• २० फागुन २०८१, मङ्गलबार

मदन भण्डारी राजमार्ग : स्तरोन्नति तीव्र गतिमा

blog

रिडी–तम्घास सडक स्तरोन्नति गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, फागुन २० गते । मदन भण्डारी राजमार्गको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । गुल्मीको रिडी–तम्घास सडकखण्ड ट्र्याक खुलेको ४३ वर्षपछि स्तरोन्नति भइरहेको हो । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरोन्नतिको काम भइरहेको कार्यालयले जनाएको छ । 

फागुनको दोस्रो सातासम्म ५५ प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा आठ किलोमिटर कालोपत्रे, तीन किलोमिटर ढलानको काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको उहाँको भनाइ छ । 

यस अवधिमा २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेलको काम पनि सम्पन्न हुने पौडेलले बताउनुभयो । सडक कटिङको काम सकिएको समान्तर इलाइट जेभीले जनाएको छ । 

पुरानो बाटो साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदै छ । पहिलो चरणमा २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडकखण्डमा समान्तर इलाइट जेभीले निर्माणको काम गर्दै आएको छ । 

२०७९ फागुन २८ गते सम्झौता भई २०८२ फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँ लागतमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलो पटक ट्याक्टर आएको थियो । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी–पुर्कोट हुँदै प्युठान जोडिएको छ । 

राजमार्गको तम्घास–सिमलटारी खण्डको २९ किलोमिटर पाँच वर्षपहिले कालोपत्रे भएको थियो । सिमलटारी–सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडि बढेको छ । सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । मदन भण्डारी राजमार्गको सिमलटारी–सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौँले निर्माण कार्य गर्दै आएको छ । सडकको एक अर्ब ४५ करोड ३२ लाख नौ हजार ९९० रुपियाँ लागतमा निर्माण हुँदै आएको छ ।