• २० फागुन २०८१, मङ्गलबार

शिक्षक आन्दोलन बलियो भएमा उपलब्धि पनि बलियो हुन्छ : अध्यक्ष सुवेदी

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २० गते । नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बलियो भएमा उपलब्धिहरू पनि बलियो हुने बताउनुभएको छ । 

गुल्मीको तम्घासमा भएको नेपाल शिक्षक सङ्घ गुल्मीको १९ औं जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षक महासङ्घ बलियो भएमा शिक्षक आन्दोलनसँगै उपलब्धिहरू पनि बलियो हुने बताउनुभएको हो ।

शिक्षक आन्दोलनलाई बलियो बनाउन देशभरका शिक्षकहरू एकताबद्ध भ प्रत्येक विद्यालयका शिक्षकलाई सदस्य बनाउन जरुरी रहेको भन्दै उहाँले शिक्षक आन्दोलनप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । शिक्षक सबैले आफ्नो जिम्मेवारीसँगै कर्तव्य र सीमा बुझ्नुपर्ने बताउनुभयो । शिक्षक समाजको मार्गदर्शक भएको हुँदा आफ्नो पेसाप्रति निराशा हुन नहुने उहाँले बताउनुभयो ।

शिक्षकका हरेक आन्दोलन उपलब्धिमूलक भएको भन्दै अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनका क्रममा भएका विभिन्न सम्झौताहरू ऐनसँग जोडिएकोले तत्काल ऐन जारी गर्न दबाब दिएको बताउनुभयो । विगतमा आन्दोलनबाट धेरै महत्त्वपूर्ण कामहरू भएको हुँदा हरेक प्रकारका शिक्षकका मागहरू आन्दोलनबाटै विस्तारै सम्बोधन भएको भन्दै सबै शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी शिक्षा ऐन जारी गर्न आफुहरू निरन्तर लागेको बताउनुभयो ।

पछिल्लो समय स्थानीय तहबाट शिक्षकलाई धेरै अन्याय भएको धेरै गुनासो आएको भन्दै उहाँले शिक्षकलाई अन्यायबाट मुक्त बनाउन शिक्षकका हरेक सङ्घ संस्थाहरूलाई बलियो जरुरी रहेको बताउनुभयो । शिक्षकका समस्या समाधानका लागि सबै शिक्षकहरू एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ । शिक्षकका हरेक आन्दोलन निकै अग्रगामी भएको भन्दै पछिल्लो आन्दोलनका कारण राज्यले शिक्षकलाई सुन्न बाध्य भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

हरेक शिक्षकले आफू र आन्दोलनलाई विश्वास गर्न जरुरी रहेको हुँदा शिक्षा ऐन शिक्षककै आन्दोलनलाई निरन्तरता दिएमा छिटै जारी हुन सक्ने बताउनुभयो । त्यस्तै, ट्रेड युनियन आन्दोलन कमजोर बनाउन विभिन्न पक्षबाट लागिएको हुँदा ट्रेड युनियन आन्दोलन कमजोर भएमा ट्रेड युनियनकर्मी र पेसाकर्मीको भविष्य नरहेको बताउनुभयो । 

ट्रेड युनियन आन्दोलनलाई बलियो बनाउन पेसागत सङ्घ संस्थालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।