नेपालको इतिहासमा जङ्गबहादुर एउटा दन्त्यकथाको पात्र जस्तै लाग्छ । साहस र दुस्साहसका पर्याय थिए उनी । उनैले सुरु गरेको जहानियाँ राणाशासन १०४ वर्षसम्म टिक्यो तर तिनकै छोरानातिले नेपालको शासन गर्न पाएनन् । आखिर कहाँ पुगे जङ्गबहादुरका सहोदर छोरा र नातिहरू ? परम्परागत वंशज अन्तर्गत कुँवर क्षेत्रीबाट ‘राणा’ उपाधि लिनका लागि जङ्गबहादुरले राजा सुरेन्द्रसँग लालमोहर माग्दा ‘हजुरका पुर्खा चितौडगढबाट पहाड पस्दा हाम्रा पुर्खा पनि सँगै आएका हुन्, हाम्रा पुर्खाले चाहिँ खसिनी राखेर हामी खस क्षेत्री भयौँ । अहिले सरकारको उदयमा हामीले हाम्रा पुर्खाको जातभात पाउने हौँ’ भनी जाहेर गरेका थिए (ज्ञानमणि नेपाल, ‘प्राचीन नेपाल’ सङ्ख्या ९०–कात्तिक–मङ्सिर २०४२ः३) । यस अनुसार जङ्गबहादुर कुँवरले विसं १९०५ वैशाख १३ गते राणा उपाधिको लालमोहर पाए । तर, १९१३ साउन १९ गते उनले राजा सुरेन्द्रसमक्ष एकाएक प्रधानमन्त्री र कमान्डर इनचिफको पदबाट राजीनामा चढाए । उनकै सल्लाहमा भाइहरूमध्ये बमबहादुर प्रधानमन्त्री र कृष्णबहादुर कमान्डर इनचिफ घोषित भए (राणा, २०६५ः६८) ।
घटनाकै भोलिपल्ट राजगुरु विजयराज पाण्डेको टोली जङ्गबहादुरको ढोकामा पुगी उनलाई देशको राजगद्दीमै बस्न आग्रह गरे तर जङ्गबहादुरले यस प्रस्तावप्रति आफू सकारात्मक भए पनि आफैँले गद्दीमा बसाएको व्यक्तिलाई हटाएर आफू त्यहाँ बस्न नसक्ने बताए (पद्मजङ्ग राणा, ‘जङ्गबहादुरको जीवनयात्रा’–२०७४ः१८२–८३) । उनी १९१३ साउन २४ गते श्री ३ महाराज घोषित भए तर इतिहासकार राणा (२०६५ः६८) ले विजयराज पाण्डेको प्रस्ताव जङ्गबहादुरकै चालबाजीका रूपमा आएको उल्लेख गरेका छन् ।
उनी श्री ३ महाराज मात्रै थिए, प्रधानमन्त्री र कमान्डर इनचिफ भाइहरू क्रमशः बमबहादुर र कृष्णबहादुर थिए । प्रधानमन्त्री पदमा बहाल रहँदै बमबहादुरको १९१४ जेठ १४ गते देहान्त भयो । जङ्गबहादुर आफ्ना भाइको देहान्तपछि फेरि प्रधानमन्त्री पदमा फर्के । श्री ३ महाराजको पद प्रदान गरिँदा यो पद जङ्गबहादुरका छोरा जगतजङ्गमा जाने र प्रधानमन्त्री पद चाहिँ उनको भाइ भाइमा जाने उल्लेख भए पनि बमबहादुरको देहान्तपछि भाइ कृष्णबहादुरमा प्रधानमन्त्री पद जानुपर्ने थियो तर त्यो नगरी बमबहादुरको देहान्तपछि आफैँले बनाएको रोलव्रmम उल्लङ्घन गर्दै जङ्गबहादुर स्वयम् प्रधानमन्त्री पदमा फर्के (चित्तरञ्जन नेपाली, ‘जंगबहादुरको कथा’–२०७०ः२०४) ।
