• २० फागुन २०८१, मङ्गलबार

आज लदि पर्व माझी समुदाय

blog

फाइल तस्बिर

राममणि दाहाल

हेटौँडा, फागुन २० गते । प्रकृतिका पूजक माझी समुदायले आफ्नो पर्व आज मङ्गलबार लदि पूजा मकवानपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । नोल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा लदि पूजाका अवसरमा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामूहिक रूपमा विशेष कार्यक्रम गरी मनाइने भएको हो ।

सङ्घका अध्यक्ष चिनीमाया माझीले लदि पूजा माझी समुदायको प्रमुख चाड भएको भन्दै यस पर्वका अवसरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गर्न लागेको जानकारी दिनुभयो । सङ्घका महासचिव बविन्द्र माझीले माझी समुदाय देशका विभिन्न भागमा छरिएर रहेको भन्दै पर्वका अवसरमा पहिलो पटक मकवानपुरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । 

लदि पूजाका अवसरमा आज बकैया गाउँपालिकाको जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामा तामाङको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम तय भएको छ । लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदासमेत दिएको छ ।

यस्तै मकवानपुरको बकैया र बागमती गाउँपालिकाले लदी पर्वका अवसरमा स्थानीय बिदा गरेका छन् । माझी समुदायले लदि पूजा फागुन महिनाको तेस्रो (साइँली) मङ्गलबार गर्ने प्रचलन रहेको छ । 

माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायः जसो नदी किनारमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्दछन् । माझी भाषा बोल्ने ३२ हजार ९१७ जनसङ्ख्या रहेको तथ्याङ्क छ ।