गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्तासँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनताबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको उल्लेख गर्नुभयो ।
“नेपाली राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउट नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयाम छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीबिच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरू केही छैन । हाम्रो सम्बन्ध साकुरा जस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।”
प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरूको प्रबल इच्छा र सक्रिय प्रयास रहेको भनाइ राख्नुभयो ।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपाल अन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।