यस्ता अनेक तिकडम जान्ने जङ्गबहादुरको १९३३ फागुन १६ गते सिकार खेल्न जाँदा पत्थरघट्टामा देहान्त हुन पुग्यो । उनीपछि भाइ र भाइका छोरानातिहरू श्री ३ महाराज र प्रधानमन्त्री बने । रणोद्दिपसिंहको हत्यासँगै शमशेरखलकको उदय भएपछि जङ्गबहादुरका छोरामध्ये कोही मारिए, कोहीले भागेर ज्यान बचाए । कोही शमशेरखलकसँग सहमति गरी सक्दो सम्पत्ति लिएर भारततिर लागे ।
राजवंशसँग रक्तमिश्रण
सन्की स्वभावका राजा सुरेन्द्रविक्रमका कमजोरीका बारेमा पूर्ण रूपमा जङ्गबहादुर जानकार थिए । जङ्गबहादुरले मौकामा चौका हान्दै आफ्नो परिवारको भलाइका लागि गर्न सक्नेसम्मका काम गर्दै जाँदा उनमा राजालाई नै सम्धी बनाउने इच्छा जाग्यो । उनले युवराजको विवाह आफ्ना छोरीहरूसँग र शाहज्यादीहरूको विवाह आफ्ना छोरासँग गर्ने प्रस्ताव अघि सार्दा राजा सुरेन्द्रले रिसाउँदै ‘तँ खसले हाम्रा शाहज्यादीहरू ताक्ने ?’ भन्दै हप्काएका थिए तर जङ्गबहादुर पनि के कम ? उनले पनि राजा सुरेन्द्रलाई “सरकारले आफूलाई कत्रो जातवाला सम्झिबक्सेको ? के सरकार तिरहुतिया ब्राह्मणीको सन्तान होइबक्सन्न र ?” मात्रै भनेनन्, उनले आफ्नो तागतले उनलाई राजसिंहासनमा राखेको, अन्यथा राजसिंहासनमा रणेन्द्रविव्रmम बस्थे भनी सम्झाउन पनि भुलेनन् । यसरी राजालाई कायल पारेर जङ्गबहादुरले आफ्ना छोरा जगतजङ्गको १९१० वैशाखमा सुरेन्द्रकी जेठी शाहज्यादी टीका राज्यलक्ष्मी र अर्का छोरा जितजङ्गको १९१२ फागुनमा सुरेन्द्रकी माहिली शाहज्यादी नरेन्द्रलक्ष्मीसँग विवाह सम्पन्न गराएरै छाडे (पुरुषोत्तमशम्शेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ भाग १–२०६५ः९१) ।
जङ्गबहादुरलाई यतिले मात्रै पुगेन, आफ्नी छोरीतिरको छोरालाई नेपालको राजगद्दीमा विराजमान भएको देख्ने चाहना पनि पलायो । नजरबन्दमा परेका बुढा राजा राजेन्द्रविव्रmम शाहको नामबाट आफ्ना नाति युवराज त्रैलोक्यका लागि जङ्गबहादुरकी दुई छोरीको मगनी गराइयो । ‘प्राचीन नेपाल’ सङ्ख्या २७ (वैशाख २०३१ः१०–११) मा प्रकाशित यस विवाहसम्बन्धी बुढा राजा राजेन्द्रविक्रमले जारी गरेको मोहरमा ‘...त्रैलोक्य वीरविव्रmम शमशेर जङ्गबहादुर शाहलाई विवाह गर्न तिम्रा मैयाँ देऊ भनी हाम्रा खुशी राजीले मागेको हो तिम्रा मैयाँ दिनू ...’ भन्ने उल्लेख छ ।
