• २० फागुन २०८१, मङ्गलबार

विद्यालयमा छात्रवृत्ति कोष स्थापना

blog

अमरगढी समाचारदाता

डडेलधुरा, फागुन २० गते । दुई दशकदेखि पत्रकारिता गर्दै आइरहेका पत्रकार वरुण पनेरूले डडेलधुराका तीन वटा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । 

आफ्ना बाजे र बुवाले अध्ययन अध्यापन गरेका तीन वटा सामुदायिक विद्यालयमा उहाँले छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । उहाँले आफ्नो आम्दानीको १० प्रतिशत छुट्याई विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेको बताउनुभयो । उहाँले भागेश्वर गाउँपालिका–२, रूपालमा रहेको असीग्राम मावि र भागेश्वर गाउँपालिका–३, बोगटाको सरस्वती नमुना माविमा २५/२५ हजार रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । यी दुई विद्यालयमा उहाँका बाबुबाजे अध्ययन गर्नुभएको थियो ।  

उहाँ पढेको एवं उहाँका बुवाले अध्यापन गर्नुभएको परशुराम नगरपालिका–६, चन्दनीको सिद्धनाथ माविमा एक लाख रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्ने उहाँले बताउनुभयो । सिद्धनाथ माविको आइतबार भएको स्वर्णजयन्ती तथा अभिभावक दिवसका अवसरमा हाल ५० हजार रुपियाँको छात्रवृत्ति कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्ना स्वर्गीय बुवा कृष्णप्रसाद पनेरूका नामबाट स्वर्गीय कृष्णप्रसाद अध्ययन छात्रवृत्ति कोष स्थापना गरेको बताउनुभयो । उहाँका बुवा सिद्धनाथ माविको प्रधानाध्यापक रहेको समयमा २०५३ मङ्सिर ९ गते सडक दुर्घटनामा परेर निधन भएको थियो । विद्यालयलाई कक्षा ८ सम्मको अनुमतिका लागि जिल्ला सदरमुकाम डडेधुरा जाँदै गर्दा उहाँका बुवाको भीमदत्त राजमार्गको गैराबजारनजिक गोगनपानीमा बस दुर्घटना हुँदा निधन भएको थियो ।

विसं २०६१ देखि स्थानीय सञ्चार माध्यमबाट पत्रकारिता सुरु गरेका पनेरू नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष हुनुहुन्छ । उहाँ पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ ।