चारैतिर जङ्गलले घेरिएको गाउँ । पुछारतिर बाह्रैमास कञ्चन पानी बगिरहने गाड । गाड र खेतको बिचमा घना सालघारीको जङ्गल । जङ्गलको सिरानमा छड्के परेर लमतन्न एकनासले सुतिरहेका खेतका गराहरू । बर्खामा रोपिएको हरियो धान । कात्तिकमा झुलेका धानका बालाहरूले पहेँलपुर सुन्दर, आकर्षक । हिउँदमा हरियो गहुँ अनि चैत वैशाखमा पाकेका बालाहरू, प्राकृतिक संयोजन । पाखाबारीमा छरपस्ट छरिएर बनाइएका घरहरू । तलतिर लहरै टाँसिएर बनाइएका घरहरू, स्थानीय भाषामा गर्खो–तल्लो गाउँ । गाउँको देब्रे काँधमा बण्डाली माडु, दाहिनेमा केदार माडु र शिरमा मनकामना देवीको मन्दिर पवित्र देवस्थल ।
यही गाउँका बासविहीन बासिन्दा थिए मोती । बेघरबार मानिस । घरबार त्यागेर आजाद भए जस्ता । बिहाबारीबाट टाढिएका । स्थायी बसोबास मन नपराए जस्ता । घर, धन र सम्पत्ति त्यागेका । आफ्ना र आफन्तबाट तर्किएका, परपर गएका । उनको अंशमा पर्ने सम्पत्ति जग्गाजमिन नभएको होइन । उनी सबै थोक त्यागेर बाहिरिएका जस्ता थिए । किन हो कुन्नी उनी आजाद थिए । स्वतन्त्र थिए । लोभ, लाभ, माया, मोह, द्वेष, राग, झगडा, लफडा र सामाजिक बन्धनबाट मुक्त मानिस उनी । उनी न ऋषि न त तपस्वी । थिए केवल आजादीका प्रतीक । उनलाई कसैको नियन्त्रण मन पर्दैनथ्यो । स्वनियन्त्रित । स्वाधीन । दबाब, अधीन र बन्धनमुक्त फुक्का मानिस ।
फिरन्ते भनेर उनी गाउँ गाउँ घुमिरहने मानिस होइनन् । उनी फिर्थे आफ्नै गाउँको सेरोफेरोमा । मनले जता लग्थ्यो सायद त्यतै बस्थे । एउटै घरमा बास हुँदैनथ्यो उनको । हुन त उनको सुत्ने ओछ्यान पो कहाँ थियो र ? कसैको घरको ओटालो (बार्दली) मा वा गोठको छेउमा उनले पहिरिएका थोत्रा लुगा नै उनका ओछ्यान थिए । त्यसैमा उनी लुटपुटिन्थे, गुटमुटिन्थे पालैपालो फरक फरक घरमा । सायद यस्तैमा उनलाई निद्राले पनि साथ दिन्थ्यो । नाउँ कस्तो सुन्नेबित्तिकै हिरामोती भने जस्तो । थाहा छैन कसरी राखिएको थियो यो नाउँ । ज्योतिषीले दिएको न्वारनको नाम हो वा मानिसले नै भने मोती । नामको भावार्थ अनुसार मूल्यवान् गहना । सजावटको वस्तु । सम्पन्नताको प्रतीक । मानिसले प्राप्त गर्न अनेक प्रयत्न गर्ने जिनिस । आभूषणयुक्त पदार्थ । यो गाउँमा मानिसलाई हेला गर्नुपर्दा उनका बुवाको नाम काढेर “ए फलानाको मोती” भनेर जिस्क्याइन्थ्यो । मानमर्दन गर्न प्रयोग हुन्थ्यो । कसैलाई हेपेर बोल्नुपर्दा मोतीको प्रतिविम्बका रूपमा प्रयोग हुन्थ्यो मोती शब्द । बिग्रेको मानिस । घरबारविहीन फिरन्तेको अर्को नाम– मोती । अझ अघि बढेर उनका बुवाको नाम काढेर
‘फलानोको जार’ भन्न पछि पर्दैन्थे । उनको मन कस्तो हुँदो हो थाहा छैन । अविवेकी समाज र त्यसका सदस्यहरूले उनलाई ‘ए फलानोको जार’ भनेर उनका बुवाको नाम काढ्थे । यसरी गाली दिएर सम्बोधन गर्नेहरूमा पुरुषभन्दा महिला नै बढी थिए । बुझेर वा नबुझेर साना केटाकेटीहरू समेत यो दुव्र्यवहारमा सामेल थिए ।
उनी भने शालीन नै थिए । कसैको केही बिगार्दैन्थे । अन्याय अत्याचार उनीबाट हुने कुरै भएन । उनी गाउँघरका सबै जनाका बाख्रा र गाईवस्तुका ग्वाला थिए । कुनै एक जनाका वस्तुभाउका ग्वाला थिएनन् । समग्र गाउँका ग्वाला थिए । गाउँका सबैका बाख्राहरू भेला पारेर उनको जिम्मा लगाइन्थ्यो । हरेक बिहान हरघरका खोरबाट बाख्रा निकाल्नु बेलुका हरघरका गोठमा सुरक्षित तवरले बाख्रा पु¥याउनु उनको गहन जिम्मेवारी थियो । यसै अनुरूप उनले दिनभर रखवारी गर्थे । दिउँसो जङ्गलको कुन दिशातिर लैजाने, कहाँ चराउने, सबै जिम्मा उनकै थियो । उनी भरोसायोग्य गोठाला थिए । भरोसा नहुँदो हो त उनको जिम्मा कसरी लगाउँथे ? गोठालोको काम उनले निष्ठापूर्वक गर्थे ।