यस तजबिज अनुसार जङ्गबहादुरका दुई छोरी ताराकुमारी र ललितकुमारी (पछि ललितराजराजेश्वरी) को युवराज त्रैलोक्यविक्रम शाहसँग १९१४ असार १४ गते शुव्रmबार विवाह सम्पन्न भयो । राजा सुरेन्द्रविक्रमको देहान्तपछि उनै ललितराजेश्वरीबाट जन्मेका पृथ्वीवीरविक्रम शाह १९३८ जेठ ६ गते छ वर्षको उमेरमा राजगद्दीमा बसे । यसअघि नै युवराज त्रैलोक्यविव्रmम शाहको अल्पायुमै देहान्त भइसकेको थियो । जङ्गबहादुरका अरू दुई छोरी विष्णुदिव्यश्वरी (बागकी कान्छीमैयाँ) र खड्गकुमारी (चिरबिरेमैयाँ) को राजा सुरेन्द्रविक्रम शाहका भाइ उपेन्द्रविक्रमका छोरा धीरेन्द्रविक्रमसँग भएको थियो ।
जन्मिनुअघि रोलक्रम सुरक्षित
जङ्गबहादुरका नाबालक छोराहरू पनि जर्नेल कर्णेल थिए र सोही अनुसार तलब बुझ्थे । महेश सी. रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ८ अङ्क १ (डिसेम्बर, १९७६ः१६–१९) मा प्रकाशमा ल्याएका तथ्यले जङ्गबहादुर, उनका भाइ तथा छोराहरूले त्यसबेला राज्यबाट कति तलब बुझ्दा रहेछन् भन्ने स्पष्ट पार्छ । सो अनुसार विसं १९१० मा जङ्गबहादुरले प्रधानमन्त्रीको हैसियतले ८३ हजार ६२० रुपियाँ तलब बुझ्थे । दाजुभाइबिच तलबमानमा कति फरक थियो भने त्यसबेला कमान्डर इनचिफ बमबहादुर राणाको तलब ३२ हजार ६१३ रुपियाँ थियो । त्यो बेला जङ्गबहादुरका छोराहरूमध्ये १६ हजार ७१२ रुपियाँ तलब बुझ्ने जगतजङ्ग, आठ हजार ५६७ रुपियाँ तलब बुझ्ने भीमजङ्ग र नौ हजार रुपियाँ तलब बुझ्ने जितजङ्गको पद कर्णेल थियो । यस्तै उनका पुतलीमैयाँ नामकी रानीबाट जन्मेका छोरा बबरजङ्ग त्यो बेला कप्तान थिए । उनका लागि पाँच हजार एक रुपियाँ तलब निर्धारण गरिएको थियो ।
कुण्डलीसङ्ग्रह अनुसार भीमजङ्गको जन्म विसं १९०३ मा भएकाले उनी त्यसबेला सात वर्षका र जितजङ््गको जन्म विसं १९०६ मा भएकाले उनी त्यसबेला चार वर्षका नाबालक थिए (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ९३–वैशाख २०५५ः२२–२३) । ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५६ः४२) अनुसार जगतजङ्गको जन्म विसं १९०४ मा भएकाले त्यसबेला उनको उमेर छ वर्षको थियो । जबरा (२०६५ः८८) अनुसार बबरजङ्गको जन्म विसं १९०८ मा भएको हो ।
आफ्ना भाइहरू र नाबालक छोराहरूलाई ठुलै पद र ठुलै रकम तलब तोकेर जहानियाँ परिवारवादलाई जङ्गबहादुरले ठुलो मलजल गरेका थिए ।
