लमजुङ समाचारदाता
लमजुङ, फागुन १९ गते । वर्तमान समाजले भुल्दै गएको साइनो–सम्बन्ध हो, मितेरी । अहिलेका पुस्तासँग धेरैका ‘मित’ र ‘मितिनी’ छैनन् । दुई फरक भूगोल, फरक परिवेश, फरक पृष्ठभूमि, फरक संस्कृति, फरक समाज, फरक परिवार र फरक व्यक्तिलाई सम्बन्धका रूपमा जोड्ने सेतु हो, मितेरी सम्बन्ध । हराउँदै गएको मौलिक मितेरी सम्बन्धलाई जोगाउन भारतको आसाम र लमजुङका साहित्यकार तथा संस्कृतिकर्मीले अभियान थाल्नुभएको छ ।
मितेरी सम्बन्धले घनिष्ठ मित्र मात्र बनाउँदैन एकअर्काबिच सान्निध्य प्राप्त गराउँछ । यसले परस्पर दुई समुदाय, समाजबिच मित्रवत् सम्बन्ध स्थापित गराउने भएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको संस्कृतिकर्मीले बताउनुभएको छ । यस्तो मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्न भारतको आसामबाट आउनुभएका र लमजुङका १३ जना संस्कृति तथा साहित्यकर्मी जोडीले मित–मितिनी लगाउनुभयो । ठाडोभाका लोककला प्रतिष्ठानको निमन्त्रणामा नेपाली संस्कृति सुरक्षा परिषद् आसाम भारतका १३ जना संस्कृतिकर्मी लमजुङ आउनुभएको हो ।
सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा रहेको मितेरी सम्बन्ध जोगाउन लोकसंस्कृति एवं लोकसाहित्यिक पर्यटन मितेरी पदयात्रामा लमजुङ आएको परिषद्का अध्यक्ष एलबी प्रधानले बताउनुभयो । पौराणिक ग्रन्थमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वरुण दुई दाजुभाइको मित्रता निकै आदर्शयुक्त देखिन्छन् । “यिनीहरूको मित्रताले मित्रताको वास्तविक अर्थ र कर्तव्य राम्ररी ज्ञात हुन्छ,” प्रधानले भन्नुभयो ।
मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कारका रूपमा रहेको मित लाउने चलनलाई बचाउनुपर्ने ठाडोभाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडी बताउनुहुन्छ । “मित लगाउनु मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । मितेरी साइनो गाँस्न अनुहारको रूपरङ्ग, जातधर्म, वेशभूषा, उमेर आदिले बाधा बनाउँदैन्,” पहाडीले भन्नुभयो, “त्यसैले मित मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने र मिठास बाँड्ने सम्बन्ध हो ।”