शिक्षकले हामीलाई अङ्ग्रेजी तथा नेपालीमा हस्तलेखनको गृहकार्य दिने गर्नुहुन्छ । मलाई आफ्नो अक्षर राम्रो लाग्थ्यो तर विद्यालयमा मेरा शिक्षक तथा अभिभावकले अक्षर सुधार्नु पर्छ भन्नुहुन्थ्यो । मेरो बाबा तथा मामुले सधैँ अक्षर राम्रा भए भने तिम्रो लेखाइको प्रस्तुति बढ्छ, पढाइको ध्यान तानिन्छ र लेख्ने आत्मविश्वास बढ्छ भनी राख्नुहुन्थ्यो । आफ्नो अक्षर राम्रो लाग्ने भएकोले मलाई अक्षर सुधार्नु पर्छ जस्तो लाग्दैन थियो । मेरा अभिभावकको कुरा सुनेर अचम्म लाग्थ्यो ।
काठमाडौँमा बसोबास भए पनि हाम्रो मूल घर विराटनगर हो । मलाई विराटनगर जान असाध्यै मन पर्छ । त्यसमा पनि झन् दसैँमा त विराटनगर नै जान मन पर्छ । यस पटकको दसैँ, तिहार र छठको गरी हाम्रो विद्यालय झन्डै डेढ महिना बिदा भयो । बिदा सुरु हुनुअघि साथीहरू दसैँ बिदामा आआफ्ना घर जाने, विभिन्न ठाउँ घुम्न जाने भनी कुरा गर्यौँ । अर्धवार्षिक परीक्षा सकिएर हाम्रो दसैँ बिदा सुरु भयो । बिदा सुरु भएकै दिन घर आएँ । घरमा मेरा अभिभावकले क्यालिग्राफीको कक्षामा भर्ना गर्ने र अक्षर सुधार्ने कुरा गर्दै हुनुहुन्थ्यो । यो कुरा सुनेर मलाई असाध्यै नरमाइलो लग्यो । मलाई रिस पनि उठेको थियो । म कुनै कक्षा नलिने भनी रहेँ ।
एक दिन मामुले घुमाउन लैजान्छु भनेर काठमाडौँको छाया सेन्टर लिएर जानु भयो । रमाइलो मानेर सँगै हिँडेँ तर त्यहाँ पुगेर थाहा भयो नजिकै क्यालिग्राफी सिकाउने ठाउँ रहेछ । मलाई घुमाउँदै त्यहीँ लग्नु भयो । मलाई साह्रै रिस उठ्यो तर चुपचाप कक्षामा बसेँ । म नियमित कक्षा जान थाले । कक्षा जान थालेपछि त्यहाँ अन्य विद्यालयबाट आएका म जस्ता साथीहरूलाई भेटेँ । कोही त कलेज पढ्ने पनि थिए । आफूसँगका र आफूभन्दा अग्रज पनि कक्षामा आएको देखेर धेरै जनाले अक्षर राम्रो पार्न सिक्ने रहेछन् भन्ने थाहा पाएँ । केही दिनको कक्षामै मेरो अक्षर फरक हुँदै गरेको अभिभावकले भन्नुभयो । करिब एक हप्ताको अभ्यासपछि आफ्नो अक्षर लेखाइमा परिवर्तन हुँदै गरेको देखेर आफैँ पनि छक्क परेँ । निकै खुसी भएँ । अभ्यासकै क्रममा मैले क्यालिग्राफीका लागि छुट्टै कलम पाएँ । मलाई क्यालिग्राफीको अक्षर सिक्दा रमाइलो लाग्यो । म घरमा क्यालिग्राफीमा सबैको नाम लेखेर देखाउँथे ।
करिब १५ दिन कक्षा लिइसकेपछि मेरो अक्षरमा धेरै सुधार आइसकेको थियो । मैले कक्षा सुरु गर्नुअघि र अहिलेको अक्षरमा धेरै भिन्नता पाएको छु । क्यालिग्राफीको अन्तिम दिनमा मेरा शिक्षकले नियमित अभ्यास गर्नू भन्ने सल्लाह दिँदै प्रमाणपत्र पनि दिनुभयो । प्रमाणपत्र पाएर म धेरै खुसी भएँ ।
दसैँको लामो बिदामा आफूलाई मनपर्ने स्थान जान नपाए पनि अक्षर सुधार गर्न सकेकोमा मलाई धेरै खुसी लागेको छ । नियमित अभ्यास गरेर मेरा अक्षर अझै सुधार गर्न प्रयास गर्ने छु । दसैँ बिदाको हस्तलेखनको गृहकार्यसमेत नयाँ अक्षरबाट लेखेँ । मेरो नयाँ अक्षर सबैलाई मन परेको छ । साथीहरूलाई सुझाव दिन चाहन्छु– तपाईंहरू पनि आफ्नो अक्षर सुधार्नुहोस् ।