१९२४ मङ्सिर सुदी १० मा जङ्गबहादुरले रोलक्रम घोषणा गरे । त्यस रोलक्रममा सबैभन्दा अन्तिम ३० औँ क्रममा जङ्गबहादुरका भाइ बमबहादुरका छोरा कर्णेल यक्षविक्रम शाहलाई राखिएको छ (जबरा, २०६५ः१४४–४६) । यस रोलक्रममा आफ्ना तीन भाइहरूपछि पाँचौँ क्रममा छोरा जगतजङ्ग, छैटौँमा जितजङ्ग र सातौँमा पद्मजङ्ग, नवौँमा बबरजङ्ग र १० औँमा रणवीरजङ्गलाई राखिएको छ । ११ औँमा आफ्ना नाबालक नाति युद्धप्रतापजङ्गलाई राखिएको छ । सबैभन्दा अचम्म त के भने जन्मिनुअघि नै आफ्ना दुई नातिका लागि रोलव्रmम सुनिश्चित गर्न पनि जङ्गबहादुर चुकेनन् । उनले आठौँ व्रmममा आफ्नी कुनै जातवाला रानी महारानीबाट जन्मिने कुनै छोराका लागि र १२ औँ क्रममा ‘जितजङ्गकी रानी शाहज्यादी नरेन्द्रलक्ष्मीका तर्फबाट छोरा जन्मेमा’ उनका लागि सुरक्षित गरिएको छ ।
जङ्गबहादुरले निर्धारण गरेको यो रोलक्रमप्रति सबैभन्दा पहिले रोलक्रममा नपरेका उनकै जेठा छोरा भीमजङ्गले असन्तुष्टि जनाए । उनी जङ्गबहादुरकी जेठी रानी प्रसादलक्ष्मीका छोरा थिए । रोलक्रमकै क्रममा बाबु र छोराबिच विवाद चल्यो । जङ्गबहादुरले भीमजङ्गलाई पिट्दा उनको देहान्त हुन पुग्यो (पुरुषोत्तमशम्शेर जबरा, ‘सम्झेका र सुनेका कुराहरू’–२०६३ः७०) ।
रोलक्रम हेर्दा प्रधानमन्त्री तथा श्री ३ महाराजको पगरी भिर्ने दिन पर्खंदापर्खंदै कतिपय रोलवालाको जिन्दगी त्यत्तिकै बित्नेवाला थियो । उदाहरणका लागि जङ्गबहादुरका १९ वर्षीय नाति युद्धप्रतापजङ्गभन्दा पछाडिको रोलमा परेका केदारनरसिंह उमेरमा आफूभन्दा अघि श्री ३ महाराजा हुनेवालाभन्दा २६ वर्ष जेठा थिए । उनका लागि श्री ३ महाराज हुनु कल्पनातीत नै बन्न पुगेको थियो । युद्धप्रतापजङ्गभन्दा पछाडि बमवीरविव्रmम कुँवरदेखि चन्द्रशमशेरसम्म ११ जना रोलवालाको ताँती थियो । उनीहरूमा श्री ३ को पगरी पहिरिन पाऊँला भन्ने आशा कति पनि बाँकी रहेको थिएन (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’– २०६८ः१६१) ।
यही रोलव्रmमले राणाहरूबिच आपसी फुट मात्रै होइन, हत्यासम्मका खेल भए । विसं १९४२ सम्म आइपुग्दा तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री रणोद्दिपसिंहको हत्या गरेर जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका छोरा शक्तिमा आए । जङ्गबहादुरका छोराहरूमध्ये कोही मारिए, धेरैजसो लाखापाखा भए ।
षड्यन्त्रमा जङ्गका छोरीहरू
जङ्गबहादुर देहान्तपछि रोलक्रम अनुसार उनका भाइ रणोद्दिपसिंहले सत्ताको बागडोर समालेका थिए । उनी सोझा प्रकृतिका थिए । कमान्डर इनचिफ धीरशमशेर बडो धूर्त थिए । रणोद्दिपसिंह सन्तानविहीन थिए । धीरशमशेरमा आफ्ना १७ जना छोराको भविष्यको चिन्ता थियो ।
