• १६ फागुन २०८१, शुक्रबार

प्रशासन ५.० को कार्यान्वयन

blog

प्रशासनको परिभाषा समयसँगै परिवर्तन हुँदै आएको छ । किरातकालीन शासन शैलीको विकास र महत्व आज बदलिएको छ । तीसबर्से पञ्चायतले विकास गरेको प्रशासनिक शैलीले आजको समयमा काम गर्न सक्दैन । सन् १९८० पछि संसारमा निकै परिवर्तन देखा परे । नेपालमा विसं २०४७ को संविधानले अपनाएका प्रशासनका अवधारणालाई २०७२ को संविधानले बदलिदियो । तसर्थ नयाँ संविधानको प्रयोगसँगै प्रशासनको विकासमा नयाँ आयाम जोडिन्छन् । 

प्रशासनमा नयाँ अवधारणा र व्यवस्थापनका मापदण्ड पनि समावेशी भएका छन् । यसका साथै प्रशासनको संरचना र कार्य प्रणाली विकसित हुँदै गएको प्रविधिका कारण धेरै सुधारिएका छन् । संसारले प्रविधिमा गरेको फड्कोसँगै प्रशासनमा नयाँ ‘प्रशासन ५.०’ प्रयोगमा आएको छ । प्रशासन ५.० ले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, डेटा विश्लेषण र अन्य नवीनतम प्रविधिसँग प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र गति दिने लक्ष्य राख्छ । 

प्रशासन ५.० को अवधारणा 

प्रशासन ५.० भनेको प्रशासनिक प्रक्रियामा विकसित हुँदै आएको प्रविधिको प्रयोगलाई जनाउँछ । यसले ई गभर्नेन्स वा डिजिटल शासनको अवधारणालाई प्रयोगमा ल्याउँछ । यसले नयाँ प्रविधिको प्रयोग र स्मार्ट टेक्नोलोजीको प्रयोगमा जोड दिन्छ । प्रशासन ५.० को प्रमुख उद्देश्य प्रशासनिक कार्यलाई अझ बढी स्वचालित र पारदर्शी बनाउनु हो । यसले सहज तरिकाले जनतालाई सूसुचित गराउने र सेवा सुविधामा विस्तार गर्छ । आज डिजिटल प्रणालीका कारण आफ्नो खातामा रहेको रकम त्यही बैङ्कको जुनसुकै शाखाबाट झिक्न, नेपालको राहादानी लिएर संसारका जुनसुकै विमानस्थलबाट सुविधा लिन, विद्युत्को शुल्क तिर्न, आदिमा नागरिकलाई सहज बनेको छ । प्रविधिको तीव्र र गुणस्तरीय सेवाका कारण संसार सानो गाउँ जस्तै बनेको छ । नागरिकले सेवा प्राप्त गर्न सहज बनेको छ । प्रशासनको यस अवधारणाले कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, क्लाउड कम्प्युटिङ र अन्य स्मार्ट प्रविधिको प्रयोगलाई प्राथमिकता दिन्छ ।

प्रशासन ५.० का प्रमुख विशेषतामा डिजिटलकरण र स्वचालित प्रशासन नै ५.० को प्रमुख विशेषता हो । यसले प्रशासनिक प्रक्रिया र सेवालाई डिजिटलमा रूपान्तरण गरेर सरकारका संयन्त्र र नागरिकलाई प्रविधिको पहुँचमा ल्याइदिन्छ । यसले कागजी प्रशासनिक प्रक्रियालाई अन्त गरेर सबै कार्य इलेक्ट्रोनिक प्रणालीमा स्थानान्तरण गरिदिन्छ । नेपालका कुनै पनि सरकारी कार्यालयमा अनलाइन आवेदन, सूचना व्यवस्थापन, र दस्ताबेज व्यवस्थापनका प्रक्रिया यसैका कारण सम्भव भएको हो । रेस्टुरेन्ट वा कुनै पनि पसलमा गएर अनलाइन भुक्तानी, एक खाताबाट अर्को खातामा पैसाको रूपान्तरण नै ५.० प्रशासनको विकसित अवधारणाभित्र पर्छ । 

