• २० फागुन २०८१, मङ्गलबार

भूकम्प प्रभावितले पहिलो किस्ता चाँडै पाउने

blog

फाइल तस्बिर ।

धनगढी समाचारदाता

धनगढी, फागुन २० गते । डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने भएका छन् । धनगढीमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले प्रभावितले चाँडै पहिलो किस्ता पाउने बताउनुभएको हो । उहाँले अर्को हप्ताबाट पहिलो किस्ता वितरण गर्न थाल्ने उल्लेख गर्नुभयो । भुसालले भन्नुभयो, “अब हामी अर्को हप्तादेखि डोटीका भूकम्प प्रभावितलाई आवास निर्माणका लागि पहिलो किस्ता दिन सुरु गर्छौं ।” 

पहिलो किस्ताबापत प्रभावितलाई ५० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । २०७९ कात्तिक २३ गते डोटीको पूर्वी चौकी गाउँपालिका–३ केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी छ जनाको मृत्यु भएको र आठ जना घाइते भएका प्राधिकरणको स्थिति अवलोकन रिपोर्टमा उल्लेख छ । भूकम्पको धक्काले डोटीसहित अछाम, बाजुरा, बझाङ, डडेलधुरालगायतका जिल्लामा क्षति भएको थियो । यसैगरी प्राधिकरणका कार्यकारी प्रमुख भुसालले प्राधिकरणले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सामुदायिक स्वयंसेवक उत्पादन गर्ने बताउनुभयो । त्यसका लागि एक महिनाभित्रै देशैभरि तालिम सञ्चालन गर्ने उहाँको भनाइ छ ।