प्रेम अधिकारी जलविद्युत्
पशुपतिनगर, फागुन २० गते । निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्याेदय नगरपालिका–५ को सिमाना भएर बग्ने सिद्धिखोलामा निर्माणाधीन १० मेघावाट क्षमताको विद्युत् योजनाको पाइप लाइन विस्तारका व्रmममा रोङ–६ का आधा दर्जन घर जोखिममा परेका हुन् ।
आयोजनाका कारण स्थानीय विव्रmम राई, गणेश राई, मैतसिङ राईको घर पहिरोको जोखिममा परेका छन् । आयोजना निर्माणका कारण यी घरभन्दा तलका घर पहिरोको जोखिममा परेको भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पौडेलले जानकारी दिनुभयो । स्थानीय विव्रmम राईले आयोजनाका कारण घर जोखिममा पर्दा आफूहरूको बिचल्ली भएको बताउनुभयो । उहाँले घरमाथिबाट पहिरो खसिरहेका कारण जतिबेला पनि घर बगाउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँ जस्तै अन्य पीडितले आफ्ना घर जोखिममा परेको भन्दै रोङ गाउँपालिकामा मौखिक उजुरी गरेपछि गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो, उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. ६ का वडाध्यक्ष सत्यम राई, स्थानीय सरोकारवालासहितले गत पुस २५ गते छलफल गरी निर्माणाधीन आयोजनाको स्थलगत अनुगमनसमेत गरिएको थियो । अनुगमनपछि समस्या समाधानका लागि पटक पटक हाइड्रो कम्पनीसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनुभयो ।
सिद्धि हाइड्रो कम्पनीका सरोज पौडेलले केही घर समस्यामा परेको भए पनि तत्काल उक्त स्थानमा सुरक्षाका उपाय अपनाइने बताउनुभयो । उहाँले पहिरो जाँदा हाइड्रोपावरलाई ठुलो आर्थिक क्षति हुने हुँदा हाइड्रोपावरसँगै स्थानीयको घरको सुरक्षाका उपाय कम्पनीले अपनाएर निर्माण गरिरहेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “जति सक्दो छिटो काम सकेर जोखिम कम गर्ने तयारी भइरहेको छ । बर्खा लाग्नुअघि हामीले उहाँहरूको व्यवस्थापन गर्छौं ।”
लामो समयदेखि चर्चामा रहेको निर्माणाधीन सिद्धि हाइड्रोपावरको हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको छ भने आगामी वैशाखसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।
इलामको सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकाबिचबाट बग्ने खोलामा विद्युत् विकास बोर्डले २०६९ पुस २४ मा ऊर्जा मन्त्रालयमार्फत वातावरणीय अवस्था परीक्षण प्रतिवेदन स्वीकृत गरी स्वीकृति दिएको थियो । ३५ वर्ष बहाल रहने गरी अनुमती जारी गरेपछि सिद्धि हाइड्रो कम्पनीले २०८१ कात्तिक २६ गते थप अध्ययनका लागि विद्युत् विकास विभागबाट सहमति प्राप्त गरेको थियो । आयोजनाको निर्माणाधीन हेडबक्स रोङ–६ र सूर्योदय–५ को गोरखखोलाको एक हजार पाँच सय मिटरमाथि रहेर विद्युत्गृह एक किलोमिटर तल निर्माण गरिएको छ ।
एक अर्ब ८४ करोड ६४ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गरी त्यसबाट उत्पादित विद्युत् १६ किलोमिटर टाढा झापा इलामको सिमाना सुनमाईमा सबस्टेसन निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने योजना रहेको सिद्धि हाइड्रोपावर कम्पनीका सञ्चालक सन्तोषराज नेपालले जानकारी दिनुभयो ।