त्यहीबेला दरबारभित्र एक गुटले शमशेरखलकलाई सत्तामा आउन नदिने चलखेल सुरु भएको थियो । जङ्गबहादुरको देहान्तलगत्तै उनको नियन्त्रणमा रहेका सैनिकको सहयोगमा नेपालको प्रशासन सूत्र युवराज त्रैलोक्यविक्रमले आफ्नो हातमा लिने र जगतजङ्गलाई प्रधानमन्त्री तथा श्री ३ महाराज बनाउने योजना थियो (आचार्य, २०६८ः१६२) तर शमशेरखलकको विनाशको योजना बनाउँदाबनाउँदै १८३४ चैत १९ गते युवराज त्रैलोक्यविव्रmम शाहको ३० वर्षको उमेरमा देहान्त भयो ।
त्यसपछि त्रैलोक्यका भाइ नरेन्द्रविक्रमले नयाँ गुट खडा गरेर शमशेरखलकको विनाशको योजना बनाउँदाबनाउँदै सोही गुटमा संलग्न उत्तरध्वज भण्डारी (गगनसिंहका नाति) ले सबै भेद खोलिदिएपछि नरेन्द्रविक्रम शाह र बमवीरविक्रमलाई कैद गर्न पठाइयो । पद्मजङ्गलाई नुवाकोटमा नजरबन्द गरियो । त्यतिखेर जगतजङ्ग भारततिर थिए, उनी खोसुवामा परे (राणा, २०६५ः१११) । यसलाई विसं १९३८ सालको पर्व भनेर इतिहासमा उल्लेख गरिएको छ ।
अब शमशेरहरू होसियार हुन थाले । त्रैलोक्यविक्रमका युवराज्ञीमध्ये जेठी ताराकुमारी र जगतजङ्ग एउटै आमा नन्दकुमारीका सन्तान थिए । ललितराजेश्वरी र उनकी बहिनी विष्णुदिव्यश्वरी हिरण्यगर्भकुमारीदेवीका छोरीहरू थिए । नन्दकुमारीतिर एक छोरी मात्रै पैदा भएकी थिइन् । ललितराजेश्वरीले राजवंशका उत्तराधिकारी पृथ्वीवीरविक्रमलाई जन्माइसकेकी थिइन् । त्यसमा पनि शमशेरखलकले जेठी मुमामहारानीको चाहना बालक राजा पृथ्वीवीरविव्रmम शाहलाई पन्छाएर आफ्नी छोरीलाई राजगद्दीमा विराजमान गराउने रहेको छ भन्ने अफवाहलाई भित्रभित्रै फैलाइरहेका थिए (आचार्य, २०६८ः१८४) । त्यो हुँदा आफ्ना छोराको राजगद्दी सुरक्षित राख्न ललितराजेश्वरी कुनै पनि हालतमा जगतजङ्गलाई सत्तामा आएको देख्न नसक्ने अवस्थामा पुगेकी थिइन् । ताराकुमारीले आफ्नो सहोदर भाइको भविष्यका लागि भूमिका खेलिरहेकी थिइन् । ललितराजेश्वरीलाई वार्षिक तीन लाख रुपियाँ भत्ता दिने सर्त अनुसार वीरशमशेरले उनलाई आफ्नो पक्षमा मिलाएका थिए (आचार्य, २०६८ः१९१) ।
जगतजङ्ग र टीकाराज्यलक्ष्मी ।
शमशेरखलकले चलखेल बढाउँदै जङ्गबहादुरका अरू दुई छोरी बागकी कान्छीमैयाँ र चिरबिरेमैयाँलाई पनि हात लिइसकेका थिए । यी दुवै जवान अवस्थामै विधवा हुन पुगेका थिए । बराबर बागदरबारमा आवतजावत गर्ने क्रममा कान्छीमैयाँसँग खड्गशमशेरको मायामोह प्रेम र स्नेह बढ्दै गएको थियो । उनी रातदिन बागदरबारमै बिताउँथे । खड्गशमशेरकी विधवा बहिनी काहिँली मैयाँ पनि बागदरबारमै बसेकी थिइन् । उनले पनि जङ्गबहादुरकी दुई छोरीको प्रशस्तै कान भरिदिँदा उनीहरूमा यति महŒवाकाङ्क्षा बढेको थियो कि राज्यको तखता उल्टाएर आफूहरू देशको हर्ताकर्ता बन्ने सपना देख्न थालिसकेका थिए । उनीहरू आफ्नै बाबुका छोराहरूलाईभन्दा शमशेरखलकलाई मन पराउन थालिसकेका थिए (राणा, २०६५ः१२४–२५) ।
