गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । प्राध्यापक पी खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एन्ड बियोन्ड दी बोडर्स’ सार्वजनिक गरिएको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रमबिच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेललगायतले सो पुस्तकलाई संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
शिक्षाध्यक्ष प्राडा केसीले प्राध्यापक खरेलको लेखकीय क्रियाशीलता र लगनशीलता अरूका लागि उत्प्रेरणाको काम गरिरहेको चर्चा गर्नुभयो । प्राध्यापन पेसामा खरेल एक ‘आइकन’ रहनुभएको चर्चा गर्दै उहाँले सार्वजनिक पुस्तकले अध्ययन, अध्यापनमा अनुशासनको पाठ सिकाउने विश्वास व्यक्त गर्नुभयो । अध्ययन, अध्यापनका लागि पुस्तक उपयोगी रहेको उहाँको भनाइ थियो ।
लेखक तथा प्राध्यापक खरेलले पूरा जीवनै अध्ययन र लेखनमा लगाउनुभएको चर्चा गर्दै उहाँले सार्वजनिक पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण गर्न र अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित भएको चर्चा गर्दै प्रकाशित नयाँ कृति पाठकका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । कुल २९५ पृष्ठको सो पुस्तकमा आठ खण्ड छन् ।