धनगढी समाचारदाता
धनगढी, फागुन १६ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
धनगढीमा ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले विपत् जोखिम न्यूनीकरणका लागि पत्रकारको थुप्रै भूमिका रहेको बताउनुभयो । मन्त्री सार्कीले भन्नुभयो, “विपत् र विपत् जोखिम न्यूनीकरण सम्बन्धमा समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्छ ।”
विपत् जुनसुकै बेला आउन सक्ने भएकाले विपत्को सामनाका लागि सक्षम हुन पत्रकारमार्फत सहयोग पुग्ने मन्त्रीको विश्वास छ । उहाँले विपत् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाहलाई सशक्त बनाउने भूमिका पत्रकारको रहेको उल्लेख गर्नुभयो ।
“सरकार र मौसम विज्ञान विभागले सचेत गर्छन् तर कतिपय अवस्थामा समुदायले नपत्याउँदा क्षति भइरहेको छ,” मन्त्री सार्कीले भन्नुभयो, “यस्तो अवस्थामा मिडियाको भूमिका निकै महत्वपूर्ण छ ।”
उहाँले सुदूरपश्चिम प्रदेश विभिन्न विपत्को उच्च जोखिममा रहेको बताउनुभयो । मन्त्री सार्कीले विपत्बाट धनसम्पत्तिको क्षति न्यूनीकरण गर्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले बाढी विपत्को कारक मानिस नै रहेको बताउनुभयो । “पानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपत्को सामना गर्नु परिरहेको छ,” सार्कीले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बुझाउने दायित्व पत्रकारको रहेको बताउनुभयो । उहाँले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे मिडियाले जनतालाई बुझाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रनलयले आयोजना गरेको सबलीकरण कार्यक्रममा कैलाली र कञ्चनपुरमा कार्यरत पत्रकारको सहभागिता छ । मर्सिकोरको व्यवस्थापनमा भइरहेको कार्यक्रम दुई दिनसम्म चल्ने छ ।