दरबारको खेलचुक्ली यस किसिमले चल्दै जाँदा १९४२ मङ्सिर ९ गते शमशेरखलकले गोली प्रहार गरी रणोद्दिपसिंहको हत्या गरे । यसको १३ महिनाअघि मात्र धीरशमशेरको देहान्त भएको थियो । रणोद्दिपसिंहकी रानीको जोडबलमा निर्वासनबाट स्वदेश आई मनहरा दरबारमा जगतजङ्ग बसिरहेका थिए ।
त्यसबेला आफ्ना नाबालक छोराका साथ ललितराजेश्वरी नारायणहिटीमा बस्थिन् । रणोद्दिपसिंह पनि त्यहीँ बस्थे । आफ्नी दिदीकहाँ जाने बाहनामा बागकी कान्छीमैयाँ पनि केही समयदेखि नारायणहिटीमै थिइन् । त्यहाँको सबै कोठाचोटाबारे उनी जानकार थिइन् । उनी योजनाबद्ध रूपमै त्यहाँ गएकी थिइन् । हत्या भएको रात उनैले खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेरहरूलाई राजा पृथ्वीवीरविक्रम बसेको लङबाट रणोद्दिपसिंह बस्ने लङसम्म पु¥याउने काम गरेकी थिइन् (पुरुषोत्तमशम्शेर जबरा,
‘जङ्गबहादुर र राणाकालीन दर्पण’–२०८०ः५०) । रणोद्दिपसिंहको हत्यालगत्तै सोही रात राजमाता ललितराजेश्वरी आफ्ना नाबालक छोरा राजा पृथ्वीवीरविव्रmमलाई लिएर वीरशमशेरका साथ टुँडिखेल पुगिन् । आँखाबाट आँसु बरर झार्दै आफ्ना बालक छोरा राजा पृथ्वीवीरविक्रम शाहलाई बर्खास्त गरी जेठी महारानीकी छोरीलाई गद्दीमा राखेर रजाइँ गर्न खोजिएको र आफ्नो हुर्मत लिन खोजिएकाले यस्तो विपत्तिको अवस्थामा वीरशमशेरले बालक राजा र आफ्नोसमेत रक्षा गरेका हुनाले उनैलाई श्री ३ महाराज तथा प्रधानमन्त्रीको खिताव दिइएको घोषणा गरिन् । अब वीरशमशेर विधिवत् सत्तासीन भए (आचार्य, २०६८ः२००–१) ।
यसरी जङ्गबहादुरकी तीन जना छोरीको साथ पाएर नेपाली राजनीतिको शासनसत्तामा शमशेरखलकको उदय भयो ।
जङ्गबहादुरका छोराहरूको बिजोग
रणोद्दिपसिंह सत्तामा रहेका बेला विसं १९३८ सालको पर्व र विसं १८४१ मा भएको धीरशमशेरको देहान्तपछि बनेको श्री ३ हरूको रोलक्रममा सातौँ क्रममा रहेर श्री ३ महाराज तथा प्रधानमन्त्रीको पगरीको पर्खाइमा रहेका वीरशमशेर रक्तरञ्जित षड्यन्त्रपछि सत्तामा आइपुगे । उनले जङ्गबहादुरका छोराहरूलाई स्वाभाविक रूपमा निशाना बनाउने भए । नयाँ मुख्तियार घोषित