गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल हस्तकला कालिगड सङ्घको आयोजनामा बिहीबार ‘हस्तकलाको संवर्धन र व्यावसायिकीकरणमा राज्यको दायित्व’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले हस्तकलाकर्मी राज्यद्वारा प्रदत्त सुविधाबारे सजग हुँदै कला कर्ममा लाग्नुपर्ने बताउनुभयो । उहाँले नीतिगत समस्यालाई समाधान गर्दै सिर्जनशील उद्योगका रूपमा रहेको हस्तकलाको ज्ञान परम्परालाई शिक्षासँग जोड्दै पाठ्यक्रममा समावेश गर्ने र अभिलेखीकरण तथा संवर्धन गर्दै पुस्तान्तरणका लागि ठोस कार्य अघि बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो ।
परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले कलाकर्मीमा नीतिगत ज्ञानको अभाव तथा राज्यद्वारा प्रदत्त सेवासुविधाबारे ज्ञान नहुँदा उत्पादित सिर्जनाको बजार व्यवस्थापनमा समस्या झेल्नु परेको बताउनुभयो ।
दीप विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोजदिलु विश्वकर्माले ‘मौलिक हस्तकलाको संवर्धन र व्यावसायिकीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीसँगै हस्तकला महासङ्घ, नेपाल हस्तकला कालिगड सङ्घ तथा यस क्षेत्रसँग सरोकार राख्ने विभिन्न कलाकार, व्यक्ति तथा सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।