कृत्रिम बुद्धिमत्ता र डेटा विश्लेषण ५.० प्रशासनको नयाँ रूप हो । कृत्रिम बुद्धिमत्ताले निर्णय प्रक्रिया र प्रशासनिक कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । प्रशासनको क्षेत्रमा काम गर्ने प्रशासकमा एआईको माध्यमबाट जनतालाई दिइने सेवा र कामलाई गुणस्तरीय र उनीहरूलाई स्वचालित निर्णय लिने क्षमता प्राप्त हुन्छ । यसले प्रशासनमा कामको गति बढाउँछ । प्रशासनमा मानव संसाधनको आवश्यकता घटाउँछ । डेटा विश्लेषणको प्रयोगले विभिन्न प्रशासनिक निर्णयको प्रभावकारिता कस्तो छ भनेर तुरुन्तै मूल्याङ्कन गर्न सहयोग गर्छ । प्रशासनमा भविष्यका प्रवृत्तिको विश्लेषण गरेर सेवालाई छिटो, छरितो र चुस्त बनाउनु यसको दायित्वभित्र पर्छ । 

प्रशासन ५.० मा ब्लकचेन प्रविधिको प्रयोगले प्रशासनको पारदर्शिता र सुरक्षा बढाउँछ । यसले वित्तीय कारोबारलाई सुरक्षित राख्न मद्दत पु¥याउँछ । यसको उचित प्रयोगले सरकारी र प्रशासनिक डेटालाई अबको समयमा सुरक्षित र पारदर्शी राख्नमा भूमिका खेल्छ । नागरिकले आफ्ना डाटा चोरी हुन्छन् कि भन्ने डर र त्रासलाई हटाएर सरकार, निजी क्षेत्र र नागरिकका बिचमा नयाँ सम्बन्ध स्थापित गराउँछ । 

प्रशासन ५.० को अर्को विशेषता भनेको स्मार्ट सेवाको प्रवृत्ति हो । यी सेवा नागरिकको आवश्यकतामा आधारित र व्यक्तिगत रूपमा अनुकूलित हुनु पर्छ । स्मार्ट सरकार सेवा जस्तै नागरिक पोर्टल्स, मोबाइल एप्लिकेसन र अन्य डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदायक नागरिकसँग सिधा जडान स्थापित गर्न सक्छन् । नागरिकले पनि सरकारले के गर्दै छ भनेर बुझ्न र नागरिकले कहाँ कसरी कुन कामका लागि कुन प्रविधिको प्रयोग गरेर के गर्दै छ भन्ने जानाकारी लिन पनि यसले सक्षम गराउँछ । 

एक्काइसौँ शताब्दीमा हामीले चाहेर वा नचाहेर प्रशासन ५.० प्रयोगमा आइसकेको छ । यसको प्रयोगले समय र लागतमा बचत गराउँछ । डिजिटल प्रशासन प्रणालीले धेरै प्रशासनिक प्रक्रियालाई स्वचालित र सरल बनाउँछ । मानिसमा सरकारप्रतिको विश्वास बढाउँछ । यसैको प्रयोगका कारण समय र लागतको बचत हुन्छ । नागरिकले जुनसुकै स्थानबाट पनि अनलाइन सेवा प्राप्त गर्न सक्ने हुँदा उनीहरूलाई भौतिक रूपमा कार्यालयमा जान आवश्यक हुँदैन । पढ्ने विद्यार्थीले घरमै बसेर संसारका ठुला ठुला पुस्तकालयका किताब र लेखोटहरू पढ्न सक्ने हुनु यही ५.० का कारण सम्भव भएको हो । प्रशासन संयन्त्रमा ५.० को प्रयोगले प्रशासनिक प्रव्रिmयामा पारदर्शिता ल्याउँछ । नागरिकमा सरकारप्रति विश्वास बढ्छ । यसले नेपालमा समस्याका रूपमा रहेको भ्रष्टाचार कम गर्न मद्दत गर्छ । प्रशासनमा ब्लकचेन र डेटा ट्र्याकिङ प्रणालीको प्रयोगले सरकारी निर्णय र कार्यहरूको ट्र्याक राख्नमा मद्दत पु¥याउँछ ।

कृत्रिम बुद्धिमत्ता र डेटा विश्लेषणले प्रशासनलाई प्रभावकारी र तीव्र निर्णय लिन सक्षम बनाउँछ । यसले प्रशासनलाई भविष्यका समस्याको पूर्वानुमान गर्न र ती समस्या समाधानका लागि सही कदम चाल्न सक्षम बनाउँछ । सामाजिक समावेशिता र सेवामा पहुँच यसको अर्को विशेषता हो । डिजिटल सेवाले विकट क्षेत्रका नागरिकलाई पनि सरकारी सेवामा पहुँच दिने अवसर प्रदान गर्छ । यसका कारण समाजका विभिन्न वर्गका मानिसले समान अवसर र सेवा प्राप्त गर्न सक्छन् ।

