रमेश विश्वकर्मा
गुल्मी, फागुन १८ गते । गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना एवम् गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ५३२ जनाले सेवा लिएका हुन् ।
तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार एक दिन मात्र सञ्चालन भएको शिविरमा इको २९६ जना, इसिजी २०४ जना र अन्य विभिन्न ल्याब परीक्षण १४६ जनाले गर्नुभएको रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटुरोग, मिर्गौला छातिरोगसहित विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधी निःशुल्क वितरण गरिएको छ । जनरल फिजिसियन चिकित्सकबाट सबै प्रकारका रोगहरुको चेक जाँच गरिएको हो ।
यस शिविरमा गुल्मी जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केहि स्थानका नागरिकहरुले समेत सेवा लिनुभयो । निःशुल्क रुपमा आफ्नै गाउँ ठाउँमा सेवा लिन पाउँदा नागरिकहरु खुसी देखिएका हुन् । शिविरमा रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पनि सहयोग रहेको थियो । त्यस्तै, नविल बैंक, एनएमबी बैंक, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, एनआइएमबी बैंक सहयोगी संस्थाका रुपमा थिए ।
त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले सबैले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । जनताको स्वास्थ्यप्रति राज्यका सबै तह संवेदनशील रहन जरुरी रहेको भन्दै उहाँले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएको हुँदा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख पन्थीले बताउनुभयो ।
रोग लाग्न नदिन स्वास्थ्यप्रति सबै सचेत हुन जरुरी छ । जनताको शिक्षा र स्वास्थ्यको क्षेत्रमा ख्याल गर्नु सरकारको प्रमुख दायित्व रहेको सहभागीहरुले बताएका छन् । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल केसी, डा. अभिषेक शाक्य, डा. जितप्रसाद घिमिरे र जनरल फिजिसियन डा. मिलन पोख्रेलसहितको ५५ जनाको टोलिले निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्नुभयो ।