खलङ्गा समाचारदाता
जाजरकोट, फागुन २० गते । जाजरकोट नलगाडका बादी समुदायको पुख्र्यौली पेसा लोप हुन थालेपछि उनीहरूको जीविकोपार्जनमा समस्या भएको छ । खोला र नदीको किनारमा मादल र माछाबाट खर्चको जोहो गरेका बादी समुदायको पुख्र्यौली पेसा लोप हुन थालेपछि समस्यामा परेका हुन् ।
नदी, खोलामा माछा मारी, मादलको व्यापारबाट बिहान बेलुकाको छाक जुटाउन मुस्किल हुने गरेको छ । व्यवसाय गर्ने इच्छा भए पनि स्थानीय सरकारले सिप, क्षमता विकासका अवसरमा समावेश नगरेका कारण उनीहरूलाई खान लगाउन मुस्किल हुने गरेको छ । नलगाड नगरपालिका–७, नलगाड खोला किनारमा पुर्खौंदेखि मादल बनाउने, माछा मारेर खर्च जुटाउँदै आएको समुदाय पछिल्लो समय मादलको माग कम भएपछि समस्यामा परेका छन् । नलगाड नगरपालिका–७ का रामबहादुर बादीका अनुसार अल्पसङ्ख्यक बादी ४५, दलित २० घरपरिवारले मजदुरी र माछा मारेर जीविकोपार्जन गरेका छन्
उहाँले बुवाले मादल बनाउनु हुन्थ्यो, मादल बनाउने र माछा मारेर बिक्री गरेको रुपियाँले खर्च धानेको स्मरण गर्दै अहिले मादल बिक्री हुन छोडेपछि माछाबाट मात्र कमाएको रकमले खान र बालबालिकालाई कापीकलम किन्न धौ धौ हुने गरेको बताउनुभयो । केही वर्षअघिसम्म दसैँ तिहारलगायतका चाडपर्व, विवाहमा गाउँबस्तीमा मादलको माग हुने गरेको भन्दै पछिल्लो समय साउन्ड सिस्टमका सामग्री भित्रिएपछि मादलको माग घटेको उहाँले जनाउनुभयो ।
गत वर्ष कात्तिक १७ को भूकम्पले घर भत्किएपछि दातृ नियकाले दिएको सहयोगले अस्थायी टहरा बनाएर बसेका उनीहरू गरिब भएका कारण व्यवसाय गर्ने पुँजीसमेत छैन । गाउँको घर भूकम्पले भत्किएपछि श्रम रोजगारी गरी छोराछोरीलाई पढाउन नलगाड हाइड्रोपावर निर्माण स्थल दल्लीमा श्रम रोजगारीबाट जीविकोपार्जन गरेको हिरालाल विकले बताउनुभयो ।