सुनसरी समाचारदाता
इटहरी, फागुन १६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्गमा बसोबास गर्ने सर्वसाधारणका समस्या समाधानका लागि सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मधेश जागरण अभियान अन्तर्गत बिहीबार सुनसरीको बर्जु गाउँपालिकाको शुक्रबारेमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले तराई मधेश अन्तर्गतको दक्षिणी क्षेत्रमा बसोबास गर्ने बासिन्दाले धेरै विभेद सहनु परेको दुःखेसोसमेत गर्नुभएको थियो । उहाँले यस क्षेत्रका सर्वसाधारणमा परेको विभेदको समस्या समाधानका लागि आफ्नातर्फबाट बृहत् पहल गर्ने पनि बताउनुभएको थियो ।
वर्तमान सरकारले नै समाजमा विभेद बढाउने काम गरेकोे अध्यक्ष प्रचण्डको आरोप छ । अध्यक्ष प्रचण्डले जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभावका सन्दर्भमा धेरै कुरा पाएको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीका तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि पार्टीले अगाडि सारेका अभियान फलदायी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । पार्टीले अगाडि सारेको यो अभियानले विभेदको अन्त्य गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रचण्डलाई तस्बिर उपहार
यसैबिच इनरुवा समाचारदाताका अनुसार बर्जु गाउँपालिकाका उद्धव गुरुङले हातले बनाउनुभएको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर उपहारस्वरूप प्रदान गर्नुभएको छ । गुरुङले हातले कोरेको उक्त तस्बिर जनतासँंग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत विराटनगरबाट बर्जु गाउँपालिका प्रवेश गर्ने क्रममा प्रदान गर्नुभएको हो । बिहीबार बिहान नेकपा (माओवादी केन्द्र) को अभियानमा बर्जु गाउँपालिका–१, शुक्रबारेमा भएको स्वागत कार्यक्रममा उद्धव गुरुङकी धर्मपत्नी विमला गुरुङले अध्यक्ष प्रचण्डलाई तस्बिर हस्तान्तरण गर्नुभएको हो ।