ग्वाला मात्र कहाँ थिए र ? हरेक घरमा आवश्यकता अनुसार पानीका गाग्री ओसार्ने सारथी पनि । साँझ वन जङ्गलबाट फर्केपछि उनको काँधमा गाउँलेहरूकै गाग्री थपिन्थे । यो कार्य साँझको मात्र थिएन । बिहान पनि उनले पालैपालो पानी ओसार्न भ्याउँथे सके जति, समयले दिए जति । त्यो गाउँमा बस्न मन नलाग्दा उनी दक्षिणतिर डाँडापारि अर्को गाउँमा बसाइँ सर्थे । फेरि फर्कन्थे । यसो गरिरहन्थे । अर्को गाउँमा पनि उनको काम दिनभर ग्वालो र बिहान बेलुका पानीको आपूर्ति नै थियो । वल्लोपल्लो गाउँ बसाइँ सर्दा गएको गाउँका मानिसलाई गोठालोको खाँचो पथ्र्यो । आएको गाउँमा ग्वालोको समस्या टथ्र्यो ।
कुनै एक घरमा उनलाई अन्न खुवाउने व्यवस्था थिएन । घर घरको एक÷एक गाँस भात वा आधा रोटी उनको बिहान बेलुकाको खाना हुन्थ्यो । जसले जति दियो त्यति खान्थे । थप माग गर्दैन्थे । कुनै गुनासो थिएन । न कुनै पश्चात्ताप । उनी पागल पनि होइनन् । पागल हुँदाहुन् त कसरी गाउँभरका बाख्राका ग्वाला बन्न सक्थे । कसरी सबैका बाख्रा गन्न र पहिचान्न सक्थे । अहँ उनी पागल त हुँदै होइनन् । मनका सफा । धन सम्पत्तिका त्यागि । ग्वालाको कर्मले समाजसेवा ।
साइनोले प्रायः सबैका मान्यजन थिए । उमेरले जेठा तर उनलाई सम्मानजनक रूपमा सम्बोधन गर्ने कोही थिएन । सम्बोधन गर्न ‘तमी’ भन्ने शब्द उनलाई कसैले प्रयोग गर्दैनथ्यो । सबैले ‘तँ’ भन्थे । बाजे, काका, सम्धी, फुपाजु, भिनाजु जस्ता नाता पर्नेहरूले पनि उनलाई ‘ए मोती’ नै भन्थे । ‘ए मोती’ सम्म त ल उनको नाम नै थियो ठिकै मान्न सकिएला तर ‘ए फलानाका मोती’ भनेर उनका बुवाको नाम काढ्न कसरी सके ? उनका बुवाको त्यसमा के दोष थियो ? कुनै दोष थिएन । सायद प्रतिवाद गर्न होला उनी पनि सबैलाई नामले नै बोलाउँथे । त्यो गाउँका सबैका पुस्तौँपुस्ताका नाम उनलाई थाहा थियो । रिस उठेर होला उनले पनि कहिलेकाहीँ उनलाई सराप्नेका पुस्तैनी खोल्न पछि पर्दैन्थे ।
मनमा के हुँदो हो थाहा छैन । भावनामा के थिए बुझ्न र खोतल्न कसलाई पो थियो फुर्सद । को पो थियो र मानव मनका अन्तरकुन्तरमा लुकेका मानवीय गुण र अवगुणको अन्वेषण र लेखाजोखा गर्ने । उनीभित्रका मनका उद्वेलित ज्वारभाटाका तरेलीहरू कसरी मनमनै प्रकट हुन्थे कसले पो बुझ्न खोज्यो र ? अरूप्रति उनको मन शुद्ध थियो । निश्चल थियो । सेवाको भाव अटुट रूपले सङ्लो पानी झँै निरन्तर बगिरह्यो ती दुवै गाउँका लागि । मानिसले दिएका पुराना फाटाटुटा लुगाले उनको लाज ढाकिएको हुन्थ्यो । च्यातिएकै अवस्थामा दिएका लुगाले उनको आङ ढाकेको हुन्थ्यो । शरीरभरि पुराना लुगाको खातले जिउ बाक्लो मोटो जस्तो देखिन्थ्यो । पहिलो तहको थोत्रो लुगाले देखाउन खोजेको लाज दोस्रो तहको लुगाले छोप्थ्यो । दोस्रो तहले टाल्न नसकेको लाज तेस्रो चौथोले टालेको हो भन्नेमा कुनै शङ्का हुँदैनथ्यो । तह तहमा पहिरिएका झुत्रा लुगाले उनको शरीर बाक्लो बनाएको हुन्थ्यो । मयलले झुत्रा लुगाहरूमा टाटा परेका दुरुस्त देखिन्थ्यो ।
न उनको कुनै चाहना थियो न त आवश्यकता । स्वच्छन्द आकाशका स्वतन्त्र मानव थिए उनी । न भूत थियो न भविष्य । वर्तमानमा बाँचेका थिए यी मोती नामका मानिस । ग्वालाका रूपमा खटिने प्रत्येक घरले पालैपालो दिने एक गाँस भात र आधा रोटी उनको भोजन थियो बिहानबेलुका । दिउँसोको खाजा त उनलाई कसले पो दिन्थ्यो र ?