खड्गशमशेरले बागदरबारबाट ‘जङ्गबहादुरका सन्तति सबैलाई जिउँदो वा मुर्दा जे जस्तो अवस्थामा भेटाउन सकिन्छ लिएर आउनू’ भन्ने भनी फौज ठाउँ ठाउँमा खटाए । बागदरबारबाट पठाइएको सैनिक टोली बिहानै झिसमिसेमा मनहरा दरबार पुग्यो । दरबारको ढोकामा लात्तले हान्दै नामै काढेर बोलाइएपछि जगतजङ्गले झ्याल खोलेर यसो हेरेका थिए, उनीमाथि गोली प्रहार भइहाल्यो । उनको मृत शरीरबाट उनको शिर छुट्याई त्यो लिएर सैनिकहरू हिँडे (राणा, २०६५ः१३३–३४) ।
जगतजङ्गका छोरा युद्धप्रतापजङ्ग आफ्ना काकाहरूका साथ ब्रिटिस रेजिडेन्सीमा पुगेका थिए तर त्यहाँ खाली हात पुगेकाले उनी सकेको धनसम्पत्ति लिन फेरि थापाथली दरबार फर्के । दरबारमा आई सकेजतिको रुपियाँ र जवाहरतहरू बोकेर उनी भरियाको भेषमा ब्रिटिस रेजिडेन्सीतिर जाँदै थिए, आफूलाई खोज्दै आइरहेको सैनिकलाई देखेपछि पुलमुनि लुक्न पुगे । उनी भरियाको भेषमा हिँडिरहेको भए तापनि नाङ्गो खुट्टा हिँड्न सकेनन् । उनले खुट्टामा मोजा र चाँदीको खिपवाला बेलायती ब्यारेट कम्पनीको जुत्ता लगाएकाले उनलाई सैनिकले चिनिहाले । त्यहीँ उनको हत्या गरियो । उनीसँग भएको सबै सम्पत्ति तत्कालीन कमान्डिङ मेजर ललितमानसिंहले हत्याए (पुरुषोत्तमशम्शेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ (सातौँ संस्करण) २०७६ः२९७) । कमान्डिङ मेजर ललितमान श्री ३ प्रधानमन्त्री वीरशमशेर आफ्नै मामा हुन् ।
सत्ता उलटपुलट भएपछि जङ्गबहादुरका छोराहरू सबैजसो भारततिर लागे । जितजङ्ग सत्तापरिवर्तनअघि नै भारत पुगिसकेका थिए । रणवीरजङ्ग ब्रिटिस रेजिडेन्सीबाटै भारत बनारस गई त्यहीँ बसोबास सुरु गरे । इसाई धर्म ग्रहण गरी रणजङ्ग भारततिर पहिल्यै बसिरहेका थिए । डम्बरजङ्ग पहिले चल सम्पत्ति लिई भारत गएका र पछि नेपाल आई भत्ता पाएर पोखरामा बस्न थाले । ललितजङ्ग पहिले चल सम्पत्ति लिएर भारत गएका र पछि नेपाल फर्की भत्ता पाई पाल्पामा बस्न थाले । युद्धजङ्ग पहिले भारत पुगेका र पछि नेपाल फर्की भत्ता पाई गोरखामा बस्न थाले । हर्षजङ्ग पहिले भारत गएका र पछि नेपाल फर्की भत्ता पाई पोखरामा बस्न थाले । जङ्गबहादुरका छोराहरूमध्ये भीमजङ्ग पहिले आफ्नै बुबाको हातबाट र जगतजङ्ग शमशेरखलकबाट मारिए भने नरजङ्ग, मानसिंहजङ्गको सानै उमेरमा देहान्त भएको थियो (जबरा, २०७६ः३०५–६) ।