प्रशासनमा ५.० को प्रयोग हुँदा सेवामा सहजताका साथै यसले नयाँ नयाँ चुनौती पनि थप्छ । नयाँ बच्चाको जन्मसँगै मृत्यु पनि हुन्छ भने जस्तै यसका चुनौती पनि छन् । प्रशासन ५.० को कार्यान्वयनमा डिजिटल डिभाइडको समस्या उपस्थित हुन्छ । आज सुगम र दुर्गम स्थानमा बाटोघाटो, खानेपानी, बिजुली बत्ती आदिका कारण भिन्नता देखिए जस्तै विशेष गरी ग्रामीण क्षेत्रमा, इन्टरनेट र स्मार्टफोनको कमजोर पहुँचका कारण त्यहाँ रहेका मानिसले समान स्तरमा यस प्रणालीमा भाग लिन सक्दैनन् । यसका लागि सरकारले आधारभूत संरचनाको विकास र डिजिटलीकरणमा वृद्धिको योजना ल्याएर लागु गरेमा प्रविधिका कारण मानिसमा विभाजन ल्याउनबाट रोकिन्छ । 

साइबर सुरक्षा र गोपनीयता नै डिजिटल प्रशासनको समस्या बनेको छ । ह्याकरहरूले साइबर आक्रिमण र डेटामा पहुँच पु¥याएर डेटा चोरीको जोखिम पनि बढ्छ । सरकारी संस्थाहरूले डिजिटल प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयता र सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा उपाय लागु गर्नु आवश्यक हुन्छ । प्रविधिको अनुकूलन र कर्मचारीको तालिमका लागि नयाँ प्रविधिको प्रयोग गर्दा प्रशासनका कर्मचारीलाई ती प्रविधिको बारेमा तालिम दिनु महत्वपूर्ण हुन्छ । प्रविधिको अनुकूलन गर्न समय र स्रोतको आवश्यकता पर्छ । नेपाल जस्ता स्रोतसाधन कमजोर भएका देशमा प्रविधिको प्रयोग, जनतामा प्रविधिको पहुँच पु¥याउन र कर्मचारीलाई सामयिक तालिम दिलाउने काम पनि खर्चिलो नै हुन्छ । डिजिटल प्रणालीमा पूर्ण रूपमा निर्भर हुँदा नागरिकको विश्वासको विषय पनि महत्वपूर्ण बन्छ । प्रणालीले विश्वसनीय र प्रभावकारी ढङ्गले काम गरेन भने नागरिकले सरकारप्रति विश्वास गुमाउँछन् र परिणामस्वरूप प्रणालीको कार्यक्षमता घट्न सक्छ । 

माथि दिइएका प्रशासनमा ५.० को प्रयोगमा फाइदा र चुनौतीका कारण सरकारले बनाउने नीतिमा नै यसको अबको भविष्य प्रस्ट हुन्छ । तर पनि प्रशासन ५.० लाई अबको समयमा अझ बढी स्मार्ट र स्वचालित बनाउनु समयको आवश्यकता हो । प्रविधिको निरन्तर विकाससँगै प्रशासनिक प्रक्रिया अधिक प्रभावकारी र जवाफदेही हुनु आवश्यक छ । एआई र डेटा विश्लेषणको प्रयोगले सरकारलाई अझ बढी जनतासँग संवेदनशील र समर्पित बनाउनमा मद्दत पुग्छ । अबको समयमा स्मार्ट सहरको विकासमा पनि प्रशासन ५.० को महìवपूर्ण भूमिका हुने छ जहाँ नागरिकलाई डिजिटल सेवामार्फत उच्च गुणस्तरीय जीवन शैली उपलब्ध हुने छ । प्रशासन ५.० ले अबको समयमा प्रशासनिक प्रक्रियामा अभूतपूर्व सुधार ल्याउने देखिन्छ । हातले गर्ने पुराना कामलाई कागजरहित प्रशासन नै यो अवधारणाको मुख्य र गुदी कुरा हो । प्रशासनमा यसको प्रयोग र कार्यान्वयनले नेपालका सरकारी र निजी क्षेत्रका सेवालाई अझै प्रभावकारी, पारदर्शी र गतिशील बनाउने देखिन्छ । यसको सफलता प्रविधिको प्रयोग, उचित सुरक्षा र नागरिक सहभागितामा निर्भर गर्छ । तसर्थ प्रशासन ५.० को पूर्ण कार्यान्वयनले नेपाली समाजलाई समृद्ध र समावेशी बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।