विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्याङ्कले भन्छ, मुलुकमा हाल सञ्चालनमा रहेका एक हजार ४३२ वटा क्याम्पसमध्ये ५०५ क्याम्पसमा एक सयभन्दा कम विद्यार्थीले पढिरहेका छन् । त्यही गतिमा क्याम्पसहरूमा विद्यार्थी घट्दै जाने हो भने मुलुकको उच्च शिक्षा क्षेत्र थप सङ्कटग्रस्त हुनेमा दुई मत छैन । कस्तो सङ्कट हामी भोग्दै छौँ र त्यसलाई हामीले थेग्न सक्छौँ कि सक्दैनौँ भन्ने विषयमा यसका जिम्मेवार व्यक्ति तथा निकायमा पर्याप्त चिन्तन भएको देखिँदैन ।
सरकारकै अर्को तथ्याङ्कले भन्छ, छ महिनाको अवधिमा वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झन्डै ५६ अर्ब ८३ करोड रुपियाँ बराबर खर्च गरेका छन् । हरेक दिन झन्डै तीन सय जति विद्यार्थी उच्च शिक्षा अध्ययनका क्रममा देशबाट बाहिरिरहेको अर्को तथ्याङ्क पनि छ । अर्कातर्फ मुलुकमा सङ्घीय तथा प्रादेशिक विश्वविद्यालय खुल्ने क्रम पनि रोकिएको छैन । आगामी कति समयसम्म अरू विश्वविद्यालय आवश्यक पर्छ वा पर्दैन भन्ने विषयमा बहस भएको देखिँदैन । हाल सञ्चालनमा रहेका विश्वविद्यालयको सुझबुझपूर्ण टिकाउ र सञ्चालनका क्रममा रहेकालाई सञ्चालनको विषयमा स्पष्ट मार्गदर्शन हुनु पर्छ, अन्यथा यसैले पनि भविष्यमा अर्को समस्या थोपर्न सक्छ । यो मामलामा राज्यले विचार गर्नु पर्छ । धेरै विश्वविद्यालय खुल्दैमा शिक्षा राम्रो हुने, विद्यार्थी पलायन हुनबाट रोकिने, ज्ञान सिपको दायरा फराकिलो हुने, शिक्षाको गुणस्तर वृद्धि हुने वा शिक्षामा फड्को मार्न सकिन्छ भन्ने सोच गलत हुन सक्छ । भइरहेका विश्वविद्यालयलाई कसरी अब्बल र गुणस्तरीय बनाउने भन्ने सोच हुनु पर्छ ।
पछिल्लो समय भारतमा ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली छात्रामाथि घटेको घटनाबाट उत्पन्न विवाद अझै साम्य भएको छैन । मृतक छात्रालाई न्याय दिनु पर्छ, दोषीलाई कडा कानुनी कारबाही गरेर त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षा प्रबन्ध राम्रो हुनु पर्छ । किट विश्वविद्यालयमा मात्रै एक हजार पाँच सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अपुष्ट तथ्याङ्क सार्वजनिक भएको छ । एक हजारभन्दा धेरै नेपाली विद्यार्थी अध्ययन गरिरहेको अन्य विश्वविद्यालय पनि भारतमा प्रशस्तै रहेको बताइएको छ । यहाँनेर उठाउन खोजिएको प्रसङ्ग के हो भने नेपालका विश्वविद्यालय तथा क्याम्पस विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्दै गर्दा केही दुरीको अन्तरालमा रहेका भारतीय शैक्षिक संस्थामा किन यति धेरै विद्यार्थी पढ्न गइरहेका छन् ? भारतको शैक्षिक संस्थाको कुन विषयले नेपाली विद्यार्थीलाई आकर्षित गर्यो र नेपालमा अध्ययन गर्न नखोज्नका कारण के भन्ने विषयमा गहन खोजी गर्नुपर्ने देखिन्छ । मुलुकको उच्च शिक्षामा गुणात्मक सुधार गर्ने हो भने अबको बहस यिनै विषयको सोधीखोजीबाट सुरु गर्नु पर्छ ।
स्वदेशमा विश्वविद्यालय थपिँदै जाने तर विद्यार्थी पढ्न भारत, अमेरिका, अस्ट्रेलियालगायतका मुलुकतर्फ लाग्ने अनि यहाँका क्याम्पसमा विद्यार्थी घट्दै जाने अवस्थाले हाम्रा उच्च शिक्षाप्रदायक शैक्षिक संस्थाको भविष्य कतातर्फ जाँदै छ भन्ने स्पष्ट भएको छ । यही अवस्थाले निरन्तरता पाइरह्यो भने यहाँ भइरहेका क्याम्पस कि मर्ज गर्नुपर्ने कि त बन्द गर्नुपर्ने अवस्था आउँछ । जुन अवस्था आउनु विडम्बना हो । यस्तो अवस्था आउनुको मुख्य कारण देशलाई कुन विषयमा कति जनशक्ति आवश्यक छ भन्ने विषयमा पर्याप्त अध्ययन नहुनु पनि एक हो । यस विषयमा राष्ट्रिय योजना आयोगले प्रशस्त अध्ययन गर्नु पर्छ र सोही अनुसार विश्वविद्यालय तथा शैक्षिक संस्थाको स्थापना र भर्नाको सिट तोकिनु पर्छ । अहिले त यहाँका विश्वविद्यालय भर्टिकल्ली (आफूखुसी विद्यार्थी भर्ना गरेर) अगाडि बढिरहेका छन् भने राज्यसँग कुन क्षेत्रमा कति जनशक्ति चाहिने हो त्यो योजना तथा तथ्याङ्कसमेत छैन ।
