गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिनको अवस्था खुलाएर पठाउन पत्राचार गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि के कस्तो विषयमा छानबिन भइरहेको छ ? छानबिन कहिलेसम्म टुङ्गिन्छलगायतको विषयमा अहिलेसम्मको छानबिनको अवस्थाबारे प्रस्ट खुलाएर पठाउन महानगरपालिकालाई पत्र काटिएको जानकारी दिनुभयो ।
मन्त्रालयका शाखा अधिकृत पीताम्बर साहद्वारा काटिएको पत्रमा “प्रस्तुत विषयमा त्यहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो । सोसम्बन्धमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,” भनिएको छ ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मनान्धरले मन्त्रालयबाट प्राप्त पत्रको जवाफ सोमबार पठाइसकिएको जानकारी दिनुभयो । महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न पूर्वसचिव शङ्करप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर महानगरले समितिको प्रतिवेदन सार्वजनिक गरेको छैन ।
विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा काठमाडौँ महानगरपालिकाको सम्पूर्ण काम प्रभावित बन्दै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक प्रशासन र आर्थिक गतिविधि अवरुद्ध हुनुका साथै कर्मचारीको तलबसमेत रोकिएको छ । आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग मात्र हुन्छ । करिब २५ अर्ब रुपियाँ वार्षिक बजेट रहेको काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले मासिक दुई अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ ।
तर गएको पुस ८ गतेदेखि महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा उपस्थित हुनु भएको छैन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काठमाडौँ महानगरपालिकाको कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी नगराई कार्यालयमा उपस्थित हुनु भएन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहनुभएका गुरागाईंलाई गत भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ महानगरपालिकामा सरुवा गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काठमाडौँ महानगरपालिकामा अनुपस्थित हुनुभएकोबारे मन्त्रालयलाई कुनै जानकारी नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले बताउँदै आएको छ ।