्तिदीप टोलमा खनेको बोरिङको पाइपबाट बाहिर निस्केको ग्यासमा एक्कासि आगोको ज्वाला दन्किन थालेपछि नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्यो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार लामो समयको प्रयासपछि आगो नियन्त्रणमा आयो । यस क्रममा कुनै मानवीय तथा भौतिक क्षति हुन पाएन ।
खानेपानीको स्रोतका बोरिङ पाइप गाडेर सकेपछि अन्तिममा वेल्डिङ गर्ने क्रममा ग्यासमा आगो सल्किएको र पानीको फोहोरा तथा चिसो बोरालगायतका स्थानीय वस्तुको प्रयोग गरी आगो नियन्त्रणमा लिएपछि सो क्षेत्र ‘सिल’ गरिएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कपिल केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार मङ्गलबार बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको थियो । उक्त घटनाबारे खानी तथा भूगर्भ विभाग तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई जानकारी गराई अध्ययनका लागि आग्रह गरिएको पनि केसीले जानकारी दिनुभयो ।
वडाध्यक्ष केसीका अनुसार करिब नौ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो । पानी हाल्दा झन् बल्ने भएकाले आगो निभाउन समस्या भएको थियो । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता मोनिका झाले टीकाथलीमा बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्केकोबारे अध्ययन भइरहेको बताउनुभयो ।
उहाँले विगतमा पनि काठमाडौँको धेरै स्थानमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किने गरेको र यो ग्यासमा आगो लाग्ने गरेको तथा टीकाथलीको पनि त्यस्तै घटना दोहोरिएको हुन सक्ने उहाँले बताउनुभयो ।झाले भन्नुभयो, “काठमाडौँ उपत्यकामा यस्ता घटना पहिले पनि भएका थिए । विशेष गरी प्राकृतिक वस्तु सडेर झन्डै तीन सय फिट जमिनमुनिको सतहमा पानीसँगै रहने मिथेन ग्यास बोरिङ खन्ने क्रममा बाहिर निस्कने र त्यसमा सजिलै आगो बल्ने गरेको छ ।”
खानी तथा भूगर्भ विभागले विसं २०३४ मा गरेको अध्ययनमा काठमाडौँ उपत्यकामा झन्डै तीन सय घनमिटरमुनि मिथेन ग्यास रहेको पाइएको थियो तर यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारे सरोकारवाला निकायको त्यत्ति ध्यान पुगेको भने देखिएको छैन । विभागका प्रवक्ता झाका अनुसार पानीसँगै फैलिएको यस्तो मिथेन (प्राकृतिक) ग्यास सिलिन्डर जस्ता कुनै पनि भाँडामा जम्मा गरेर प्रयोगमा ल्याउन भने सकिँदैन । विभिन्न भूभागमा रहने यस्ता ग्यासको पहिचान गरी सीमित समयका लागि कारखाना, अस्पताल वा त्यस्तै सामुदायिक भवनमा यस्ता ग्यासको प्रयोग गरी ठुलो लाभ लिन सकिने अवस्था छ ।
केही वर्षअघि खानी तथा भूगर्भ विभागले ललितपुरको कुपन्डोलमा फेला परेको यस्तो मिथेन ग्यासलाई पाइपलाइनमार्फत टेकुस्थित शुव्रmराज ट्रपिकल सरुवा रोग अस्पतालमा लगी परीक्षणका रूपमा सफल प्रयोग गरिएको थियो ।