• २० फागुन २०८१, मङ्गलबार

विद्यार्थीमा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि

blog

साहारा लिम्बू 

फुङ्लिङ, फागुन १९ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको भाइरल इन्फ्लुएन्जा ‘ए’ रोग भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्यापछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएपछि सो रोग पुष्टि भएको हो  । 

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिवेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा  ‘ए’ भएको पुष्टि भएको छ । स्वाव सङ्कलन गरिएकोमध्ये परीक्षण गरिएका १० जनामा कोरोना सङ्क्रमण र इन्फ्लुएन्जा ‘बी’ नदेखिएको प्रतिवेदन प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोशी प्रदेश जनस्वास्थ्य निर्देशक प्रकाश कार्कीले स्वाव परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा ‘ए’ का बिरामी बढी देखिए पनि यो आत्तिनुपर्ने समस्या नभएको जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । 

मेरिङदेन गाउँपालिका –५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जनज्योति आधारभूत विद्यालयका तीनसय बढि विद्यार्थी सहित केही शिक्षकहरू बिरामी भए पछि तीन दिनको लागि विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरूमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्नेजस्ता लक्षण देखिएको थियो । 

भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लुजस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने भएको भन्दै परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाइएको थियो ।