जङ्गबहादुरको देहान्त हुँदा गर्भमै रहेका वीरजङ्गलाई जन्मनेबित्तिकै जर्नेल पद दिइएकाले यिनलाई ‘गर्भे जनरल’ पनि भनिन्थ्यो । वीरशमशेर सत्तामा आउँदा उनी नौ वर्षका थिए । यिनलाई जर्नेल पदबाट घटुवा गरेर कर्णेल पदमा झारी प्रशस्तै भत्ता दिई पाल्पा पठाइयो (जबरा, २०८०ः३९) । यस्तै पहिले दरबारकी सुसारे पुतली महारानीबाट जन्मेका बबरजङ्गको १९३३ मङ्सिरमा अल्पायुमै देहान्त भएपछि जङ्गबहादुर विरक्तिर सिकारका लागि तराईतर्फ लागेका थिए (जबरा, २०८०ः३३) । त्यसको दुई महिनापछि जङ्गबहादुरको पनि देहान्त भयो ।
ज्यान बचाउन ब्रिटिस रेजिडेन्सीमा पुगेका जङ्गबहादुरका छोरामध्ये राजमाता ललितराजेश्वरी र वीरशमशेरको कृपाले पद्मजङ्गले आफ्नो चल सम्पत्ति लिएर भारत जाने अनुमति पाए । उनी काठमाडौँबाट प्रस्थान गर्दा १२ सय भरियाहरू यिनको भारी बोकेर गएका थिए भनी रेजिडेन्सीका तत्कालीन सर्जन कर्णेल गिमलेटले लेखेका छन् (राणा, २०६५ः१४६–४७) ।
राणा (२०६५ः१४७–४८) ले उल्लेख गरे अनुसार सरकार परिवर्तन भएपछि जङ्गबहादुरका सबै छोरा नाति र रणोद्दिपसिंहको सम्पत्ति जफत गरियो । रणोद्दिप र जगतजङ्गका सबै सम्पत्ति वीरशमशेरले लिए । त्यो सम्पत्ति अहिलेको दरमा मूल्याङ्कन गरेमा ५० अर्ब रुपियाँभन्दा बढीको हुन सक्छ । जितजङ्ग र डम्बरजङ्गको जफत भएको घर खड्गशमशेरले पाए । युद्धप्रतापजङ्गको घर (हाल ः राष्ट्र बैङ्क रहेको सिंह महल) चन्द्रशमशेरको भागमा प-यो । पद्मजङ्गको निवास भीमशमशेरले र रणवीरजङ्गको निवास (हाल ः प्रहरी प्रधान कार्यालय भवन) फत्तेशमशेरले पाए भने जितशमशेरको भागमा लाजिम्पाटको घर (हाल ः शङ्कर होटेल) प-यो ।
जङ्गका सन्तानको सुकुमवासी हालत
शमशेरखलकको आदेशबाट मारिदा जङ्गबहादुरका नाति युद्धप्रतापजङ्ग केवल २० वर्षका थिए । ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५२) अनुसार उनका पाँच जना छोरा भए; जगत, भुवेन्द्र, चन्द्र, लेख र फवेन्द्र ।
युद्धप्रतापजङ्गको हत्यापछि दरबारका एक जना सुसारेले उनका सन्ततिलाई नाबालिकाको भेषमा काठमाडौँ उपत्यकाबाट बाहिर निकालेर बचाए (केशवराज जोशी ‘शिलापत्र’ २०७७ साउन २६) । मुस्किलले ज्यान बचाएका यिनै सन्तानले पछि जगतजङ्गले मनहरा दरबार क्षेत्रमा चर्चेको जग्गाको हकदाबी खोजे । उनीहरूले सात सय रोपनीको हकदाबी गरेका थिए । लामो कानुनी लडाइँपछि विसं २०६३ मा ३६ रोपनी जग्गा पाए । यो जग्गा सबै परिवारमा भाग लगाइयो । उनीहरूले जग्गा कारोबारीलाई बेचेर उनीहरूबाटै घडेरीका रूपमा खरिद गर्दा एउटा परिवारको भागमा चार÷पाँच आना परेको थियो ।