विद्यार्थीलाई यतै टिकाउने हो भने शिक्षालाई ज्ञानमुखी, जीवनमुखी, अनुसन्धानमुखी, समाजमुखी, प्रविधिमैत्री, गुणस्तरीय र व्यावहारिक बनाउनु पर्छ । विद्यार्थीले पढिसकेपछि ज्ञानलाई आयात वा प्रयोग गरेर कमाउन सक्ने वातावरण तयार गर्नु पर्छ । शिक्षाले विद्यार्थीलाई ‘वर्क इज वर्सिप’ भनेर सिकाउनु पर्छ । हरेक विद्यार्थीलाई सिप सिक्ने वातावरण तयार गर्नु पर्छ । हरेक विद्यार्थीले कोर नलेज जान्नुपर्ने वातावरण तयार गर्नु पर्छ । बेरोजगार उत्पादन गर्ने शिक्षा हुनुभएन । विद्यार्थी शिक्षित मात्र भएर हुँदैन, गरिखान सक्ने हुनु पर्छ, यसका लागि प्राविधिक शिक्षामा जोड दिनु पर्छ । पढिसकेपछि रोजगारी सुनिश्चित हुनु पर्छ भने पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिएमा मात्रै देशको उच्च शिक्षालाई आशालाग्दो र भरोसायोग्य बनाउन सकिन्छ । उच्च शिक्षालाई साँच्चिकै विद्यार्थीमैत्री बनाउने हो भने शैक्षिक क्यालेन्डरमा भर्ना गर्ने मिति, रजिस्ट्रेसन फाराम, परीक्षा फाराम भर्ने मिति, परीक्षा, नतिजा प्रकाशित गर्ने मिति र दीक्षान्त समारोह हुने मिति पनि तोक्नु पर्छ ।
नेपालका विश्वविद्यालयमा भर्ना गर्नका लागि लामो समयसम्म नतिजा कुनुपर्ने, प्रवेश परीक्षा दिनुपर्ने र प्रवेश परीक्षामा उत्तीर्ण हुनपर्ने व्यवस्था छ । विद्यार्थीले लामो प्रक्रिया पूरा गरेपछि मात्रै मात्र भर्ना हुन पाउने व्यवस्था छ । विदेशी विश्वविद्यालयबाट नेपालमा सञ्चालन गरेको कार्यक्रममा १२ को परीक्षा सकिएपछि सिधै भर्ना गर्न पाउने व्यवस्था गरिएको छ । साथै नेपालमा वर्षमा एक पटक मात्र भर्ना गर्ने प्रक्रिया छ भने विदेशी विश्वविद्यालयबाट सञ्चालन गरेको कार्यक्रममा वर्षको दुई पटक भर्ना गर्न पाउने व्यवस्था छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका धेरै शैक्षिक कार्यक्रम तीन वर्षका छन् भने नेपालको विश्वविद्यालयमा चार वर्षको छ । यी सबै बेमेललाई हटाएर मुलुकमा पढाइ हुने उच्च शिक्षाको सम्पूर्ण कार्यक्रम तथा तालिका एकैप्रकारको बनाउनु पर्छ ।
विदेशी विद्यार्थीलाई भ्रमण भिसामा मात्रै आउन पाउने प्रावधानलाई हटाएर विद्यार्थीकै हैसियतको प्रवेशाज्ञाको प्रावधान लागु गर्नु पर्छ । साथै उनीहरूलाई छात्रवृत्तिको प्याकेज दिनु पर्छ । विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने प्रावधान राखेर पाठ्यक्रम बनाउनु पर्छ । नलेज इकोनोमीमा सहकार्य गर्र्नु पर्छ । दस जोड दुईमा जुन विषय पढेको भए पनि स्नातकमा जुनसुकै विषयमा पनि पढ्न चाहनेलाई अवसर दिनु पर्छ । विद्यार्थीलाई पेसागत ज्ञान दिनु पर्छ । यसका लागि पाठ्यक्रममै पुनर्संरचना हुनै पर्छ । शैक्षिक संस्था र कर्पोरेट हाउससँग सहकार्य गरेर विद्यार्थीले सिकेको कुरालाई व्यवहारमा उतार्ने मौका दिनु पर्छ साथै रोजगारीको व्यवस्था गर्नु पर्छ । आविष्कार केन्द्रको विस्तार, सुविधासम्पन्न प्रयोगशाला साथै सेन्टर अफ एक्सिलेन्सको स्थापना गर्नु पर्छ । विश्व बजार प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनु पर्छ । अन्तिम वर्षको पढाइलाई फोकस गर्नुभन्दा पनि सिपसँग, रोजगारी, गरी खाने वा उद्यमशीलतामा जोड दिनु पर्छ । यति गर्न सकियो भने मुलुकलाई उच्च शिक्षाको शैक्षिक गन्तव्य बनाउनसमेत कठिन हुँदैन ।