उनका पनि रहर थिए । अरू मानिसहरूले जस्तै गीत गाउँथे । वनपाखामा गाइने लोकभाका गाउँथे । अरूले जस्तै न्याउले भाकामा न्याउले खेल्न मन पराउँथे । न्याउले खेल्दा अरूले जस्तै नबिगारी भाका र पैदल मिलाउँथे । खेल खेल्दा केटीहरू नहुँदा उनी केटी पक्ष बनेर पनि खेल्थे र रमाइलो गराउँथे । उनको मन नहुँदो हो त किन खेल्थे ? रहर नहुँदा हुन त कसरी अरूसँगै सहभागी हुन्थे ? उनीसँग रहर र मन दुवै थियो । अभाव थियो उनलाई माया भावले सम्मान साथ बोलाउने र काम लगाउनेको । अभाव थियो उनको हृदयको भाव बुझ्नेको । अभाव थियो मानवीय समवेदनाको । अभाव थियो मैत्रीपूर्ण व्यवहारको । अभाव थियो गतिलो मनको, विशाल हृदयको, फराकिलो छातीको । अभाव थियो स्पर्श गर्ने मायालु हातको, भेदभावरहित हेर्ने प्रेमिल नयनको, मृदुभाषी आवाजको ।
उनका अंशियारहरू उनको बानीप्रति उदासीन थिए । घरजम गर्ने स्वभाव नभएको टिप्पणी गर्थे । हेलाका पात्र थिए उनी । उनको काम भने बडो महìवपूर्ण थियो । एउटा सिङ्गो गाउँका सबै बाख्राका उनी एक्ला ग्वाला थिए । कसका कति बाख्रा, कति बोका, कति पाठापाठी सबै थाहा हुन्थ्यो उनलाई । कसको गाई, कसको बाच्छो सबै थाहा हुने मानिस थिए उनी ।
गोठालोको सेवा र पानीको आपूर्तिकर्ताका अतिरिक्त गाउँमा कोही महिलाले जाँतोमा पिस्न सघाइ मागेमा त्यो पनि गर्थे । ओखलमा धान र भिजाएका मकै कुट्न पनि सघाउँथे । घरको गर्जो टार्थे । सद्दो सार्थे । त्यसबापत उनले कुनै पारिश्रमिक लिँदैन्थे । सघाउन नसकेमा उनले पाउने पहिलो गाली थियो ‘ए फलानाका जार’ । उनलाई अपशब्द पनि बोल्थे मानिसहरू । प्रायः महिलाले काममा सघाउन नसक्दा उनलाई आमा चकारीका गाली पनि दिन्थे । उनी गाली फर्काउन पछि पर्दैन्थे । यसरी गालमाइकी दिँदा उनको आत्मा दुख्थ्यो दुख्दैनथ्यो, त्यो भने थाहा भएन । उनीप्रतिको समाजको डसाइ निर्मम थियो ।
उनीमाथि कुनै सामाजिक आरोप थिएन । उनी कसैको केही बिगार्दैन्थे । चोर्नु त कुरै छोडौँ कसैको सामान पनि उठाउँदैन्थे । बडो सज्जन थिए । उनी गाउँका सारथि थिए तर पनि ती दुवै गाउँका मानिस उनलाई डसेकोडसेइ गर्थे । लाग्थ्यो उनले सारा सहयोग गर्दागर्दै पनि उनलाई गाली बेइज्जती गर्नु ठिकै थियो र ? उनलाई गाली गर्नुभन्दा पनि ठुलो अपराध थियो बुवाको नाम लिएर उनैलाई गाली गर्नु । उनका बुवाले के पो बिगारेका थिए र ? मरेपछि पनि गाली पाउँदै छन् जस्तो लाग्थ्यो ।
मोती स्वयम्का लागि बिग्रिएकै थिए । न उनले घरजम गरे न त सन्तान नै जन्माए । न त उनले आफ्नो पुख्र्यौली सम्पत्तिमाथि दाबी र उपभोग नै गरे । परोपकारका धनी यी मोती नामका मानिसले गाउँका औसत मानिसको भन्दा लामो आयु उपभोग गरे र अन्य मानिस सरह नै यो लोकको यात्रा पूरा गरे । उनको इहलीला समाप्त हुँदा रुने र सम्झने मानिस कोही पनि थिएन ।