अर्को कुरा, मुलुकको शिक्षामा तथा अनुसन्धानमा बजेट बढाउनु पर्छ । प्रत्येक विद्यार्थी अनुसन्धानमा जोडिनु वातावरण तयार गर्नु पर्छ । बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा पर्नु पर्छ । परीक्षा प्रणालीमा परिवर्तन आवश्यक छ । वर्षभरिको अध्ययनलाई तीन वा चार घण्टामा मापन गर्ने पुरानो प्रणालीमा फेरबदल गर्नु पर्छ । विद्यार्थी मूल्याङ्कन ४० प्रतिशत वर्ष वा सेमेस्टरको अन्तिममा परीक्षामार्फत र ६० प्रतिशत शिक्षकले मूल्याङ्कन गर्न पाउने व्यवस्था हुनु पर्छ । समयमा नै नतिजा प्रकाशित गर्नै वातावरण तयार गर्नुका साथै अनुत्तीर्ण भएका वा परीक्षामा सामेल नभएका विद्यार्थीलाई हरेक वर्ष मौका परीक्षा दिने अवसर प्रदान गर्नु पर्छ ।
विद्यार्थी परीक्षामा उत्तीर्ण भए पनि आफूले प्राप्ताङ्कमा चित्त बुझेन र फेरि परीक्षा दिन चाहेमा दिनु पर्छ । पुरानै परम्परागत तरिकाबाट परीक्षा चलाउनु पर्छ भन्ने बाध्यता छैन र हुन पनि हुँदैन । विद्यार्थीले सेवा एकद्वार प्रणालीबाट सेवा पाउनु पर्छ । सम्बन्धित डिन कार्यालयमार्फत नै भर्ना, परीक्षा फाराम, रजिस्ट्रेसन, परीक्षा, मौका परीक्षा, नतिजा प्रकाशन, प्रमाणपत्र वितरण र अनुसन्धानको व्यवस्था मिलाउनु पर्छ । यसो गरेमा छुट्टै परीक्षा नियन्त्रण कार्यालय र गोप्य शाखाको आवश्यकता पनि पर्दैन ।
ज्ञान उत्पादन गर्ने थलो भनेको विश्वविद्यालय हो । विश्वविद्यालयको शिक्षा अनुसन्धानकेन्द्रित हुनु पर्छ । अनुसन्धानबाट देशका मूर्धन्य समस्यालाई सम्बोधन गर्न सकिन्छ । नेपाली विद्यार्थीलाई नेपालमै बसेर पढूँ पढूँ लाग्ने वातावरण तयार गर्नु पर्छ । विदेशी विद्यार्थीलाई पनि नेपालमा अध्ययन गर्ने अवसर बनाउने र समयको माग अनुसार पाठ्यक्रम बनाउनु पर्छ । सजिलै क्रेडिट ट्रान्सफरको व्यवस्था हुनुपर्छ । उच्च शिक्षामा भर्ना गर्दा हाँसेर वा खुसी भएर गर्ने, पढिसकेपछि वा प्रमाणपत्र लिने बेलामा दुःखी हुनु पर्ने वा अवसरको खोजीमा भौँतारिनुपर्ने, रुनुपर्ने अवस्था आउन नदिन राज्यले रोजगारी सुनिश्चित गरिदिनु पर्छ ।
शिक्षाबिना राष्ट्र समुन्नत हुन सक्दैन, शिक्षालाई सुधार गर्न सके मात्र देश समृद्ध बन्छ । संसद्, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका पदाधिकारी, बुद्धिजीवी, विद्यार्थी सङ्घ सङ्गठन वा सरोकारवालाबिच व्यापक छलफल गरी उच्च शिक्षामा विद्यार्थीलाई आशालाग्दो र भरोसालाग्दो वा विश्वासलाग्दो वातावरण तयार गर्नु पर्छ । विश्वविद्यालय थिङ्क ट्याङ्क हो र यसबाट उत्पादन हुने व्यक्ति पनि थिङ्क ट्याङ्क नै भएर निस्कन सक्नु पर्छ । यी प्रबन्ध गर्न सकिएमा विद्यार्थीलाई नेपालका विश्वविद्यालय कि विमानस्थल भनेर प्रश्न गर्दा पक्कै पनि विश्वविद्यालय नै भन्ने छन् । नेपालमा अवसरैअवसर छ, सम्भावनैसम्भावना छ भनेर देखाउनु पर्छ । नेपालमा केही छैन, खत्तम भयो, अवसर छैन, बस्नलायक छैन, गरिखाने उपाय छैन भन्ने जुन भाष्य विकसित भएको छ, त्यो चिर्नु पर्छ । त्यो चिर्नलाई भाषा र भनाइबाट मात्र होइन, व्यवहारमा देखिनु पर्छ ।